भाषिक अपशरण उन्मुख मेरो गाउँ

Bhim Gautam
एक त मान्छेहरु शहर पस्ने क्रम बढेको छ, अर्कोतिर सामुदायिक र सरकारी विद्यालयहरुमा अभिभावकहरुले आफना सन्तानहरुको भविष्य देख्न छोडेका छन्। एकातिर बाटो, बिजुली, सञ्चार आदिको विकासबाट गाउँले काँचुली फेरेजस्तो लाग्छ भने अर्कोतिर संस्कार, संस्कृति, भाषा, रितिरिवाज र सहयोगीपन गुमेको देख्दा हाम्रो आधुनिकताले हामीलाई कहाँ पुर्‍याउने हो भन्ने चिन्ता लागेर आउँछ।
लाेकपाटी न्यूज

– भीम गौतम

तपाईंको नम्मरै रहेन्च क्या ! फुन गर्ने भनेको सेफै गर्नै बिर्सेचु !

यो वाक्यांश केही समय अगाडि म मेरो जन्मथलो पर्वत राम्जा गएर फर्किदा स्थानीय जीपमा मालसामान ओसार्ने जीप मालिक (बंगाली बाजे) लाई एउटी महिलाले भनेको हो। अरु धेरै कुरा विश्लेषण गर्न नसके पनि एउटा भाषाविद्को नाताले हाम्रो गाउँघरमा पनि भाषा कसरी अपशरण भइरहेको छ भन्ने कुरो सजिलै अनुमान गर्न सकिन्छ।

गाउँघरमा प्रयोग हुने बोलीचालीको भाषा, जसलाई हामी भाषिकाको रुपमा चिन्ने गर्दछौं, आजभोलि दिनप्रतिदिन विभिन्न कारणले परिवर्तित भइरहेको पाइन्छ। विशेष गरी यातायातको विकास, मानिसहरुको आवतजावत, शिक्षा, सञ्चार तथा युवा पुस्तामा आएको परिवर्तनले स्थानीय भाषाहरु पनि दिनप्रतिदिन परिवर्तित भइरहेका छन्। अझ गाउँघरमा त सामाजिक सञ्जाल (फेसबुक) र मोवाइल फोनको प्रयोगले मान्छेहरु बढी उपभोगवादी हुन् थालेको भान हुन्छ। स्थानीय प्रयोगमा आउने भाषाले त्यस ठाउँको सभ्यता र संस्कृतिको वास्तविक पहिचान दिएको हुन्छ। आजभोलिको पुस्ताले यो अर्मुत संस्कार र संस्कृतिको महत्व नबुझनाले भाषालाई आफनो अनुकुल प्रयोग गरेको पाइन्छ। भाषा संस्कृतिमा चाख राख्नेहरुले यस्ता कुरामा ध्यान पुर्‍याउन सकिएन भने भोलिको पुस्ताले हाम्रो पहिचान संस्कृतिलाई हेर्न पनि पाउने छैन।

मेरो जन्मस्थल राम्जा (मोदी–७, पर्वत) खासगरी गुरुङ, बाहुन, क्षेत्री, मगर र दलित समूहको बासस्थान भएको ठाउँ हो। राम्जाको माथिल्लो बेल्टमा गुरुङहरुको वासस्थान भएपनि तल्लो बेल्ट (बेंशी) तिर बाहुन, क्षेत्रीहरुको बसोबास छ। केही मगर समुदाय र दलित बस्तीहरु छरिएर रहेको यो सुन्दर ठाउँमा म वर्षको २–३ पटक पुग्छु, गाउँ बस्तीमा घुम्नु, मान्छेहरु बोलेको रमाएको, झगडा गरेको सुन्छु, अनि सोच्छु, हामी कतातिर जाँदैछौं। जीपवाला बंगाली दाइ विशेष गरी गृहणी महिलाहरुमा निकै लोकप्रिय रहेछन्, कारण उनको हसाउने बानी, सहयोगी मन र गाउँले पारामा बोल्ने तरीका ।

लगभग १ घण्टाको मेरो उनीसँगको जीप यात्रामा उनले मलाई राम्जा ठाँटी, छापा, चुत्रेनी डाँडा, खोरखोरे, जिमिरे, ओढारे, पकुवा हुँदै दोबिल्ला पुर्‍याए। बाटोमा केही ग्यास सिलिण्डर, कोही घर निर्माण गर्ने ज्यामी, जोसित होस्, उत्ति नै हँसिलो पाराले बोल्ने उनको व्यवहारले म काठमाडौं हिडेको मान्छेमा कुनै चिन्ता थिएन। राम्जा क्षेत्र पहिलेदेखि नै नेपाली भाषाको पर्वते भाषिका बोलिने क्षेत्र हो। पहिला पहिला गुरुङहरुको बाहुल्यता हुँदा हामी पनि अलिअलि गुरुङ भाषा बोल्ने गर्थ्यौं। तर, सबै लगभग ९५ प्रतिशत गुरुङहरु पोखरा, काठमाडौं, हङ्कङ् र बेलायतमा बसाई सरिसकेका छन्। आजभोलि स्थानीय पशुपति माध्यमिक विद्यालयमा गुरुङ विद्यार्थी खोज्नुपर्ने देखिन्छ।

एक त मान्छेहरु शहर पस्ने क्रम बढेको छ, अर्कोतिर सामुदायिक र सरकारी विद्यालयहरुमा अभिभावकहरुले आफना सन्तानहरुको भविष्य देख्न छोडेका छन्। एकातिर बाटो, बिजुली, सञ्चार आदिको विकासबाट गाउँले काँचुली फेरेजस्तो लाग्छ भने अर्कोतिर संस्कार, संस्कृति, भाषा, रितिरिवाज र सहयोगीपन गुमेको देख्दा हाम्रो आधुनिकताले हामीलाई कहाँ पुर्‍याउने हो भन्ने चिन्ता लागेर आउँछ। यात्राको क्रममा थाहा भयो बंगाली दाइ र उनको छोरा मिलेर गाउँमा एउटा बस र एउटा जीप चलाएका रहेछन्। पोखरामा घडेरी भए पनि उनको गाउँमै घर बनाएर बस्ने, सकेसम्म गाउँमै सेवा गर्ने, यतैको आटोपिठो खाने कुरा सुन्दा म पनि सेवा निवृत्त भएपछि आफ्नै राम्जामा जान्छु कि भन्ने सोच पलाएर आयो।

मलाई राम्ररी नचिनेकाले खासै केही नभने पनि भर्खर गाउँ र पोखरा गर्दै बसाई सर्न थालेका केही महिलाहरुलाई अब पोखरा बसेपछि यहाँको के मतलव गर्नुप¥यो भनेर छेड हान्दै थिए। जिमिरे गाउँको खेतमा उनले गाउँलेका सामानहरु झारे र सबैलाई बोलाए। पैसा दिनेको पैसा लिएर नदिनेको अर्कोपल्ट दिनु भनेर हिंडें। मैले बाटोमा हजुरले यी गाउँलेहरु सबै चिन्नुहुन्छ ? खोइ त डायरी भनेर सोधें। तर, उनी सबै कुरा नलेखी रेकर्ड राख्दा रहेछन्। अब अलि उमेर भयो एउटा डायरीमा लेख्ने गर्नुस् भनें। उनले यसलाई सकारात्मक रुपमा लिए।

बाटोमा एउटी महिला दौड्दै आइन् र भनिन्, ‘मलाई ५ किलो आटा, १ दर्जन साबुन र १ पेटी तेल ल्याइदिनुहोला।’ बंगाली दाइले फोन गरे पनि हुन्छ भन्दा उनले माथिको वाक्यांश बोलिन्। यो वाक्यांश सुन्दा मलाई अमेरिकन इण्डियन कवि रे योङ्ग वियरको हजुर आमा भन्ने कविताको याद आयो, जहाँ उनले आफ्नी हजुर आमालाई कलेजी रंगको स्कर्ट र हातमा प्लाष्टिकको सपिङ्ग ब्याग बोकेकी भनेर चित्रण गर्दछन्।

‘नम्वरै रइन्च फुन गर्ने भनेको सेफै गर्न बिर्सेचु’मा पनि त्यो पर्वते भाषिकामा आधुनिकताले ल्याएको मोवाइल फोनमा नम्वर सञ्चय गर्न बिर्सेको कुरामा हाम्रो नयाँ र पुरानो पुस्तामा आएको परिवर्तन, भाषा र बोलीचालीमा यसको प्रभाव सजिलै अनुमान गर्न सकिन्छ। आशा गरौं, भाषा र बोलीचलीमा परिवर्तन र अपशरणबाट पनि हाम्रो आफनो परिवेश, रहनसहन, सामाजिकीकरण र संस्कृतिमा परिवर्तन आउने छैन र नयाँ पुस्ताले सहज रुपमा पुरानो पुस्ताले स्थापित गरेको परम्परालाई आत्मसात गर्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्