क्रिकेट रङ्गशालाकाे निर्माण सुचारु गर्न छलफल

cricket stedium
लाेकपाटी न्यूज

चितवन, ४ असार । चितवनमा क्रिकेट रंगशाला निर्माण सुरु गर्न छलफल भएको ।अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु गर्न बुधबार चितवनमा छलफल भएको हो।

जिल्लास्तरीय सहयोग समितिको बैठकले निर्माणलाई गति दिन स्थानीयस्तरमा सहयोग समिति र जिल्लामा आर्थिक उपसमिति गठन गर्नेबारे छलफल गरेको जिल्लास्तरीय सहयोग समितिका संयोजक कृष्ण डल्लाकोटीले जानकारी दिए।आगामी असार ७ गते रंगशाला निर्माणका लागि नीजि क्षेत्रको नेतृत्वमा सहयोग समिति गठन गर्ने तयारी भइरहेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिइन्।

सहयोग समितिको सचिवालय बैंठक ७ गते बस्ने र सोही बैठकले आर्थिक उपसमिति गठन गरेर आर्थिक संकलन र निर्माणको वातावरण तयार गरिने मेयर दाहालले बताइन्।‘विगतमा काम सुस्त जस्तो देखिए पनि जिल्लाभरी नै अभियानका रुपमा अघि बढाउँछौं’ मेयर रेनु दाहालले भनिन्, ‘निर्माणमा कहाँ कहाँ समस्याहरु छन् त्यसलाई समाधान गरेर अघि बढ्ने काम गरिरहेका छौं, अब कामले गति लिन्छ।’

भरतपुर महानगरपालिकाका बोर्ड सदस्यहरुले एक महिनाको तलब रंगशाला निर्माणमा दिने घोषणा गरिसकेका छन् भने, महानगरपालिकाभरिका कर्मचारीसँग रकम संकलन गर्न महानगरका प्रशासकीय अधिकृत नेत्र सुवेदीले नेतृत्व गरिरहेका छन्। प्रमूख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लाभरीका सरकारी कर्मचारीहरुबाट आर्थिक सहयोग जुटाउने कामको नेतृत्व गरिरहेको मेयर दाहालले जानकारी दिइन्।

गत असार १५ गते निर्माणाधीन क्रिकेट रंगशालाको पश्चिमतिरको बार भत्काई दिएपछि रंगशाला निर्माणको काम रोकिएको छ। निर्माणस्थल सुनसान छ भने, धुर्मस सुन्तली फाउण्डेशनको साइट कार्यालय पनि बन्द छ।रंगशालामा डोजर लगाएपछि स्थानीय प्रशासन, राजनीतिकर्मी, भरतपुर महानगरले बैठक नै बसेर काम पुनः सुरू गर्न आग्रह गरेका थिए।

तर, धुर्मुस–सुन्तली भने वातावरण धमिलिएको र घटनाले ठूलो चोट पुगेको बताउँदै आएका छन्। यद्यपी फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले निर्माणको काम अघि बढाउने बताउँदै आएका छन्। फिल्डमा काम रोकिए पनि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० निर्माणको काम जारी रहेको समेत उनले जानकारी दिए।निर्माण पुनः सुरू भएको सन्देश दिन घटनाको केही दिनपछि प्रहरी, जनप्रतिनिधि, केही स्थानीय, अभियन्ताहरुको सहभागितामा भत्काइएको बार उठाइएको थियो।

रंगशालामा डोजर लगाएका आरोपितहरु पनि जेठ २६ गते राति रिहा भएका छन्। उनीहरुले रंगशालाको बारमा डोजर लगाएकोमा सार्वजनिक रुपमा विज्ञप्ति जारी नै गरेर क्षमायाचना गरे। उनीहरुले भत्काएको बार आफैंले पुनर्निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्।

तर, प्रतिवद्धता अनुरुपको काम भने भएको छैन। रंगशाला निर्माणमा अन्यौलता आएको भन्दैं स्थानीयहरु चिन्तित भएका छन्। उनीहरुले धुर्मस सुन्तली फाउण्डेशनलाई पहिलाको जस्तैं हार्दिकपूर्ण स्वागत गर्ने बताएका छन्। अहिले रंगशाला निर्माणस्थलको सुरक्षाका लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरीसमेत खटाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्