मलेसियामा साढे ९ हजार विदेशी कामदार पक्राउ, नेपाली कति परे ?

लाेकपाटी न्यूज

काठमाडौं, ८ असार । मलेसियामा अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदारलाई पक्राउ गरी स्वदेश फर्काउने अभियान शुरु भएको छ । सन् २०१९ को ६ महिनामा मलेसिया सरकारले अवैध रुपमा बस्दै आएका ९ हजार ६ सय ५४ जना पक्राउ गरेको जनाएको छ ।

मलेसियाको अध्यागमन विभागलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले पक्राउ पर्नेहरुमा सबैभन्दा धेरै ईण्डोनेसियाबाट रोजगारीमा आएका कामदार परेको जनाएका छन् ।

पक्राउ पर्नेहरुमा ६ महिनाकाे अवधिमा इण्डोनेसियनहरु ३ हजार ७ सय ६७ जना अवैध रुपमा बसेका कामदार पक्राउ परेका छन् । यसैगरी म्यानमारका २ हजार १ सय ५, बंगलादेशी १ हजार ५ सय ९४, भारतीय ५ सय २५ जना, भियतनामी २ सय ९४, पाकिस्तानी २ सय ६३, थाई २ सय २६, फिलिपिनो २ सय २२ जना रहेको अध्यागमनले जनाएको छ ।

यो अवधिमा १ सय ९३ जना नेपाली पनि पक्राउ गरेको अध्यागमनले जनाएको छ । यस्तै नाइजेरियाका १ सय ५० तथा ३ सय १५ जना अन्य मुलुकका रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

विगत ६ महिनामा मलेसिया सरकारले अवैध रुपमा बसेका विदेशी कामदारमाथि धेरै पटक धरपकड गरेको छ । यो अवधिमा १ लाखभन्दा धेरै विदेशी कामदारमाथि चेकजाँच गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्