काठमाडौं, ६ असार । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले आफ्ना पूर्व अध्यक्ष एवं पूर्व शिक्षा मन्त्री स्वर्गीय धनिराम पौडेलको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ।
पूर्व मन्त्री पौडेलको गत जेठ ३१ गते चितवनको माडी स्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको थियो।शुक्रबार राजधानीमा अनेरास्ववियू केन्द्रीय कमिटीद्वारा आयोजित श्रद्धाञ्जली सभामा नेकपा नेता योगेश भट्टराईले धनिराम पौडेलको निधनले पार्टी र आन्दोलनलाई अपूरणीय क्षति भएको बताए।
विद्यार्थी आन्दोलनमा सँगसँगै सहकार्य गरेको स्मरण गर्दै भट्टराईले भने ‘ उहाँको निधनले पार्टीले एउटा असाध्यै निष्ठावान, इमान्दार र वर्गप्रति दृढ नेता गुमाएको छ।’ यस्तै, श्रद्धाञ्जली सभामा नेकपाका अर्का नेता लिलामणी पोखरेलले अवसर पाएर पनि वेइमान नवनेको एउटा असल क्रान्तिकारी योद्धा भएको वताए।
नेता पोखरेलले भने ‘ उहाँ एक असाध्यै अध्ययनशील, क्षमतावान र कर्मठ नेताको रुपमा विकास भइरहनु भएको थियोे।’ कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी ) का पूर्व अध्यक्ष रमेश मल्लले स्वर्गीय पौडेल निष्ठा र इमानको पर्याय भएको वताए। अनेरास्ववियू संयोजक ऐन महरले पौडेल नेपालको सार्वजनिक शिक्षा रुपान्तरणको अग्लो अभियन्ता भएको स्मरण गरे। कार्यक्रममा अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले स्वर्गीय पौडेलको जन्मदेखि मृत्युुसम्मका विविध पक्षकाबारेमा प्रकाश पारेका थिए।



लाेकपाटी न्यूज

