सर्लाही, १५ असार । सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीको गोली लागेर एकजना प्रर्दशनकारीको ज्यान गएको छ ।
प्रहरीको गोली लागेर स्थानीय देवान महताको ज्यान गएको हो । अन्य दुईजना प्रदर्शनकारी र नेपाल प्रहरीका पाँच र सशस्त्र प्रहरीका पाँच जना घाइते भएका छन् । प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाका अनुसार बालक मृत्युको विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो ।
एसपी थापाले भने,‘‘ईश्वरपुरमा केही दिनअघि हराएका ११ वर्षीय बालक अमित राय पोखरीमा मृत अवस्थामा भेटिए । हामीले शवलाई पोष्टमार्टमका लागि लैजाँदा स्थानीयले अवरोध गरे । स्थिती नियन्त्रणबाहिर गएपछि प्रहरीले बल प्रयोग गरेको हो ।’’
खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेको थिए । प्रहरीले अवरुद्ध राजमार्ग खुलाउन थालेपछि स्थानीय ढुङ्गा–मुढा प्रहारमा उत्रिएका थिए ।
झडपलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले हवाइ फायर गर्दा १ जनाको मृत्यु भएको हो । झडपमा अन्य ४ जना स्थानीय घाइते भएका छन् । घाइते भएका ४ जनालाई पनि गोली लागेको स्थानीयको भनाइ छ ।
स्थानीय बाँके खोलामा गिट्टी–बालुवा निकाल्दा बनेको खाल्डोमा डुबेर स्थानीय लाले रायका छोरा अमित रायको मृत्यु भएको थियो ।
स्थानीयले गिट्टी बालुवा उत्खनन् गर्ने ठेकेदारलाई कारबाही तथा मृतक परिवारलाई क्षतिपूर्तिका माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए ।
राजमार्गको अवरोध हटाउँदा प्रहरीको गोली लागेर सर्लाहीको ईश्वरपुर–१३ का २९ वर्षीय केवल महतोको मृत्यु भएको जनाइएको छ ।



लाेकपाटी न्यूज
