काठमाडौं, ८ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धीत नीति नियमहरु समयअनुकूल परिवर्तन गर्दै जाने बताएका छन्।
सबै कुरा भताभुंग बनाएर नयाँ निर्माण अहिले सम्भव नभएको उनले बताए। ‘हिजो गरेनन, आज त्यो एकदम अनिवार्य छ, भविष्यमा अझै अनिवार्य हुन सक्छ,’ आइतबार संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले भने, ‘अहिले जुन ऐन आएको छ । सबै कुरा भताभुंग बनाएर, पुरानो घरलाई डोजर लगाएर सम्म बनाएर नयाँ जग खन्ने गरी होइन। अहिले त्यो सम्भव छैन।’
‘अहिले त्यो गर्यो भने नीतिगत रुपमा विधेयक फिर्ता लैजानुस् भन्नुपर्ने हुन्छ। हामी त्यो ठाउँमा छैनौं। समग्र परिवेशले कहाँनेर कति चेन्ज गर्न सकिन्छ, त्यति बुझेर अगाडि बढ्यौं भने हामी निकासमा पुग्छौं।’बैठकमा सांसदहरुले श्रेणीगत र तहगत रुपमा कर्मचारी समायोजन गरिएको विषयमा जिज्ञासा राखेका थिए।
मन्त्री पण्डितले लामो समयसम्म छलफल गरेर श्रेणी र तहगत प्रणालीमा गएको बताए। उनले भने, ‘अहिलेमात्र होइन, लामो समय छलफल गरेर स्थानीय र प्रदेशमा तहगत प्रणालीमा हामी गएका हौं। त्यसपछि स्वास्थ्य र निजामतीसँग जोडिएर कतिसम्म एकरुपता गर्न सकिन्छ त्यतिसम्म एकरुपता गरेर ल्यायौं। भविष्यमा फेरि पनि बस्तुस्थितिको आधारमा जान नसकिने भन्ने कुरा भएन।’
उनले भने, ‘अहिले हामी देख्छौं, एकातिर नेपाल आर्मी, अर्कातिर सशस्त्र प्रहरी, अर्को तिर जनपद प्रहरी, अर्कातिर अनुसन्धान र अर्को तिर निजामती छ। यी सबै सरकार त सरकारकै हुन्, तर मिल्दैन। त्यसकारण जहाँसम्म मिल्छ, मिल्दै मिलाउँदै जाने कुरामा कुनै दुईमत छैन। तर, अहिले नै सबै भताभुंग गरेर फेरि अर्को आँधीबेहरी सिर्जना गर्ने गरी अहिले सम्भव छैन। सम्भव भएजति छलफल गरेर ल्याइएको छ।’



लाेकपाटी न्यूज

