‘ईश्वरले मान्छे होइन, मान्छे ईश्वरको रचना गर्‍यो’

Balaram timilsina
ईश्वरले मान्छेको होइन, मान्छेले ईश्वरको सृष्टि गरेको हो। आफ्नै जात, कुल र वर्गको जेठोबाठो र शक्तिशालीले मान्छेबाट अलग गरेर आफूलाई ईश्वर घोषणा गर्यो र कमजोरहरूले त्यसलाई पत्याए। सबै धर्ममा यही भएको हो। यसरी हेर्दा सुरुसुरुको जङ्गली जीवनको मान्छे सतप्रतिशत भौतिकवादी थियो। दास युगमा पुगेपछि ठगहरू र शासकहरू जन्मे। ठग र शासकहरूले जनतालाई तर्साउन ईश्वरको रचना गरे।
लाेकपाटी न्यूज

बलराम तिमिल्सिना

आर्यहरूको शाखा सिन्धुघाँटी आइपुग्दा उनीहरूसँग राम, कृष्ण, शिव, ब्रम्हा कोही पनि थिएनन्। घुम्दैघुम्दै आएका बर्बर जाती आर्यहरू सिन्धुघाँटी आइपुगेर गंगाको मैदानमा फैलिने र सामन्ती युगमा प्रवेश गर्ने क्रमसँगै आर्यहरूकै कोखबाट राम जन्मे र कृष्णहरू जन्मे।

सम्भवतः आफ्नो समयका चलाख, धूर्त, शक्तिशाली र आक्रामक सामन्त या राजाहरूलाई आर्यहरूले ईश्वरीय रुप दिए। आर्यहरूको त्यो झुण्ड सिन्धुघाँटी आइपुग्नु पहिले उनीहरू कुन ईश्वर मान्थे होलान् ? या उनीहरू प्रकृति पूजक थिए ? तिनीहरूका ईश्वरहरू नाम, जात, मानवीय अनुहार भएका र बाबुआमा खुलेका थिए ? के ईश्वरको पनि जात, थर र जन्म मिति हुन्छ ? के मान्छेको कोख र विर्यबाट ईश्वर जन्मन्छ ? यी र यस्ता प्रश्नहरू स्वभाविक रुपमा उठ्छन्।

सम्भवतः आर्यहरू सिन्धु घाँटी आइपुग्ने बेलासम्म उनीहरूले ईश्वरको रचना गरिसकेका थिएनन्। अलौकिक शक्तिको परिकल्पना चाहिँ थियो। उनीहरू प्रकृति पूजक नै थिए। प्रकृतिको शक्तिलाई मान्छेमा आरोपित गर्ने काम धेरै पछि मान्छेले नै गर्यो। अल्लाह, यशू, बुद्ध, ब्रम्हा, विष्णु, महेश्वर लगायतका सबै ईश्वर भनिएकाहरू मानव जातिको इतिहासको विकास क्रममा धेरै पछि मात्रै जन्मे।

त्यसैले ईश्वरले मान्छेको होइन, मान्छेले ईश्वरको सृष्टि गरेको हो। आफ्नै जात, कुल र वर्गको जेठोबाठो र शक्तिशालीले मान्छेबाट अलग गरेर आफूलाई ईश्वर घोषणा गर्यो र कमजोरहरूले त्यसलाई पत्याए। सबै धर्ममा यही भएको हो। यसरी हेर्दा सुरुसुरुको जङ्गली जीवनको मान्छे सतप्रतिशत भौतिकवादी थियो। दास युगमा पुगेपछि ठगहरू र शासकहरू जन्मे। ठग र शासकहरूले जनतालाई तर्साउन ईश्वरको रचना गरे।

संसारमा ठग र शासकहरू रहुन्जेल ईश्वरको अवधारणालाई उनीहरूले बचाई राख्नेछन्। मानव जाति आफ्नो विकासको चक्र पूरा गरेर फेरि ठगहरू र शासकहरू नहुने समाजमा पुग्नेछ। त्यसपछि राज्य, सेना, प्रहरी, जेल, अदालत, नचाहिएजस्तै कसैलाई तर्साउन ईश्वरको पनि खाँचो पर्ने छैन। भौतिकवादीबाट सुरु भएको मानव जातिको विकासक्रम फेरि भौतिवादी बन्ने विन्दुमा पुग्ने छ।

(तिमिल्सिनाको फेसबुकबाट)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्