‘किन ढल्छन् कम्युनिष्ट पार्टी र सत्ता ?’

Narayan dahal
लाेकपाटी न्यूज

विश्वका कम्युनिष्टहरुले आन्दोलन र सङ्घर्षबाट उपलब्धी जति छिटो र सजिलै प्राप्त गर्छन्, त्यसलाई बचाउन र सुदृढ गर्न असफल भएका इतिहास प्रशस्त पाइन्छ। किन यस्तो हुन्छ ? यो अहिलेको बहसको विषय बन्नुपर्छ। सत्ता प्राप्तिका लागि कुनै पनि स्तरको बलिदान गर्न पछि नपर्ने कम्युनिष्टहरु सत्ता प्राप्ति भए पछि त्यसलाई आम जनताको पुँजी बनाउने र जनताको सहज पहुँचको विषय बन्न सकेको छैन।

कम्युनिस्ट सत्ता प्राप्ति जनताको जुन स्तरबाट अपनत्व हुनुपर्ने हो झनझन् वितृष्णा पैदा भएको र सत्ता, नेताको पक्षमा भन्दा विपक्षीमा उभिने प्रक्रियाले कालान्तरमा त्यसकै विरुद्ध उभिने वा त्यसको पक्षमा नदेखिने भइरहेको छ। कम्युनिष्ट राज्यसत्ता प्राप्त गर्नका लागि बलिदानका कृतिमानहरु असंख्य पाइन्छ। तर त्यसको रक्षा गर्न पटक्कै रुचि नभएको र सजिल्लै प्रतिक्रियावादीहरुले कम्युनिष्ट सत्ता उल्ट्याउदा चुपचाप हेरेर वा सहेर बसेको इतिहास पढदा देख्दा सोचनीय विषय वनेको छ।

यसो हुनुका कारण के–के हुन सक्छन्, यस विषयमा विश्वस्तरमा नै सच्चा कम्युनिष्टहरुको बीचमा गम्भिर प्रकारको बहस र चिन्तन गर्नुपर्ने हुन्छ। यसो हुन नदिनका लागि निम्न कुराहरुमा ध्यान दिनु पर्छ।

१. क्रान्ति सम्पन्न गर्ने पहिलो सर्त, मार्गदर्शक विचार र राजनीतिक कार्यदिशा र क्रान्तिकारी नेतृत्व नै हुनुपर्छ र हो।

२. मार्गदर्शक सिद्धान्त, विचार र क्रान्तिकारी कार्यदिशाप्रति दृढताका साथै कार्यान्वयन गर्ने पार्टी संगठन दोस्रो सर्त हो।

३. क्रान्ति र पार्टीप्रति पूर्ण विश्वस्त जनताको ठूलो पंक्ति हुनु तेस्रो सर्त हो।

४. सत्ता प्राप्तिपछि सत्तामा जनताको पूर्ण नियन्त्रण र निगरानी सुनिश्चित हुनु चौंथो सर्त हो।

५. जनताले प्रत्यक्ष अनुभूत हुने गरी आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण हुने कार्ययोजना र विकास गरी परिवर्तन हुनु पनि पाँचौ सर्त हो।

यी र यस्तै विषयमा जनतालाई कति प्रशिक्षित र आत्मविश्वासी बनाइयो ? यसैले क्रान्तिको निरन्तरता र सुदृढ कम्युनिष्ट सत्ताको भविष्य निर्धारण गर्दछ। तर, सत्ता प्राप्तिपछि माथिका विषयमा भाषण र मौखिक प्रतिवद्धता बाहेक अरु केही नभए पछिको परिणाम नै कम्युनिष्ट सत्ता कमजोर र विघटन हुने गरेको पाइन्छ।

हामीले मजदुर किसान र सर्वहारा वर्गको राज्यसत्ता भनेर जति आदर्शका कुरा गरे पनि सत्तामा पुगेपछि स्वयं नेतृत्वको वर्ग स्वरुप बदलिएर सर्वहारा वर्गीय चरित्र परिवर्तनलाई समयको माग र आवश्यकताको जामा पहिर्‍याउने र जनतालाई भ्रम दिने काम बढिरहेको पाइन्छ। वैचारिक सैद्धान्तिक सर्वहारा वर्गीय आदर्शलाई भुल्दै त्यसलाई व्यक्तिगत स्वार्थमा लिप्त हुँदा नै विश्वमा कम्युनिष्टहरु रक्षात्मक हुँदै गएको कुरामा दुइमत हुन सक्तैन।

जनआकांक्षा चाहना र भावनाको उचित कदर गर्न नसक्दा अझ भनौ आफू नै जनता हो र आफ्नो र आफ्नाको हित नै जनताको हित हो भन्ने महत्वकांक्षी बुझाइको विकासले गर्दा साथै जनताप्रतिको उत्तरदायित्वमा उदासिन बन्दा संसारका कम्युनिष्ट सत्ताहरु विघटन हुन पुगेको कुरा निश्चित हो।

नेपालमा लामो समयदेखि नै संघर्ष गर्दै बलिदान र त्यागका ठूला–ठूला कीर्तिमानहरु खडा गर्दै नेपाली कम्युनिष्टहरुले प्राप्त गरेका उपलव्धीहरु कतै गुम्ने त होइन भन्ने व्यापक आशंका र डर पैदा हुन थालेको छ। यसका लागि सच्चा कम्युनिष्टहरु बेलामा नै सचेत हुनुपर्छ।

कम्युनिष्टहरुकै नेतृत्वमा २०२८ सालको झापा विद्रोह, ०४६/०४७ सालको आन्दोलन र २०५२ सालदेखि सञ्चालित १० वर्षे महान् जनयुद्धमा भएका ठूला–ठूला त्याग बलिदान र सहासका कारण नेपालमा एकतन्त्रीय राजसंस्थाको अन्त भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ।

तर छोटो समयमा नै यसप्रति जनताको विश्वास घट्न थालेको अभिव्यक्ति सुनिन थालेका छन्। यसबाट बच्न र यो परिवर्तनलाई संस्थागत गर्दै सुदृढ गर्दै वैज्ञानिक समाजवादको स्थापनार्थ अहिले नेतृत्वको दुरदृष्टि र सुझबुझले जनताको पूर्ण समर्थन प्राप्त स्थितिलाई अझै उचाइमा पुर्‍याउन गम्भिर ढंगले लाग्न जरुरी रहेको ।

संसारकै सर्वहारा वर्गको आशाको केन्द्र बन्दै गरेको हाम्रो नेपाल कम्युनिष्ट पार्टीले पनि उही इतिहास दोहोर्‍याउन नपरोस् भनेर बेलैमा सतर्क हुन जरुरी रहेको छ। वैज्ञानिक समाजवादको स्थापनार्थ मार्क्सवाद लेनिनवादको वैचारिक आलोकमा, विचारमा विकास गर्दै कार्यदिशामा स्पष्टता ल्याउन सिंगो पार्टी पंक्ति सचेत हुन जरुरी रहेको छ।

यसका लागि विचारमा विकास गर्न महान बहस चलाउन आवश्यक विषयमा कही कतै थोरै पनि सम्झौता गर्नु हुँदैन। अहिले हामीसँग दुईतिहाइको मजबुत सरकार छ। दुई ठूला पार्टी मिलेर बनेको शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी छ, आन्दोलन त्याग बलिदानको किर्तीमान खडा गरेका नेता कार्यकर्ताको ठूलो मजबुत पंक्ति छ। साथै अहिलेको सापेक्षतामा राजनीतिक स्पष्टता र वैज्ञानिक समाजवादमा जाने स्पष्ट कार्यदिशा छ।

यी सबैलाई सुदृढ र व्यवस्थित गर्दै आम जनतालाई यो महान अभियानमा लैजान सकेमा हाम्रो पार्टीले भनेझै “सुखी नेपाली, समृद्ध नेपाल” वनाउन कुनै कठीनाइ छैन र साथै समाजवाद स्थापना गर्न कुनै दन्त्य कथा हुनेछैन। यसका लागि वैचारिक नेतृत्वको विकास गर्दै नयाँ विचारको संश्लेषण गर्दै अगाडि बढन जरुरी छ।

यस सन्दर्भमा नेपाली क्रान्तिलाई अगाडि बढाउन नेपाली सर्वहारा मजदुरले खेलेको भूमिका र त्यो भूमिकालाई अझै सुदृढ र वैचारिक स्पष्टता पार्दै लैजानुपर्ने आवश्यकता छ। यो सम्भव र जरुरी छ। यही नै नेपाली क्रान्तिको सहि दिशा हो र हुनुपर्छ।

(हालै अखिल नेपाल ट्रेड युनियन महासंघ चितवनद्वारा प्रकाशित ‘श्रमिक आवाज’बाट साभार गरिएको। लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नंं. प्रदेश कमिटीका अध्यक्ष हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्