काठमाडौं, १० असार । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको बैठकमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
संसदमा बाेल्दै सांसद बिमला नेपालीले गृहमन्त्रालयले एक पछि अर्को निर्देशन दिएर नागरिकता वितरणमा सधैं समस्या देखिने गरेकाले दीर्घकालिन समाधानका लागि नागरिकता सम्बन्धी विधेयक तत्काल सदनको छलफलमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।
यस्तै सांसद बिमला बिकले प्रकाश सपुत र शान्तिश्री परियारले गाएको गलबन्दी च्यातियो बोलको गीत बाझियो भनी दाबी गर्ने शम्भु राईलाई समर्थन गर्ने नाममा कलाकार र सर्जकमाथि अपमान गर्ने काम भएको भन्दै दोषीलाई कानूनी दायराभित्र ल्याएर अबिलम्व कारवाही गर्न माग गरिन् ।
सांसद महेश्वर जंग गहतराज ‘अथक’ ले प्रकाश सपुत र शान्तिश्री परियारलाई अपमानित गर्नुको साथै सिंगो समुदायलाई नै अपमानित गर्ने गरी सामाजिक संञ्जालमा भइरहेका गतिविधि नियन्त्रणका लागि सरकारलाई गम्भिर कदम चाल्न माग गरे । सांसद मिन बहादुर विश्वकर्माले ढुवानीमा भ्याट प्रणालीले ढुवानी क्षेत्रमा काम गर्ने व्यवसायीलाई व्यवहारिक कठिनाई भएको भन्दै यो व्यवस्था तत्काल खारेज गर्न माग गरे ।
सांसद मैना कुमारी भण्डारीले राजधानीका वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पनि सरकारले अघि सारेको स्वास्थ्य विमा अन्र्तगतको उपचार हुने व्यवस्था गर्न माग गरिन् ।
सांसद यज्ञ बहादुर बोगटीले गएराति अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ नन्दवहादुर कडायतको घरमा रहेको वडा कार्यालयमा विप्लब आगजनी गरेको, ढकारी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय पनि आजगनी भएको भन्दै दोषीमाथि कडा कारावाही गर्दै नीजि घरमा भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे ।
सांसद मिना सुब्बाले केही दिन देखि राजधानीमा महिलामाथि सिरिञ्ज आक्रमणका घटना बढेको र यसले महिला जगतमा त्रास फैलिएको भन्दै यस घटनालाई गम्भीर रुपमा लिई सत्य तथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद यज्ञराज सुनुवार संघीय शिक्षा ऐन आउन ढिलाई हुनु र यस बीचमा तीनै तहको सरकारको समन्वयको अभाव हुदा सिंगो शिक्षा क्षेत्र नै प्रभावित हुन सक्ने तर्फ सरकारको ध्यानाकर्षण गराए ।
सांसद राजबहादुर बुढा क्षेत्रीले गत बैशाख २२ र २४ गतेको असिना बर्षाले दैलेखमा अन्नबाली क्षति भएको र त्यसको अहिले सम्म राहत उपलब्ध नगराईएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
सांसद रामकुमारी झाक्रीले पहुँचवालाले विमा सहित सरकारबाट पनि क्षतिपुर्ति लिने प्रचलन देखिएको भन्दै विमा नीति र क्षतिपुर्ति सम्बन्धी मापदण्ड स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद रामबहादुर विष्टले नेत्र विक्रम चन्द विप्लब समुहका सर्लाहि इन्चार्ज कुमार पौडेल इन्काउण्टरमा मारिएका हुन् कि हत्या गरिएको हो भन्ने सम्बन्धमा प्रश्न गरे ।
इन्काउण्टरमा मारिएको पनि भन्ने अनि छानविन पनि गर्न सकिने भनी गृहमन्त्रीले दिएको अभिव्यक्ति प्रति पनि उनले प्रश्न गरे । घटनाको मानवअधिकारवादीहरुले पनि विरोध गरिरहेको भन्दै उनले मुलुकभरीका यस्ता घटनाबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरे ।
सांसद रामकुमार यादवले नागरिकता ऐन संसोधन गर्न बनेको विधेयक र प्रदेश लोकसेवा ऐन विधेयक संसदमा छलफलको विषय बनाउन माग गरे । सांसद रामेश्वर राय यादवले कुमार पौडेल हत्या प्रकरणमा गृहमन्त्री र प्रहरी प्रमुखको अभिव्यक्ति फरक आएको तथा घटनाको प्रकृतिबाट हत्या नै प्रमाणित हुने भन्दै घटनाको बारे सत्य तथ्य जानकारी गराउन माग गरे ।
निर्वाध रुपले बाँच्न पाउने अधिकार र हरेक अपराधको कानुनी उपचार हुदा हुदै राज्यले हत्या नै गर्नुपर्ने कारण बारे स्पष्ट पार्न गृहमन्त्रालयको ध्यानाकर्षण गराए । सांसद रेखा कुमारीले संघीयतालाई धरापमा पार्ने गतिविधि भईरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गगराइन् ।



लाेकपाटी न्यूज

