विगत केही समयदेखि नेपाली समाजमा प्रयोग भइरहेका क्रियाकलापहरुको अध्ययन गर्दा नेपाली समाज कतातिर गइरहेको छ भन्ने कुराको आभाष मिलेको देखिन्छ। नेपाली परिवेशका विभिन्न क्षेत्रहरुमा प्रयोग हुने भाषाहरुको विश्लेषणले हाम्रो सोचाई सकारात्मकभन्दा नकारात्मक बढी भएको महसुस भइरहेको छ।
१. समाज – भर्खर लामो राजनीतिक उथलपुथलबाट गुज्रेको देखिन्छ। लगभग तीन दशकपछि बनेको बलियो स्थायी सरकालाई पनि यो परिवेशले भित्रभित्रै गालेको देखिन्छ। अस्थिरतामा रमाउने बानी परेको नेपाली समाजलाई विकास समृद्धि र स्थिरता अलि नफापेको हो कि जस्तो लागेको छ। यहाँ कसैले कसैको कुरा सुन्दैन, मात्र आफनो कुरा गर्दछ। एउटा दृष्टान्त भर्खर मात्र सिरिञ्ज आक्रमण गरेको आरोप लागेका स्याङ्गजा निवासी एक जना शिक्षकलाई बनेपामा भएको अभद्र व्यवहारलाई हेरे पुग्छ।
यसबाहेक नेपाली समाजमा कहिलेकाहीँ घट्ने एकाध घट्नाहरुको बढाईचढाई हेर्दा लाग्छ, हामी पहिला कहिल्यै पनि यस्ता कुराप्रति जानकार थिएनौं। नेपाली समाजलाई हेर्ने हाम्रो आफ्नै ऐना र दृष्टिकोण हुनु आवश्यक देखिन्छ र ठूला र पृथक राजनीतिक, सामाजिक एवं धार्मिक परिवेश बोकेका मुलूकको बीचमा रहेका हामीहरुले आफ्नै छिमेकीसँगको व्यवहारलाई आत्मसात गर्न सकियो भने बाहिरी संसारमा त्यति धेरै रुमलिनु आवश्यक छैन।
२. मिडिया – नेपाली समाज परिवेश झल्कने अर्कोे महत्वपूर्ण माध्यम भनेको मिडिया हो। नेपालमा प्रचलित प्रिन्ट मिडियादेखि लिएर रेडियो, टेलिभिजन र अझ बढी आक्रमक रुपमा देखिएको सोसल मिडिया (फेसबुक ट्वीटर) र अनलाइन मिडियाको राम्रो उपयोग हुन नसक्दा नेपाली समाज र परिवेश दिशाहीन बनिरहेको भान हुन्छ। हाम्रा पत्रपत्रिकाहरुमा प्रकाशित समाचारहरु र तिनीहरुको सतही विश्लेषण, रेडियो, टेलिभिजनमा प्रशारित कार्यक्रम र अन्र्तवार्ताहरु र त्यहाँ व्यक्त हुने विचार एवं प्रस्तुतिहरुमा सकारात्मक भन्दा नकारात्मक कुराको चर्चा बढी देखिन्छ।
वार्ताकार र विज्ञहरुमा सहनशीलता र ज्ञानको कमि देखिन्छ। जसले गर्दा उनीहरु आक्रामक र दोष देखाउने कुरामा बढी प्रेरित देखिन्छन्। अन्य सोसिअल मिडियाहरुले पस्कने समाचारहरु पनि बेलाबेलामा विवादित र तथ्यहीन देखिन्छन्। यस्ता समाचारहरुको मूल्याङ्कन र नियन्त्रण गर्ने हामीसँग बलियो संयन्त्र तयार भइसकेको छैन। दुर्घटना भएको बेला उद्धार गर्नुको बदला फेसबुक लाइभ गरेर रिर्पोट पेश गर्ने कुरामा हामी सबैको प्रतिस्पर्धा देखिन्छ। अनलाइन न्यूजहरुले पनि जसले जहाँ जतिबेला पनि खोल्न सकिने कुर्ने नियन्त्रण गर्न नपर्ने हुँदा यस्तो लाग्छ कि सबै नेपाली पत्रकार र विश्लेषक मात्रै छन्।
३. विश्वविद्यालय – वर्तमान परिवेशमा नेपाली मिडियाले सबैभन्दा आलोचना गरेको विश्वविद्यालय र नेपालको शैक्षिक प्रणाली हो। नेपालमा हालसम्म स्थापित ११ वटा विश्वविद्यालयहरु र त्यसमा पनि देशको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयका समाचारहरु दिनहुँ नेपाली मिडियामा आइरहेका छन्। करीव ६ महिनासम्मका समाचार विश्लेषण गर्ने हो भने सबै समाचारमा एउटै समानता देखिन्छ, त्यो हो – नकारात्मक कुराहरुलाई बढवा दिने र स्थापित मूल्य र मान्यताहरुमा प्रश्न चिन्ह खडा गर्नु।
मलाई लाग्छ आजको राजनीतिक, बौद्धिक, आर्थिक एवं सामजिक नेतृत्व सबै त्रिभुवन विश्वविद्यालयको उत्पादन हो। तर, फेरि किन यसको सुधार गर्नुभन्दा यसलाई दोहन गर्नेतिर उन्मुख भइरहेको छ। अर्को अचम्मको कुरा के भने आफू विश्वविद्यालयमा हुने बेला ठीक त्यहाँबाट बाहिर निस्केपछि सबै कुरा खराब र खत्तम। यसका लागि हाम्रो चिन्तन र दृष्टिकोणमा व्यापक परिवर्तन जरुरी छ। कमिकमजोरीबाट पाठ सिक्दै सुधारतर्फ अघि बढ्नुको साटो हामी आफूमात्र ठीक अरु सबै बेठीक भन्ने परम्पराको अन्त्य नभएसम्म हामीले नेपालको शैक्षिक क्षेत्रमा देखिएको सुधारको सपना पूरा हुन सक्दैन।
विश्वविद्यालय भनेको एउटा भित्री वा अन्य कुनै प्रशासनिक प्रमूख मात्र नभएर त्यससँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्रध्यापकहरुको सामूहिक सहकार्यको एउटा परिवेश हो। यसमा सम्बन्धित क्षेत्रका व्यक्तिहरुले आफूले गर्नुपर्ने काम, कर्तव्य र निभाउनुपर्ने अधिकारका कुराहरुमा इमान्दार हुन सक्यो भने बल्ल सुधार भएको देखिन्छ। बोरामा एउटा आलु कुहियो भनेर समग्र प्रणालीमा दोष दिने परम्पराबाट मुक्त हुन सकिएन भने भोलिको समृद्ध र सुखी नेपालको सपना हावाको बेलुनजस्तै हुन सक्छ।
४. राजनीति – लगभग ७० वर्षको नेपाली राजनीतिलाई मूल्याङ्कन गरियो भने हामी बिभिन्न आरोह अवरोहबाट गुज्रेको पाउँछौं। २०१५ सालको आम निर्वाचन, २०१७ सालको राजा महेन्द्रको राजनीतिक ‘कू’, २०३६ सालको राजनीतिक आन्दोलन, २०४६ साल र त्यसपछिका परिवर्तनहरु सबैमा कतै न कतै केही कमिकमजोरीहरु देखिन्छन्। देश सङ्घीय शासन व्यवस्थामा परिवर्तन भइसके पनि हाम्रो राजनीतिका विगतका अवशेषहरु अझै जीवित देखिन्छ। बरु बिगतमा राजनीतिक व्यक्ति अध्ययनशील र सामाजिक देखिन्थ्यो भने बर्तमानमा त्यो कुराको अभाव देखिन्छ। सकारात्मकभन्दा नकारात्मक भावनाले ग्रसित हाम्रो राजनीतिमा सरकार र प्रतिपक्ष दुवै एक–अर्कोमा दोष देखाउन व्यस्त देखिन्छन्।
हामी सबैले निर्वाचित गराएर पठाएको प्रतिनिधि र राष्ट्रियसभाका सदस्यज्यूहरुले हामी नेपालीहरुको वास्तविकताको प्रतिनिधित्व गरेका हुन् भन्ने कुराको हेक्का हामी सबैलाई हुन जरुरी छ। सरकारी निकायहरुमा पनि सरकार पक्ष सांसद र समितिहरुले नोट अफ डिसेन्ट गर्ने अनि त्यसलाई अदालतमा लगेर निर्णय गराउने परिपार्टीले हाम्रो सम्रग प्रणालीमा भएका कमिकमजोरीहरुको प्रतिनिधित्व गर्दछ। सरकारी मन्त्रीहरु पनि मनमा जे आयो त्यही बोल्ने ओठे परम्पराले हामीभित्रको ज्ञान, सीप र अनुभव ओझेलमा परेको आभाष हुन्छ।
आजकल नेपाली समाज सामाजिक सञ्जालहरुमा देखिएका समाचारहरुमा गल्ती देखिन्छ। तथ्यमा आधारित हुने र थोरै भएपनि विमर्श र विश्लेषण गर्ने परिपाटी हराउन थालेको छ। नेपाली समाजको पूरानो पुस्ता प्रविधिको अज्ञानताले हो कि चाहना नभएर हो यस्ता कुराहरुमा त्यति चासो लिएको देखिँदैन। बीचको पुस्ता नयाँ र पूराना कुराहरुको वास्तविकता नबुझी त्यसै हराइरहेको छ।
नयाँ पुस्ता – जुन ९० को दशकपछि नेपाली समाजमा छ, यसले आफूलाई उत्तरआधुनिक समाजसँग तुलना गर्दछ। ऊ कसैको कुरा सुन्नेवाला छैन। कसैको विश्वास पनि गर्दैन र आफूलाई यो दुनियाँको सबैभन्दा अब्बल देख्छ। समाज विकासको इतिहासलाई विचार गर्ने हो भने वर्तमान नेपाली समाज अर्धसामन्ती र अर्धपूँजीवादी परम्परामा रुमलिएको देखिन्छ। परम्परागत सामन्ती व्यवस्थाको अन्त्य भएपनि त्यसका अवशेषहरु नयाँ पुस्तामा देखिन थालेका छन्।
मबाट हामी हुनुपर्नेमा हामीबाट मेरो संस्कृतिले बास गरेको छ। यस्तो अवस्थामा देशले आफूलाई निकै गहन तरीकाले समाज रुपान्तरणमा ध्यान दिनुपर्ने देखिन्छ। गाउँबाट बजार, बजारबाट शहर अनि शहरबाट राजधानी र अन्त्यमा देश छाडेर विदेसिने परम्परामा नयाँ पुस्ता र युवाहरु अगाडि देखिन्छन्। कुनै पनि मुलूकको सबैभन्दा ठूलो सम्पत्ति भनेको यस मुलुकमा रहेको युवा र दक्ष जनशक्ति हो। नेपाल प्राकृतिक रुपले धेरै धनी, सामाजिक र सांस्कृतिक रुपले विविध भएर पनि युवा जनशक्ति कि त बेरोजगारीको चपेटामा उदासिन देखिन्छ। कि त खाडी मुलूक वा युरोप, अमेरिकाको सपना देखेर देश छोड्न बाध्य भएको छ। यस कारण नेपाललाई
सुखी र समृद्धि बनाउने कुरा हामी सबैको चाहना हो। यस्तो बेलामा एक–अर्कोमा दोषारोपण गर्ने र हिलो छ्यापाछ्याप गर्नेभन्दा पनि सकारात्मक भावनाले हरेक व्यक्तिले आफनो क्षेत्रबाट इमान्दारीपूर्वक काम गर्न सकियो भने समाजमा देखिएका विकृति र विसंगतिहरु क्रमशः घट्दै र निरुत्साहित हुँदै जान्छन् र देशले काँचुली फेर्न धेरै समय कुर्नु पदैन। नकारात्मक कुराहरुले जेलिएको यो सुन्दर समाजमा सकारात्मक कुराहरुको बिजारोपण आजबाट गर्ने प्रण गरौं, विकास सम्भव छ र त्यो हाम्रै पालामा हुन्छ।
(लेखक गौतम त्रिभूवन विश्वविद्यालयमा भाषा विज्ञानका उपप्राध्यापक हुन्।)



लाेकपाटी न्यूज

