लोकसेवामा सोधिने वस्तुगत र विषयगत प्रश्नको तयारी कसरी गर्ने ? (२८ टिप्स्)

student writing loksewa
लाेकपाटी न्यूज

काठमाडौं । अध्ययन गर्ने सबैको आ–आफ्नो तरिका हुन्छ । लोकसेवा तयारी गर्ने लेवलमा आइपुगेकासबैले एउटा शैक्षिक दक्षता हासिल गरेरै आएका हुन्छन्। त्यसैले पढ्ने तरिका यो मात्रै हो, यसरी नै पढ्नुपर्छ भन्ने केही छैन । तथापि लोकसेवा तयारी गर्दा निम्न कुराहरुलाई ध्यान दिनुपर्छ ।

वस्तुगत प्रश्नहरुको तयारी कसरी गर्ने ?

– कुनै एउटा किताबलाई मुख्य आधार मानेर पढ्दा राम्रो हुन्छ । अन्य किताबहरु Reference को रुपमा प्रयोग गर्नु उपयुक्त हुन्छ ।

– पहिलो पटक सरसर्ती हेर्ने । नघोक्ने । नयाँ लागेको, नसम्झेको र महत्वपूर्ण डाटा अथवा विषयलाई हाइलाइट गर्ने । दोस्रो पटक पढ्दा सम्झिन बाँकी विषयलाई नोटमा टिपोट गर्ने। केही डाटाहरु जसलाई Ascending and Descending Order मा सम्झनुपर्ने छ भने शुत्रबद्ध गर्ने । यसले गर्दा सम्झनुपर्ने कुराहरु सम्झन सहज हुन्छ ।

– नोट बनाउँदा सानो बनाउनुपर्छ । ताकि परीक्षाको समय भन्दा १/२ दिन अघि सरसर्ती हेर्दा पनि पूरै Content Visual होस् ।

– कुनै एउटा लेखकको किताबमा मात्र पूर्ण रुपमा भर पर्नु हुँदैन । अन्लाइन र पत्रपत्रिकाहरु पनि नियमित हेर्नुपर्छ । पत्रपत्रिकामा आएका महत्वपूर्ण डाटालाई टिपोट गर्ने र आफुलाई म्यगदत लागेका विषयहरु इन्टरनेट तथा आधिकारिक प्रकाशनहरुबाट Clear हुनुपर्छ ।

– आफुले पढेका कुराहरु सम्झन सहपाठी साथीहरुसँग बसेर छलफल गर्नु उपयुक्त हुन्छ । वस्तुगत प्रश्नहरुको तयारी गर्दा समूहमा छलफल गर्दा प्रभावकारी हुन्छ । साथीहरुको फरक आइडियाहरु पनि प्रयोग गर्न सकिने हुन्छ ।

– English, IQ, GK जस्ता विषयवस्तुलाई बराबर महत्व दिनुपर्छ । कुनै एउटामा ज्यादै राम्रो र अरुमा कमजोर हुँदा परीक्षामा धोका हुन सक्छ ।

– पाठ्यक्रममा आधारित भएर तयारी गर्नुपर्छ । पाठ्यक्रममा समावेश भएका विषयलाई समानुपातिक रुपमा समय दिनुपर्छ । जस्तै प्रायः साथीहरुले भूगोल र इतिहासमा मात्र समय दिने र अरु विषयमा कम समय दिँदा कम महत्व भएका तर बढी अंकभार समेट्ने विषयहरुको तयारी कम भएको देखिन्छ ।

– परीक्षाको समयमा एउटै प्रश्नमा नअल्मलिई जानेका प्रश्नहरु समयमै सक्ने र बाकीँ प्रश्नहरुलाई पछि फेरि रिभिजिट गर्ने । कुनै प्रश्नहरु छुटेकि भन्ने विषयमा सचेत रहनुपर्छ ।

– तयारी कक्षाहरु लिँदा पनि फाइदा हुन्छ । नमुना परीक्षाहरुमा सहभागी हुँदा परीक्षामा समय व्यवस्थापन गर्न अभ्यस्त भइन्छ ।

विषयगत प्रश्नहरुको तयारी कसरी गर्ने ?

– विषयवस्तुलाई व्यवस्थित भएर अध्ययन गर्नुपर्छ । विषयवस्तुको बारेमा गहन अध्ययनको जरुरी हुन्छ ।

– अर्थ र परिभाषा कलेक्सन गर्ने । आफुलाई बेस्ट लागेका एक, दुई वटा नोट गर्ने । सो विषयमा माफ्नौ मौलिक परिभाषा पनि तयार पार्ने । यसले गर्दा परीक्षामा कुनै पनि प्रश्नको पहिलो अनुच्छेदमा के लेख्ने भनेर कहिल्यै अलमलिनु पर्दैन । कुनै पनि विषयवस्तुको परिभाषा र अर्थ राम्रोसँग बुझिएको छ भने बाँकी विषयको बारेमा धेरै जानकारी नहुँदा पनि प्रश्नको हल गर्न सक्ने अवस्थामा पुग्न सकिन्छ ।

– कुनै विषयको वर्तमान अवस्था, त्यसका सबल र दुर्बल पक्षहरुको विश्लेषण गर्ने । सूची तयार पार्ने ।

– कुनै विषयको महत्व, विशेषता, उदेश्यहरुको विश्लेषण गर्ने । यी विषयहरु देख्दा उस्तै देखिन्छन् तर उत्तर लेख्दा वाक्य गठनमा भने ख्याल गर्नुपर्दछ ।

– राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यवस्थाहरु, अवसरहरु, समस्याहरु, चुनौतीहरु, समाधानका प्रयासहरु र समाधानका उपायहरुको विश्लेषण गर्ने । यी आधारहरु नै अध्ययनको मुख्य क्षेत्र हो ।

– यस्ता विषयको ज्ञानका लागि संविधान, ऐन, नियमावली, सरकारका नीतिहरु, सरकारका आवधिक योजनाहरु, सरकारका नीति तथा कार्यक्रमहरु, वार्षिक बजेट तथा विभिन्न आधिकारीक बुलेटिनहरु सम्भव भएसम्म पढ्नुपर्छ ।

– समसामयिक ज्ञानको लागि नियमित रुपमा सम्बन्धित पत्रपत्रिकाहरु पढ्नु राम्रो हुन्छ । पत्रपत्रिका पढ्दा सम्पादकीय अंशका वाक्य गठन, विश्लेषणको ढाँचा र तार्किक पक्ष पनि हेर्न सकिन्छ ।

– तयारी कक्षाहरु लिँदा तयारीमा थप मद्धत पुग्छ । परीक्षामा आधारित भएर प्रश्नका उत्तरहरु लेख्दै पढ्दै गर्नु राम्रो हुन्छ । आफूले लेखेका उत्तर गुरुहरु तथा सिनियरहरुलाई देखाउने र फिडब्याक लिँदा तयारीमा थप निखार आउँछ । यसरी तयारी गर्दा निर्धारित समयमा कति लेख्न सकिन्छ सोही ढाँचामा रहेर तयारी गर्दा राम्रो हुन्छ ।

विषयगत प्रश्नहरुको हल कसरी गर्ने ?

–विषयवस्तुको परिचय के हो ? परिभाषा कसरी अरुभन्दा फरक र सिर्जनात्मक तरिकाले लेख्न सकिन्छ भन्ने तर्फ सोच्नुपर्छ ।

–उत्तरलाई एउटा ढाँचामा ढाल्नुपर्छ । आफूलाई पर्याप्त ज्ञान नभएको विषयबाट प्रश्न आउँदा पनि ढाँचाको आधारमा केहीलेख्न सकियोस् । कुनै प्रश्न हल नै नगरी छोड्नु नपरोस् ।

– उत्तरको ढाँचालाई परिचय खण्ड, मुख्य खण्ड र निस्कर्ष गरी तीन भागमा बाँड्न सकिन्छ ।

– परिचय खण्ड छोटो, आधिकारिक र मौलिक हुनुपर्छ । जस्तै, सूचनाको हक भनेको के हो भनेर लेख्नुपर्ने भयो भने सर्वप्रथम आफ्नो परिभाषा लेख्ने । दोस्रो संविधानले कसरी परिभाषा गरेको छ लेख्ने । तेस्रो नम्बरमा सूचनाको हक सम्बन्धी ऐनले कसरी उल्लेख गरेको छ लेख्ने । यसरी परिभाषा लेख्दा आफ्नो मौलिकताको साथसाथ आधिकारिकता पनि झल्किन्छ ।

– मुख्य खण्डमा प्रश्नले के मागेको छ सो विषयमा केन्द्रित हुनुपर्छ । जसलाई बुलेटमा लेख्नु उपयुक्त हुन्छ ।

– लेखाई एउटा संरचनामा हुनुपर्छ । जस्तै नेपालमा कुनै मामिला संवोधनको लागि के व्यवस्था छ भनेर प्रश्न सोधियो भने, संविधानमा के छ ?, कानूनी प्रबन्ध कस्तो छ ?, नीतिहरु के कस्ता छन् ? संस्थागत प्रबन्धहरु के कस्तो छ ?, आवधिक योजनामा कसरी समेटिएको छ ?, बार्षिक बजेटले के व्यवस्था गरेको छ ?, कार्यक्रमहरु के–कस्ता छन् ? जस्ता विषयहरु समेट्दा राम्रो हुन्छ ।

– वाक्यहरु छोटा बनाउनु उपयुक्त हुन्छ । बुलेटमा लेख्दा पनि सकेसम्म पूर्ण वाक्य लेख्दा राम्रो मानिन्छ ।

– धेरै शब्द मात्र थुपारेर भद्धा बनाउनु भन्दा सरल वाक्यहरु नै उपयुक्त हुन्छन् ।

– निष्कर्षमा आफ्नो मौलिक तर्क राख्ने । मुख्य अंशको विषयलाई टेकेर निष्कर्ष लेख्ने तर त्यसको सारांश भने लेख्ने होइन ।

– अक्षर सकेसम्म सफा र बुझिने हुनुपर्छ । धेरै लामो उत्तर लेख्नु पनि पर्दैन । समय छुट्याएर कति अंकभारको प्रश्नलाई कति समयसम्म लेख्ने भनेर पूर्वयोजना बनाउनुपर्छ । जसले गर्दा कुनै पनि प्रश्न छुट्दैन ।

– परीक्षामा आत्मविश्वासका साथ उपस्थित हुँदा जानेको विषय सजिलै लेख्न सकिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्