काठमाडौं, २७ असार । नेत्रविक्रम चन्द समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार देखिएको छ। एक साताअघि बसको चन्दको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्तामा बस्ने निर्णय गरेको हो।
नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझावअनुसार वार्तामा बस्ने निर्णय गरेको स्थायी कमिटीका एक सदस्यले बताए। ‘यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र गर्यो। पत्र पठाएन’, उनले भने, ‘यस पटक पार्टीले औपचारिक वार्ता बस्ने औपचारिक निर्णय गरेको छ।
सरकार पनि इमानदार भएर आउनुपर्छ।’ यसअघि चन्द समूहले पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई रिहा नगरेसम्म वार्तामा नबस्ने भन्दै आएको थियो। ‘वार्तामा आउने निर्णयलाई सरकारले कमजोरीका रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुन्छ’, ती केन्द्रीय सदस्यले भने, ‘सरकारले कस्तो रबैया देखाउँछ हेरौँ।’
ठूलो संख्यामा नेता् कार्यकर्तालाई पक्राउ गर्दासमेत जनचाहनाअनुसार वार्तामा बस्ने निर्णय गरेको उनको भनाइ छ।एक हजारभन्दा बढी नेता कार्यकर्ता जेलमा रहेको र तीन जनाको हत्या भइसकेको भन्दै उनले मान्छे मार्ने आफूहरूको नीति नरहेको बताए। (कान्तिपुर दैनिकबाट)



लाेकपाटी न्यूज

