काठमाण्डौं, ८ असार । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले रेशम चौधरीलाई नेल लगाएर उपचार गराईएको, सरकारको काम कारवाही असफल बन्दै गएको र खेतीपातीको समयमा रासायनिक मल अभाव भएको भन्दै सहज मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद उमाकान्त चौधरीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको र हरेक क्षेत्रमा असफल बन्दै गईरहेको आरोप लगाए। भ्रष्टाचार र काण्डै काण्डमा फसेको सरकार सर्वत्र असफल बन्दै गएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुट प्रसाद को उपनाम दिनुपर्ने तर्क गरे। उनले भने “सिण्डिकट अन्त्य होइन त्यसलाई प्रोत्साहन गर्ने काम गरेर यो सरकार झुट साबित भएको छ । जथाभावी कर लगाएर कर प्रसाद ओली उपनाम पाएका सम्माननिय प्रधानमन्त्री ज्यूको सरकारको कामकारावाही हेर्दा उहाँले सधै झुटको आश्वासन दिने , झुटको खेती गर्ने भएकोले अब उहाँको नाम झुट प्रसाद ओली उपनाम दिदैमा केही फरक पर्ने वाला छैन।”
सरकारका चिप्ला र फुस्रा भाषण मात्रैले विकास निर्माणमा सफल हुन नसकिने तर्क उनले गरे । सांसद चन्दा चौधरीले रेशम चौधरीलाई विरामीको उपचार गराउदै २४ केजीको सिक्रि लगाएर उपचार गराउने काम भएको भन्दै त्यसबारे गृहमन्त्रीको ध्यानाकर्षण गराइन्। सिक्रि लगाएर उपचार गराउने काममा संलग्नलाई प्रधानमन्त्रीले कारवाही गर्न दिएको निर्देशन कार्यान्वयनबारे भएको प्रगतीबारे जानकारी गराउन पनि यीनले गृहमन्त्रीसँग माग गरे। दश वर्षे जनविद्रोह, गौर हत्याकाण्डका योजनाकारहरु सरकारमा रहेको र टिकापुर घटना पनि राजनीतिक जनविद्रोह भएको भन्दै उनले सरकारले विभेदको नीति लिएको आरोप लगाइन्।
सांसद प्रदीप यादवले चौधरी भएकै कारण सरकारले रेशम चौधरीलाई सरकारले जेल हालेको भन्दै मुलुकमा मानवअधिकार र सरकार नभएको आरोप लगाए। उनले चौधरीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरे । उनले २० औँ हजार हत्या गर्नेहरु अहिले मन्त्री बनेको भन्दै सरकारलाई विभेदकारी व्यवहार नगर्न सचेत गराए। उनले भने “रेशम चौधरीलाई अबिलम्ब रिहा गर्नुपर्छ। राजनीतिक बन्दी हुन्। कुनै हत्यारा होइन। रेशम चौधरीले कसैको हत्या गरेको छैन। गोली चलाएका छैनन्। सिर्फ थारु र मधेसीका लागि आन्दोलन गरेका हुन्। आन्दोलन गरेका कारण रेशम चौधरीलाई जेलमा राख्नु जायज होइन। सपथ खुवाएर पनि रेशम चौधरीलाई जेलमा राखिएको छ । यो अन्याय हो। २० आँै हजार हत्या गर्नेहरु सरकारमा छन्। मन्त्रीको झण्डा फहराएर हिडिरेहेका छन्। थारुको छोरा जेलमा छ। ”
सांसद झपट बहादुर रावलले प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्रीलाई ‘झुट प्रसाद र कर प्रसाद ओली’ भनेको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए। जनप्रतिनिधिले बोल्ने भाषा शैली शिष्ट, सभ्य र सुसंस्कृत हुनुपर्ने भन्दै उनले संसदीय मर्यादा कायम गराउने तर्फ पनि सभामुखको ध्यानाकर्षण गराए ।उनले भने “प्रतिपक्षी दलका माननिय ज्युले सम्माननिय प्रधानमन्त्री ज्युको नाम बंग्याएर कर प्रसाद र झुट प्रसाद भन्नुभएको छ।
यसैगरी हामीले पनि प्रतिपक्षी दलका नेता ज्यु पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका अन्य नेताहरुलाई, शेर बहादुर देउवा नभनेर छेरबहादुर देउवा भन्न हामी बाध्य भयौ भनेदेखी के हुन्छ ? अमर्यादित र असभ्य भाषा रेकर्डबाट हटाईयोस्।” प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकारको प्रतिवद्धता अनुसार काम नभएको र सर्वत्र कर बढाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीलाई करप्रसाद र झुट प्रसादको उपनाम राखिदिनुपर्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि सभामुख कृष्ण बहादुर महराले विषयवस्तुलाई गम्भीरता पूर्वक लिएको उल्लेख गर्दै त्यसबारे पछि निर्णय गर्ने बताएका थिए। सांसद मेटमणि चौधरीले मुलुकभरका किसानले धान खेती लगाउने समयमा मल नपाएर समस्यामा परेको भन्दै रासायनिक मल उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए।



लाेकपाटी न्यूज

