प्रहरीद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, ६ असार । प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईको प्रमूख आतिथ्यमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत विपद व्यवस्थापन महाशाखा सामाखुशीमा शुक्रबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त महाशाखा र काठमाडौं महानगरपालिका–३ को सहकार्यमा महाशाखामा आयोजित कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक राईले रक्तदान नै जीवन दान भएको चर्चा गर्दै यस कार्यलाई मानव जीवनका लागि अत्यन्तै मानवीय र परोपकारी तथा सकारात्मक रुपमा लिनुपर्ने बताए।

प्रहरी अतिरिक्त महानिरीक्षक राईले विपद आइपरेका बेला उद्दार कार्य मात्रै होइन रगत अभाव भएको अवस्थामा प्रहरीले रगत समेत उपलब्ध गराई समाज सेवा गर्दै आएको उल्लेख गरे। स्थानीयबासी र विभिन्न विद्यालय सहितको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरी आवश्यक रगत संकलन कार्यलाई निरन्तरता दिनुपर्ने समेत उनले बताए।

कार्यक्रममा उक्त महाशाखाका प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप कुमार चौधरीले स्वागत मन्तव्य तथा कार्यक्रमबारे प्रकाश पार्दै विपदको बेलामा प्रहरीले उद्दार गर्नुका साथै साझेदारी कार्यक्रम अन्तर्गत समाजमा सचेतनामूलक कार्यक्रम अगाडि बढाउँदै आएको बताए ।

सो अवसरमा काठमाडौं महानगरपालिका–३ का वडाअध्यक्ष दिपक केसीले प्रहरी र स्थानीय सरोकारवाला निकायको समन्वय र सहाकार्यबाट समाजमा आइपर्ने विपदको व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताए। रक्तदान कार्यक्रममा प्रहरी कर्मचारी तथा स्थानीयबासी समेत गरी ९० जनाले रक्तदान गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्