विप्लव समूहको गतिविधी पूर्ण निस्तेज पार्नुहोस् : गृहमन्त्री बादल

Ram Bahadur thapa Badal
लाेकपाटी न्यूज

काठमाडौं, ४ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मंगलबार सातै प्रदेशका प्रहरी प्रमूखसँग विशेष छलफल गरेका छन्।

सातै प्रदेशका प्रहरी प्रमूखलाई मन्त्रालय डाकेर विशेष छलफल गरेका हुन्। करिव एक घण्टा भएको छलफलमा गृहमन्त्रीले विप्लवका गतिविधी सूक्ष्म निगरानी गरी पूर्ण निस्तेज पार्ने रणनीति बनाएर काम गर्न निर्देशन दिए। उनले शान्ति , सुरक्षा र जनतालाई प्रभावकारी सेवा प्रवाह हुने गरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्। उनले अवाञ्छित गतिविधिलाई पूर्ण नियन्त्रण हुने गरी काम गर्न निर्देशन दिए।

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टीलाई प्रतिबन्ध लगाएसँगै सरकार विप्लवप्रति आक्रमक बनिरहेको छ। गृहमन्त्री रामबहादुर थापा बादलको कडा निर्देशनपछि विप्लवका नेता तथा कार्यकर्ताहरुको धरपकड रोकिएको छैन।

साथै उनले प्रतिपक्षले साना साना बिषयहरु पनि उठाएर अवरोध गरिरहेकोभन्दै उनले सचेत रहन भने। उनले आफू सरकारी कर्मचारी हुँ भन्ने मात्रै नठानी जिम्मेवार नागरिक बन्न प्रदेश प्रहरी प्रमूखहरूलाई निर्देशन दिए। छलफलको क्रममा उनले भने “तस्करीका नयाँ रुट खुलेको सुनिन्छ र कतिपय ठाउँमा प्रहरी र तस्करको मिलेमतोका खबर पनि आउने गरेका छन्। सचेत भएर काम गर्नुस्।”

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्