जापानमा गयो शक्तिशाली भूकम्प

Earthquack
लाेकपाटी न्यूज

टोकियो, ४ असार । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन्।

जापानको मौसम विज्ञान विभागले सुरुमा सुनामीको चेतावनी दिइए पनि परिस्थिति सहज बनेको जनाएको छ। समुद्रमा छालहरु एक मिटरभन्दा अग्ला देखिएका थिए। भूकम्प गएको अढाई घण्टापछि सुनामीको चेतावनी फिर्ता लिइएको थियो। जापानको राजधानी टोकियोबाट ३०० किलोमिटर उत्तरी निगातामा भूकम्पको केन्द्र रहेपनि भूकम्पको धक्का राजधानीमा पनि अनुभव गरिएको थियो।

प्रधानमन्त्री शिन्जो आबेले भूकम्पबाट पीडितको उद्धार र राहतका लागि सरकार पूर्ण सतर्क अवस्थामा रहेको बताउँदै ठूलै क्षमताको परकम्प आउने सम्भावनातर्फ विशेष चनाखो रहन नागरिकहरु समक्ष आह्वान गरेका छन्। टेलिभिजन र अनलाइनहरुमा निगाता समेतका स्थानमा घरहरु बेस्सरी हल्लिएका र घरभित्रका सामान छताछुल्ल भएका दृश्यहरु राखिएका छन्। भूकम्प गएको केही समय विद्युत आपूर्ति समेत बन्द गरिएको थियो। रासस \ एएफपी