‘कम्युनिष्ट पार्टीका २ गल्ती, जसले समाजवादी क्रान्ति रोक्छ’

Ramdeep Acharya
तर, यहाँ विचार पनि इन्चार्ज प्रणालीबाट थोपरियो। विचार, दृष्टिकोण, संगठन, स्वामित्व प्रणाली, सबैमा परनिर्भर भएपछि श्रमजीवी वर्ग निस्क्रिय वर्गमा रुपान्तरण भयो। कम्युनिस्ट पार्टीले खडा गरेका संरचनाले प्रतिक्रान्तिको आधार तय गरे। बुर्जुवा वर्गले साम्यवादको असफलता भनेर डंका पिटे। कतिपय कम्युनिस्ट त्यही कोकोहोलोको पछि लागेर पुँजीवादको शरणमा परे। खास कुरा साम्यवादको असफलता नभएर कम्युनिस्ट कार्यशैली र लागू गर्ने सवालमा केही दृष्टिकोणका समस्या थिए जसलाई सच्याएर जान सकिन्थ्यो र जान सकिन्छ पनि।
लाेकपाटी न्यूज

पुँजीवादी साम्राज्यवाद र सामन्तवादी आँखाबाट हेर्दा यो सरकार कम्युनिस्टजस्तो देखिन्छ। कम्युनिस्टका आँखाबाट हेर्दा पुँजीवादी जस्तो। पुँजीवादी जनवादी क्रान्तिका बाँकी काम पूरा गर्नुपर्ने भएकाले यो पुँजीवादीजस्तो देखिनु स्वाभाविक छ। समाजवादको आधार तय गरी वैज्ञानिक समाजवादतर्फ अघि बढ्ने लक्ष्य बोकेकाले कम्युनिस्टजस्तो देखिएको हुन सक्छ। यहाँ विहंगम विषयभन्दा पनि समाजवादको आधार कसरी तयार पार्न सकिन्छ भन्ने सवालमा मात्रै केन्द्रित भएर छलफल गरिनेछ।

१. हामीले प्राप्त गरेको सत्ता होइन, सरकारमात्र हो। सत्ता भनेको समग्र हो भने सरकार त्यसको अंश। सत्ताभित्र सरकार, न्यायालय, सेना, प्रहरी, कर्मचारीतन्त्र आदि पर्छन्। त्यसको एउटा पाटो हो सरकार। सत्ता भनेको वर्गको प्रतिनिधि हो भने सरकार त्यसको सेवा गर्ने साधन। अहिलेको मूल अन्तर्विरोध यो हो कि सत्ता पुरातन छ । सरकारको काँधमा नयाँ जिम्मेवारी छ। या त सरकारले सिंगो सत्तालाई नयाँ संरचनामा रुपान्तरण गर्नुपर्छ या त आफूलाई पनि पुरानै संरचनामा ढाल्नुपर्छ। सत्ता र सरकारको अन्तर्विरोधलाई हल नगरी हामी गुणात्मक नयाँ परिणाम दिन सक्दैनौं। सत्ताका अन्य अंगहरूको समयानुकुल रुपान्तरण आजको आवश्यकता हो।

२. समाजवाद भनेको मार्ग हो। मानव जातिको पूर्ण विकास हाम्रो लक्ष्य हो भनेर माइकल लिविट्जले भनेको सही छ। मान्छेले निरन्तर दुःख हटाउने उपायको खोजीमा हजारौं वर्ष व्यतीत गरेको छ। प्रकृतिसँगको संघर्षमा र मान्छे आफैंभित्रको संघर्षमा आरोह र अवरोहबाटै अगाडि बढेको छ। जसरी प्रकृतिका ठूला–ठूला रहस्यका पर्दा उघ्रिँदै आएका छन् त्यसरी नै मान्छेले मान्छेमाथि गर्ने शोषण, ज्यादती र दमनका पर्दा खोल्दै यहाँसम्म आइपुगेको छ। प्रकृतिका रहस्यको पर्दा विभिन्न वैज्ञानिकले उघारेजस्तै समाजभित्रका रहस्यको पर्दा वैज्ञानिक तथ्य र तर्कको सहारामा कार्ल माक्र्सले उघारे। आदिम कालदेखि आजसम्मको समाज व्यवस्थाको समग्र रेखांकन गरेर। ऐतिहासिक भौतिकवादको जगमा उभिएर। मानव समाज एक दिन त्यो ठाउँमा पुग्नेछ जहाँ हरेकको स्वतन्त्र विकास सबैको स्वतन्त्र विकासको सर्त हुनेछ भन्ने निष्कर्षसहित।

३. अब हामी यो निष्कर्षमा पुग्न सक्छौं कि समाजवाद एक संक्रमणकालीन राज्य व्यवस्था हो। पुँजीवाद शोषण, दमन र वर्गीय वैरभावको कारण नासवान छ। त्यसको ठाउँ समाजवादले लिनेछ। यो वैज्ञानिक निष्कर्ष हो। हरेक अघिल्लो व्यवस्था पछिल्लोभन्दा निष्कृष्ट हुन्छ भने पछिल्लो व्यवस्था अघिल्लोभन्दा उत्कृष्ट। यो समाज विकासको अर्को अकाट्य तथ्य हो। समाजवादले पुँजीवादको ठाउँ लिनेछ। यो अपरिहार्य छ। समाजवादका रूपमा हामी त्यस्तो व्यवस्था स्थापना गर्न चाहन्छौं जहाँ पहिलेका व्यवस्थाले शोषणको एक रूपको ठाउँमा अर्को मात्रै फेरेका थिए बरु समाजवादले शोषण र विभेदका सबै रुपको अन्त्य गर्ने दिशामा पाइला चाल्नेछ। हामी त्यस्तो राज्य व्यवस्था स्थापना गर्न चाहन्छौं जुन व्यवस्थाले आफ्नो औचित्य गुमाउनेछ र राज्यै नरहने अवस्थाको सिर्जना गर्नेछ। राज्यको विघटन गरिनेछैन। राज्य लोप हुनेछ। त्यही हो साम्यवाद। सुरुमा एउटा वर्गका रूपमा राज्यको जिम्मेवारी वहन गर्ने र पछि राज्यको विलोपीकरणको दिशामा बढ्ने समाजवादको दोहोरो कार्यभार यही हो। हामीलाई त्यस्तो समाजवाद चाहिएको हो न कि पुँजीवादको सेवामा समर्पित तर समाजवादको बर्को ओढेको।

४. समाजवादभन्दा अगाडिका सबै समाज व्यवस्था स्वस्फूर्त रूपमा स्थापना भएका हुन्। तर, समाजवादलाई योजनाबद्ध रूपमा निर्माण गर्नुपर्छ। त्यही योजनाबद्ध रूपमा निर्माण गर्नुपर्ने भएकाले नै हामीलाई कम्युनिस्ट पार्टी चाहिएको हो। त्यो पार्टी हाम्रो योजनाबद्धताको सिद्धान्तद्वारा ओतप्रोत भएको होस्, जसका नेताकार्यकर्तामा समाजवाद स्थापना गर्ने दृढता मात्रै होइन, सही र वैज्ञानिक ज्ञान पनि होस्। किनकि हामी मानव समाजकै सबैभन्दा उन्नत समाज स्थापना गर्न चाहन्छौं। उन्नत ज्ञानबिना उन्नत व्यवस्था स्थापना गर्न त सम्भव छैन। कथमकदाचित स्थापित भइहाले पनि त्यसलाई टिकाउन असम्भव हुनेछ कम्युनिस्टले समाजको सही अगुवाइ गर्ने हो भने मानव जातिले आर्जन गरेका सर्वोच्च ज्ञानभण्डारले लैस हुनैपर्छ। चाहे त्यो विज्ञानको जुनसुकै शाखा किन नहोस्। पिछडिएको चेतनाले समाजको अगुवाइ गर्न सम्भव छैन।

५. विगतका क्रान्तिहरूले स्वामित्वको एउटा रूपको ठाउँमा अर्को रूपको मात्र परिवर्तन गरेका थिए। समाजवादी क्रान्तिले उत्पादनका साधनमा निजी स्वामित्वको अन्त्य गरी त्यसको ठाउँमा सामाजिक स्वामित्व कायम गर्दछ। यसअघिका सबै क्रान्तिले शोषणको एउटा रूपको ठाउँमा अर्कों रूप कायम गरेका थिए। समाजवादी क्रान्तिले मानिसद्वारा मानिसको सबै प्रकारको शोषणको अन्त्य मात्र गर्दैन कि शोषक वर्गलाई र शोषक वर्ग पैदा हुने परिपाटीलाई निर्मूल पार्दछ। अतः हामीले समाजवादको आधार तयार पार्ने भनेको स्वामित्व प्रणालीमा परिवर्तन र शोषणका सबै रुपको अन्त्य गर्ने प्रक्रियामा कदम चाल्नु हो।

६. यसअघिका कुनै पनि प्रणालीले उत्पादनको अराजकतावादी चरित्र बदलेका थिएनन्। समाजवादी प्रणालीले मात्रै उत्पादनको अराजकतालाई अन्त्य गरी आवश्यकताका आधारमा योजनाबद्ध उत्पादन गर्ने दिशा तय गर्दछ। पुँजीवाद नाफा कमाउने उद्देश्यले उत्पादन गरिन्छ। समाजवादमा आश्यकता पूर्ति गर्न उत्पादन गरिन्छ। समाजवाद स्वभावैले आत्मनिर्भर अर्थतन्त्रतर्फको यात्रामा हुन्छ। विदेशीको सामान ल्याएर बिक्री गर्ने संरक्षित बजार मात्रै बनाइदिएर न आत्मनिर्भर अर्थतन्त्रको विकास हुन्छ न व्यापारघाटा नै घट्छ। बरु राज्य बहुराष्ट्रिय कम्पनीहरूको स्थानीय प्रतिनिधिजस्तो मात्र हुन्छ। यसले समाजवादको आधार तयार गर्दैन बरु दलाल पुँजीवादलाई मजबुत पार्दछ।

समाजवाद प्रयोगका क्रममा के त्रुटि थियो ?

पहिलो त्रुटि: राज्य र समाजको स्वामित्वलाई एकै अर्थमा प्रयोग गरियो । राज्य अति सक्रिय भयो तर समाज निस्क्रिय बन्दै गयो। समाजको प्रतिनिधि मै हुँ भन्दै समाजका तर्फबाट सबै निर्णय राज्यले गर्दै गयो। लेनिनले भनेजस्तो समाजबाट उठेको र समाजबाट कटेको संरचनाको रुपमा राज्यको विकास भयो। हुनुपर्ने वास्तविक अर्थमै समाजको स्वामित्व थियो । यसले समाजलाई सक्रिय, शक्तिशाली र एकताबद्ध पाथ्र्यो।

दोस्रो त्रुटि: पार्टीको अधिनायकत्वलाई वर्गको अधिनायकत्व ठानियो। पार्टी श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि हो भनेर परिभाषित गरियो। श्रमजीवी वर्गका लागि गरिने सबै निर्णय पार्टीले गर्न थाल्यो। श्रमजीवी वर्ग निस्क्रिय भयो तर पार्टी सक्रिय। पार्टी सञ्चालन गर्ने सिद्धान्त जनवादी केन्द्रीयता भयो। पार्टी पिरामिड आकारको हुने भयो। यस सिद्धान्तअनुसार माथिल्ला समितिहरूको निर्णय मान्न तल्ला समितिहरू बाध्यकारी हुन्थ्ये। अब सिँगै पार्टीको निर्णय सचिवालय वा हेडक्वार्टरले गर्न थाले। हेडक्वार्टरको निर्णय पार्टीको मात्र होइन, सिंगै वर्गको पनि निर्णय हुन थाल्यो। समाजवादी व्यवस्था अल्पतन्त्रविरुद्ध बहुतन्त्रको शासन हुनुपर्ने हो। यो त अत्यन्तै अल्पतन्त्रले सबै निर्णय गर्ने प्रणालीमा फेरियो। बिस्तारै वर्ग र पार्टीका संरचना निस्क्रिय बन्दै गए। एउटा सानो समूह मात्रै क्रियाशील रहने अवस्था बन्यो। जनवादी केन्द्रीयताको ठाउँ नोकरशाही केन्द्रीयताले लियो। क्रान्ति गर्दा लाखौं लाख बलिदान गर्न तयार हुनेहरू नै प्रतिक्रान्ति हुँदा मूकदर्शक बने। सबैले लडेर ल्याएको व्यवस्थामा मुठीभरको हालीमुहाली भयो। नयाँ रूपमा पुरानै अवतार झल्कियो।

तेस्रो त्रुटि: कम्युनिस्ट पार्टी श्रमजीवी वर्गको मुक्तिदाता बन्यो। तिमी हाम्रो पछि लाग तिमीलाई मुक्त हामी पार्छौं भनेजस्तो भयो। माक्र्सको अवधारणा थियो कि श्रमजीवी वर्गले आफ्नो मुक्ति आफैंले गर्नुपर्छ । मुक्त हुने विचारको विकास पनि श्रमजीवी वर्गले आफैं गर्नुपर्छ। तर, यहाँ विचार पनि इन्चार्ज प्रणालीबाट थोपरियो। विचार, दृष्टिकोण, संगठन, स्वामित्व प्रणाली, सबैमा परनिर्भर भएपछि श्रमजीवी वर्ग निस्क्रिय वर्गमा रुपान्तरण भयो। कम्युनिस्ट पार्टीले खडा गरेका संरचनाले प्रतिक्रान्तिको आधार तय गरे। बुर्जुवा वर्गले साम्यवादको असफलता भनेर डंका पिटे। कतिपय कम्युनिस्ट त्यही कोकोहोलोको पछि लागेर पुँजीवादको शरणमा परे। खास कुरा साम्यवादको असफलता नभएर कम्युनिस्ट कार्यशैली र लागू गर्ने सवालमा केही दृष्टिकोणका समस्या थिए जसलाई सच्याएर जान सकिन्थ्यो र जान सकिन्छ पनि।

अन्तमा, हामीले दुईवटा गल्तीबाट बच्नुपर्छ। एउटा विगतकै गल्ती दोहोर्याउने र फेरि उही नियति बेहोर्ने। अर्को, असफल भइन्छ भनेर पुँजीवादको शरणमा पर्ने। यसबाट बच्न सकियो भने समस्याको समाधान गर्दै अगाडिको बाटो सफलतापूर्वक तय गर्न सकिन्छ।

(नेकपाका केन्द्रीय सदस्य आचार्य समाजवाद अध्ययन प्रतिष्ठानका अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्