आपतकालीन अवतरण गर्दा भवनमा ठाेक्कियाे विमान, २ को मृत्यु

सांकेतिक तस्विर
लाेकपाटी न्यूज

मस्को, १२ असार । बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान विमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएकाे छ । रुसकाे साइबेरियामा भएकाे उक्त विमान दुर्घटनामा चालक दलका दुई जनाको मृत्यु समेत भएको छ ।

साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा विमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । एएन–२४ कलसाइन रहेको उक्त विमान उलान–उडबाट आएको थियो ।

उक्त विमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको थियो । आपतकालीन अवतरण गरेको विमानले धावनमार्ग नजिकैको फोहोर प्रशोधन केन्द्रको भवनमा ठक्कर दिएको थियो ।

विमानका चालक दलका दुबै सदस्यको मृत्यु भए पनि बिमानमा सवार सबै ४३ जना यात्रु सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त विमानमा तत्कालै आगलागी पनि भएको थियो । रुसी उड्डयन प्राधिकरणले दुर्घटनाको बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।–एजेन्सी