काठमाडौं, १७ असार । अबदेखि फेसबुक र ट्वीटरले लाइसेन्स लिनुपर्ने भएको छ । दोस्रोपटक सत्तामा आएसँगै भारतमा मोदी सरकारले सोसल मिडिया कम्पनीहरूमाथि दबाव बढाउने योजनामा छ।
प्रयोगकर्ताका डाटा लिक हुने घटनाहरु बेलाबेलामा सार्वजनिक भएपश्चात् भारत सरकारले सोसल मिडिया कम्पनीहरुमाथि प्रयोगकर्ताका डाटाहरु देशभित्रै राख्न दबाव दिने भएको छ। यस सम्बन्धमा भारत सरकारले आगामी महिना एउटा कानून ल्याउँदैछ। जसमा सूचना प्रविधिसम्बन्धी कम्पनीका लागि आवश्यक परिवर्तन ल्याउने प्रस्ताव गरिएको छ।
यदि प्रस्तावित कानून पारित भएमा सबै विदेशी सोसल मिडिया कम्पनीहरुले भारतमा आफ्नो सेवा दिनका लागि अनिवार्य रुपमा लाइसेन्स लिनु पर्नेछ। यद्यपि, सोसल मिडिया कम्पनीहरुले अमेरिकी सरकारको माध्यमबाट भारतमाथि यस्तो कानून नबनाउन दबाव दिइरहेका छन्।
तथापि, भारतले अमेरिकालाई स्पष्टसँग भनिसकेको छ कि राष्ट्रहितसँग सम्बन्धित यो मामिलामा कुनै पनि सम्झौता गरिने छैन। स्मरणरहोस् हालैका दिनहरुमा भारत र अमेरिकाबीच केही अहम मुद्दाहरुमा टकराव भइरहेको थियो । त्यसमा अमेरिकी सोसल मिडिया कम्पनीहरुलाई भारतमा सञ्चालित हुनका लागि लाइसेन्स लिनुपर्ने प्रस्तावित कानूनका साथै चिनियाँ कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाउनुपर्ने अमेरिकी मागको विषय रहेका छन् ।
हाल सोसल मिडिया कम्पनीहरु लाइसेन्सविनैै देशभित्र सञ्चालन भइरहेका कारण देशको कानूनी प्रक्रियाबाट बँच्ने गरेका भारत सरकारको तर्क छ। तथापि, लाइसेन्स लिने विषयमा अहिलेसम्म सोसल मिडिया कम्पनीहरु तयार भइसकेका छैनन्।यदि भारतको माग मानिएमा विश्वका अन्य देशहरुले पनि त्यस्तै माग गर्नसक्ने र त्यस्तो भएमा सबै देशमा लाइसेन्स लिनु सम्भव नरहेको भनाइ सोसल मिडिया कम्पनीहरुको छ।
फेसबुक तथा ट्वीटरलगायतका अधिकांश सोसल मिडिया कम्पनीहरु अमेरिकाकै छन् र अमेरिकाबाटै ती कम्पनीहरुले लाइसेन्स लिएका छन्। भारत सरकार र ह्वाट्सएपबीचमा पछिल्लो केही महिनायता खिचातानी छ। भारतले ह्वाट्सएपमा चल्ने घृणायुक्त सामग्री तथा गलत समाचारमा अंकुश लगाउनका लागि सूचना प्रविधि कानूनमा परिवर्तन गर्न चाहन्छ।
जसअनुसार ह्वाट्सएपमा आदान प्रदान हुने सन्देशलाई ट्रयाक गर्ने अधिकार सरकारले आफूसँग राख्नेछ। तर, प्रयोगकर्ताका सन्देशहरू सरकारले ट्रयाक गर्न पाउने कुरामा फेसबुक स्वामित्वको ह्वाट्सएप तयार छैन। प्रयोगकर्ताको गोपनीयतासँग सम्झौता गर्न नसकिने उसले प्रष्ट पारेको छ। सोसल मिडिया कम्पनीहरुसँगको यही विवादका बीच भारत यसको विकल्प खोजी गर्नमा जुटेको छ।
अहिले भारतमा सरकारी कामकाज, आपसी संवादका लागि तथा फेसबुक, ट्वीटर तथा ह्वाट्सएपको पनि प्रयोग हुन्छ। समाचार अनुसार भारत सरकारले ह्वाट्सएपको माध्यमबाट आफ्नो आपसी संवाद प्रणाली बनाउने कोसिस गरिरहेको छ, जसलार्ई विशेष रूपमा सरकारी कामकाजको क्रममा प्रयोग गर्न सकियोस्। (एजेन्सी)



लाेकपाटी न्यूज

