काठमाडौं, ४ असार । सत्तारुढ नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन् । बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा बोल्दै शर्माले श्रम, उर्जा र भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा असन्तुष्टि जनाएका हुन् ।
श्रम सहकारी गठन होला, हजारौं युवाहरुलाई काम दिइएला, हरेक गाउँ आत्मनिर्भर बनाउँ भन्ने नारा आउला भन्ने सोचेकोमा त्यस्तो नभएको उनले बताए। उनले भने, ‘अहिले विदेशमा कहाँ के सम्झौता भयो भनेर छाति फुलाउने अवस्था छ । देशको शिर निहुरिएको छ, म दुःखी छु ।’ युवाहरुलाई विदेश पठाएर देशमा समृद्धि नआउने उनको भनाइ छ ।
सत्तारुढ सांसद भएकाले धन्यवाद भन्नु आफ्नो कर्तव्य भएको भन्दै उनले भने, ‘मन्त्रीज्यूलाई धन्यवाद ।’ उनले उर्जा मन्त्रालयको बजेटमा पनि असन्तुष्टि जनाए । आफ्नो नेतृत्वमा लोडसेडिङ भएको स्मरण गर्दै उनले भने, ‘त्यो गरे बापत मैले सजाय पाएँ । मेरो जिल्लाका जनताले मलाई भने, गत वर्ष त भुल भयो भनिस्, यो वर्ष के भयो ? फेरि अँध्यारोमा बस्नुपर्ने भयो, त्यसका लागि म मन्त्रीजीलाई धन्यवाद दिन चाहन्छु ।’
झण्डै २ करोड बजेट रहेको तर यसले नपुग्ने भन्दै उनले मिल्छ भने अर्को २ करोड थपिदिन आग्रह गरे । उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा तिखो टिप्पणी गरे । ‘२ ४० लेखेको छ । करोड हो कि लाख हो ?’ उनले अघि भने, ‘२ करोड ४० लाख भएपनि २ लाख ४० हजार भएपनि यो शीर्षक रुकुमबाट हटाइयोस् । रकमान्तर गरेर झापा हालियोस् । म सम्माननीय प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु ।’ यसले झापा मात्र भन्यो भनेर मन्त्रीलाई दुःख लागे थोरै बजेट जनकपुरमा लैजान उनले सुझाव दिए ।



लाेकपाटी न्यूज

