‘आलाेपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्छ’ : सांसद पोखरेल

लाेकपाटी न्यूज

काठमाडाैं, ६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले पार्टी अध्यक्षद्धयबीच आलाेपालो प्रधानमन्त्रीको सहमति भएको भए कार्यान्वयन हुनुपर्ने बताएका छन् । आज शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको उक्त सहमति पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले भने “उहाँहरुबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमतिको कुरा हाम्रो तहसम्म आइपुगेको छैन । यदि साँच्चिकै हो भने सहमतिको कार्यान्वयन हुनुपर्छ ।”

वर्तमान सरकार पूर्ण सफल भएको दाबी गर्दै सांसद पोखेरेलले अझै पनि आफूहरुको काँधमा धेरै जिम्मेवारीहरु रहेको बताए । उनले सबै जिम्मेवारीहरु बहन गर्दै यहाँ सम्मका यात्रामा आईपुगेको पनि बताए । सांसद पोखरेलले भने,  ‘सरकारले पहिलो वर्ष आधार वर्ष बनायो । अब समृद्धिको यात्रा तय भइसकेको छ । सरकारले समृद्धि हासिल गर्छ । यो समृद्धिको यात्रामा हामी सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहान्छौँ ।’

सरकारले ल्याएका विधेयकहरु आवश्यक रहेको कारणले नै अगाडि बढाएको बताए । उनले गुठी विधेयक पनि परिस्कृत गर्दै अघि बढ्ने विश्वास दिलाए । उनले केही दिन अघि कांग्रेसले संसद अवरोध गरेको घटनालाई पनि खेद जनक भएको टिप्पणी गरे । उनले प्रधानमन्त्री भन्दा अघि बोल्न पाउनुपर्छ भनेर संसद अवरोध गर्नु उचित नभएको बताए ।