– खगेन्द्र छन्त्याल
कार्यदिशा विविध हुन सक्छन्। देश, काल र परिस्थितिअनुसार क्रान्ति सम्पन्न गर्नका निम्ति क्रान्तिकारी पार्टीले आफ्नै विशिस्ष्टतामा विभिन्न काल खण्डमा विभिन्न कार्यदिशा अबलम्बन गर्न सक्छन्। रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गर्नका निम्ति रुसी बोल्सेविक पार्टीले त्यहाँको विशिष्टतामा अल्पकालीन सशस्त्र जनविद्रोहको कार्यदिशा अबलम्बन गरेको थियो। चिनियाँ क्रान्ति सम्पन्न गर्नका लागि चीनको क्रान्तिकारी पार्टीले त्यहाँको विशिष्टतामा दीर्घकालीन सशस्त्र जनयुद्धको कार्यदिशा अबलम्बन गरेको थियो।
अल्पकालीन सशस्त्र जनविद्रोहमा पर्याप्त शक्ति सञ्चय गरेर पहिले केन्द्रिय सत्तामाथि धावा बोलिन्छ वा त्यसलाई कब्जा गरिन्छ। तत्पश्चात् स्थानीय सत्ता कब्जा हुन्छन्। दीर्घकालिन सशस्त्र जनयुद्धमा ग्रामीण क्षेत्रमा छापामार युद्धद्वारा आधार इलाका निर्माण गर्दै पहिले गाउँ कब्जा गरेर गाउँले सहर घेरेर अन्त्यमा प्रतिक्रियावादीको केन्द्रिय सत्ता कब्जा गरिन्छ। दीर्घकालिन जनयुद्धमा गाउँका शोषक, सामन्त, जाली फटाह र तिनका मतियारहरुका गर्धन सुरू सुरुमा जनकारवाहीका निशाना बन्दछन्। सशस्त्र जनविद्रोहमा सहरका काला पुँजीपति, दलाल, तस्कर ,भ्रष्ट र तिनका एजेन्टका साथै सीआइडीका ठूल्ठूला भुँडीहरु सुरूसुरुमा जनकार्वाहीका निशानामा पर्दछन्।
नेपाल अर्धसामती, अर्धऔपनिवेशिक र नवऔपनिवेशिक अवस्थाबीच गुज्रिरहेको कुरा जगजाहेर नै छ। देशलाई यो अवस्थाबाट मुक्त गर्नका निम्ति नयाँ जनवादी क्रान्ति आजको आवश्यकता हो। नयाँ जनवादी क्रान्ति एक प्रकारको पुँजीवादी क्रान्ति नै हो। चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न हुनुअगावै संसारका हरेक पुँजीवादी क्रान्तिको नेतृत्व पुँजीपति वर्गले गर्दथ्यो र त्यो क्रान्तिको लाभ पनि पुँजीपति वर्गले नै लिने गर्दथ्यो। तर, चिनियाँ नयाँ ढंगको पुँजीवादी क्रान्तिको नेतृत्व सर्वहारा वर्गले गर्यो र त्यसको लाभ पनि सर्वहारावर्गले नै लियो। चल्दै आएको पुरानो र परम्परागत प्रकारको पुँजीवादी क्रान्तिमा क्रमभंग भयो। अतः त्यस प्रकारको नया ढंगको पुँजीवादी क्रान्तिको नाम नयाँ जनवादी (पुँजीवादी) क्रान्ति नामाकरण गरियो।
‘नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोह’ नै नेपालको नयाँ जनवादी क्रान्तिको निम्ति आजको सही कार्यदिशा हो। यसमा दुईमत छैन। नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहमा गाउँ र सहरका कामलाई उचित र न्यायिक ढंगले समायोजन गरिन्छ। त्यसमा सहरलाई अग्र भाग र गाउँलाई आधार भाग मानिन्छ। आधार भागलाई अत्यन्तै महत्वपूर्ण मान्दामान्दै पनि अग्रभागलाई विशेष महत्व दिइन्छ। सबै हिसावले पुरानो सत्ताको मुख्य शक्ति र अन्तिम सास सहरमा नै केन्द्रित रहेको र त्यहीनेर जबर्जस्त धावा बोलेर सर्वहारा वर्गले आफ्नो राज्यसत्ता स्थापना गर्नुपर्ने भएको कारण त्यो स्वभाविक, जायज र आवश्यक पनि हो। तसर्थ, सशस्त्र जनविद्रोहको कार्यदिशा भनेको मेरो शब्दमा सहरमुखी (शहर केन्द्रित) कार्यदिशा नै हो।
सहरमुखी कार्यदिशामा सहर विशेष ढंगले परिचालित र तरंगित हुनैपर्दछ। पेरिस सहर नतातेको भए पेरिस कम्युन स्थापनाको सम्भव थिएन। मस्को सहर नजागेको भए अक्टोबर सशस्त्र बिद्रोह सम्भव थिएन। पेरिस विद्रोह (पेरिस कम्युन) को पक्षमा पेरिस सहर उभिएझैँ, अक्टोबर क्रान्तिको पक्षमा मस्को सहर उभिएझैँ नेपालको सशस्त्र जनविद्रोहको पक्षमा काठमाडौं सहर ठिङ्ग उभिनु पर्दछ। सहरका हरेक नेता, कार्यकर्ता जनविद्रोहका प्रत्येक रातमा जागाराम बस्नुपर्दछ।
क्रान्तिको आवश्यकतामा उच्च प्रकारको त्याग र बलिदानको निम्ति सहरका सबै नेता, कार्यकर्ता तम्तयार हुनै पर्दछ। लावालस्कर लाग्नैपर्दछ। क्रान्तिकारीका निम्ति त्याग र बलिदान एउटा अवसर हो। क्रान्तिको आवश्यकतामा क्रान्तिकारीमध्ये थोरैले मात्र त्यस प्रकारका अवसर प्राप्त गर्दछन्। उच्च प्रकारका साहस, सौर्य, क्षमता, क्रियाशीलता र इमान्दारिताको आधारमा क्रान्तिकारीलाई त्यो खालको अवसर प्राप्त हुन्छन्।
हिजो तत्कालिन विशिष्टतामा दीर्घकालिन जनयुद्धको कार्यदिशामा गाउँ अग्रभाग र सहर आधारभाग थियो। त्यो अवस्थामा रोल्पा, रुकुम, गोर्खा, सिन्धुली, जाजरकोट, सल्यान लगायतका जिल्ला जनयुद्धका अग्रभागमा थिए र सोहीनुसार त्यहाँका नेता, कार्यकर्ता क्रियाशील थिए। त्याग, बलिदानका साथै क्रियाशीलता र क्षमताका आधारमा विविध अवसरहरु पनि त्यहीका नेता, कार्यकर्ता, जनताले बढता पाए।
वासु, सुनिल, परिवर्तन, जित, बहुबीर जस्ता नेता कार्यकर्ताको एउटा ठूलो टिमले उच्च सहादत प्राप्त गर्ने अवसर गाउँमै पायो। हाल विभिन्न उतारचढाव, भड्काव, बिचलन र बिसर्जनको शिकार भएता पनि विप्लव, प्रकाण्ड, पासाङ, प्रभाकर, अनन्त, बलदेव जस्ता थुप्रै नेता गाउँमै उत्पादन भए। आजको विशिष्टतामा सशस्त्र जनविद्रोह गर्दा अवश्य पनि सहर अग्रभाग र गाउँ आधारभागमा हुन जानु स्वभाविक हो।
यो अवस्थामा काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, बिराटनगर, वीरगञ्ज लगायतका सहरहरु क्रान्तिका केन्द्र बन्नेछन्। त्यसमध्ये पनि प्रतिक्रियावादी पुरानो सत्ताको सबै शक्ति केन्द्रित भएको हुँदा निर्णायक लडाइँ लड्नुपर्ने ठाउँ हुनुको कारण काठमाडौँ सहर क्रान्तिको विशेष केन्द्र बन्नेकुरा सुनिश्चित छ। यो अवस्थामा त्याग, बलिदानका साथै पार्टी र क्रान्तिका विविध अवसरहरु सहरको नेता, कार्यकर्ता र जनतालाई बढी प्राप्त हुनेछन्।
अवश्य त्यसमध्ये पनि काठमाडौँलाई अझ बढी प्राप्त हुनेछन्। क्रान्तिको आवश्यकतामा सहरका नेता, कार्यकर्तालाई बासु, सुनिल, परिवर्तन जीत, बहुवीर बन्ने मात्र होइन, तत्कालिन विप्लव, प्रकाण्ड, पासाङ, प्रभाकर, अनन्त, बलदेव बन्ने अवसर पनि प्राप्त हुनेछन्। त्यो अवसरलाई सही ढंगले सदुपयोग गर्न सहरका नेता, कार्यकर्ता चतुर हुनैपर्दछ।
अर्कोतिर, हिजो गाउँ अग्रभागमा हुँदा पार्टीले गाउँको भूमिकाको उच्च महत्वबोध गर्दै त्यही ढंगले गाउँको मूल्याङ्कन गर्दथ्यो। गाउँका नेता, कार्यकर्तालाई सोहीअनुरूप उत्प्रेरित गर्दथ्यो। ठीक त्यसरी नै आज सहर अग्रभागमा हुँदा सहरको भूमिकालाई पार्टीले नजर अन्दाज गर्दैन, गर्नु हुँदैन। सहरका क्रियाशील र क्षमतावान् नेता, कार्यकर्ताको उचित मूल्याङ्कन तथा उनीहरुलाई थप उत्प्रेरित गर्ने, विचारमा विकसित गर्ने र उर्जाशील बनाउने कार्यमा पार्टी चुक्दैन, चुक्नु हुँदैन।
यसमा सहर ढुक्क छ। माथि उल्लेख गरिएका नामहरु स्वतः स्थापित भएका होइनन्, त्यसको पछाडि पार्टीको महत्वपूर्ण भूमिका छ। त्यसरी नै आजको आन्दोलनमा, क्रान्तिमा नयाँ नाम जो क्षमता, क्रियाशीलता र कार्यकुशलताको तराजुमा लाल र दक्ष प्रमाणित छन्, तिनलाई स्थापित गराउनका निम्ति पार्टी प्रतिबद्ध छ र हुनुपर्दछ। हिजो पेरिसका जनताको जायज विद्रोहको पक्षमा पेरिस उभियो, रुसी जनताको जायज विद्रोहको पक्षमा मस्को उभियो, त्यो महान् कार्यको मूल्यांकन उच्च ढंगले भयो। त्यस्तै आज नेपाली जनताले गर्ने जायज जनविद्रोहको पक्षमा काठमाडौँ लगायत अन्य सहरहरु उभिँदा ती सहरहरुको मूल्याङ्कन उच्च हुने कुरामा काठमाडौँ ढुक्क छ।
यसको मतलव हिजो दीर्घकालिन जनयुद्धको कार्यदिशामा सहरको भूमिका नै थिएन र त्यतिबेला त्यही ढंगको मूल्याङ्कन भएको थियो भन्ने होइन। त्यस्तै आज जनविद्रोहको कार्यदिशामा गाउँको कुनै भूमिका नै छैन र त्यसको त्यही ढगले मूल्याङ्कन गरिनुपर्दछ भन्ने पनि होइन। कुनै पनि चीजको जग (आधार) अत्यन्तै महत्वपूर्ण हुन्छ। भर्भराउँदो जगबिना हरेक चीजको विकास असम्भव हुन्छ।
हिजो दीर्घकालीन जनयुद्धको कार्यदिशामा सहर आधारभाग हुँदा सहरमा पनि ठुल्ठुला त्याग, बलिदान, वीरता, साहस र सौर्यहरु प्रदर्शन भएका थिए। त्यसले दीर्घकालिन जनयुद्धको कार्यदिशामा अत्यन्तै ठूलो महत्व राखेको थियो र पार्टीले त्यही ढंगको मूल्याङ्कन गरेको थियो। आज सशस्त्र जनविद्रोहको कार्यदिशामा गाउँ आधार भाग हो। गाउँमा जनविद्रोहको जग (आधार) बलियो बनेन भने सहरमा जनविद्रोहको धमाका फितलो हुन्छ। तसर्थ, पार्टीले सशस्त्र जनविद्रोहका निम्ति सहरलाई विशेष महत्व दिँदै गाउँलाई विशेष प्राथमिकतामा राख्नुपर्ने हुन्छ, त्यही ढंगको मूल्याङ्कन गरिनुपर्दछ।
सारतः हिजो गाउँमुखी कार्यदिशामा क्रियाशीलता, त्याग, बलिदान लगायत अन्य विविध कोटाहरु गाउँलाई बढी पर्दथ्यो र क्रान्तिका निम्ति गाउँले नै त्यो कोटा चुक्ता गर्दथ्यो र सोहीनुसार गाउँको मूल्याङ्कन हुन्थ्यो। त्यसैगरी आजको सहरमुखी कार्यदिशामा क्रियाशीलता, त्याग, बलिदानलगायत अन्य विविध कोटाहरु सहरको भागमा नै बढी पर्नु र उक्तकोटा चुक्ता गर्न शहर तत्पर हुनु अत्यन्तै स्वभाविक हो। ठीक त्यसरी नै सहरको भूमिकाको महत्ववोध गर्नु र मूल्याङ्कन हुनु आजको खास आवश्यकता हो।



लाेकपाटी न्यूज

