यस्ता छन् दीपक मनाङ्गेका अपराध–कर्म

Dipak
लाेकपाटी न्यूज

काठमाडौं। कुनै बेला गुण्डा नाइकेका रुपमा परिचित राजीव गुरुङ उर्फ दीपक मनाङेको ठमेलबाट सुरु भएको अपराधको यात्रा अब सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश भएको छ। मनाङ्गेलाई बिहीबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्बा गुरूङले पार्टीमा स्वागत गरे।

प्रारम्भमा राजावादीसँग निकट कमल थापा नेतृत्वको राप्रपा हुँदै एमाले प्रवेश गरेका मनाङे अहिले गण्डकी प्रदेश सभाका सांसद छन्। उनको सपथ ग्रहण समारोहमा मुख्यमन्त्री गुरुङसँगै प्रदेशमन्त्री रामशरण बस्नेत, प्रदेश सांसद सूर्यप्रसाद गैरे ‘पारस’, कृष्ण थापा लगायतका नेताहरु उपस्थित थिए। तर, पार्टी प्रवेश सबैभन्दा आलोचनाको विषय बनिरहेको छ।

मनाङको प्रदेश (ख) बाट प्रदेशसभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका उनी २०५०/०५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेस्टुरेन्ट खोल्न थालेपछि ठमेल भनेकै मनाङेहरूको हो भन्ने अफवाह फैलाउँदै हप्ता एवं मासिक असुली गर्ने गरेका थिए।

धम्क्याउँदै पैसा असुल्दै आएका उनको आपराधिक यात्राको बाधक केही समय चक्रे मिलन बनेका थिए। राप्रपामा खासै उपलब्धि नभएपछि उनी लक्ष्मण चौधरीको संघीय समाजवादी पार्टीमा प्रवेश गरे। २०६८ मा उक्त पार्टीमा प्रवेश गरेका उनी केही समय भूमिगतजस्तै बने।

ठमेलमा रेस्टुरेन्ट व्यवसायीबाट सलामी (कमिसन) उठाउने मनाङे पटक–पटक पक्राउ पर्दै जेल परेर छुटेका अभियुक्त हुन्। अकुत सम्पत्तिमा सम्पत्ति शुद्धीकरण विभागले मनाङेविरुद्ध विशेष अदालतमा मुद्दा समेत चलाएको थियो। तर, उनले सफाइ पाए। तर, उनले आफ्नो अपराध कर्म भने जारी राखे।

२० वर्षदेखि उनी राजधानीको गुण्डागर्दीमा संलग्न थिए। गुण्डागर्दीसँगै ठेक्कापट्टा, होटल, डान्सबार र रेस्टुरेन्ट सञ्चालक समेत बनेका उनी राजनीति गरे अपराध छिपाउन सकिन्छ र प्रहरी चंगुलबाट बच्न सकिन्छ भन्ने अभिप्रायले नै उनी विभिन्न दल हुँदै सत्तारुढ नेकपामा प्रवेश गरेका हुन्।

२०६० साल पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा उनी पक्राउ परेका थिए। जेल बसेर छुटेका उनी त्यसपछि ०६५ साल फागुन र ०७० साल फागुनमा पक्राउ परेका थिए। सेनाका मेजरलाई कुटपिट गरेको आरोपमा समेत पक्राउ परेका मनाङेलाई तत्कालीन काठमाडौंका सीडीओले ६ महिना कैद सुनाएपछि अदालतले एक वर्ष कैद सजाय सुनाएको थियो।

उनी महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै काठमाडौंका धेरै प्रहरी कार्यालयका थुनामा बसिसकेका छन्। २०७३ पुस २८ गते राप्रपा प्रवेश गरेका उनी ०७४ असोजमा एकाएक एमालेमा पुगे। तर, एमालेबाट टिकट नपाएपछि उनी स्वतन्त्र हैसियतमा माननीय बने।

स्थानीय तह चुनावमा समेत प्रहरीले मनाङेलाई पक्राउ गरेको थियो। तर, उनी राजनीतिक पहुँचका आधारमा छुटे। मनाङे नेपाल प्रहरीका लागि समेत टाउको दुखाइको विषय बनेका व्यक्ति हुन्। अपराधकर्मलाई राजनीतिक संरक्षण दिएका कारण प्रहरी प्रशासन कमजोर बन्ने गरेको चर्चा प्रहरीभित्र सेलाएको छैन।

तर, मनाङ्गेले आफ्नै सहयोगका कारण पूर्वएमालेका नेताहरुले चुनाव जित्ने गरेको दावी गर्दै आएका छन्। ‘चुनावका बेला हामी नै चाहिने, अहिले डन भन्न मिल्छ ?’ उनले नेताहरुसँग यसरी जवाफ दिने गरेका छन्। रेशम चौधरी राजनीतिक मुठभेडका कारण जेल परेर साङ्लोले बाँधिदै गर्दा मनाङ्गे खुलेआम नेकपामा प्रवेश गर्नुले नेकपाको आदर्श स्खलित भएको धेरैको टिप्पणी छ।

मनाङ्गे नेकपामा प्रवेश गरेको विषयलाई लिएर निष्ठाको राजनीति गर्ने नेकपाका नेता कार्यकर्ता चिन्तित बनेका छन्। राज्यले कार्वाही गर्नुपर्ने व्यक्तिलाई पार्टी प्रवेश बनाएर नेता बनाउदा लोकतन्त्र, सुशासन र समृद्धिको यात्रामा कालो धब्बा लागेको उनीहरुको तर्क छ। कम्युनिष्ट पार्टीको सदस्य बन्न अब घुसखोरी, डाँका, फटाहा, जँड्याहा जे–भए पनि आर्थिक भए पुग्ने देखिएको विश्लेषण हुन थालेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्