काठमाडौं, २ असार। चलचित्र ‘प्रेमगीत–३’ मा राजेश हमाल पनि अभिनेताका रुपमा रहने छन्। ‘प्रेमगीत–३’ का लागि मुख्य कलाकार छनोटको काम चलिरहँदा पुरुष पात्र भने छनोट गरिसकेको हो। मुख्य अभिनेत्रीका लागि निर्माण पक्षले अडिसन लिएर उत्कृष्ठ २५ छनोट गरेका छन्। केही दिनमै अभिनेत्रीको पनि छनोट र घोषणा गरिने निर्माण पक्षले जनाएको छ।
महानायक हमाल चलचित्र सकुन्तलापछि सेतो पर्दामा देखिएका छैनन्। आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुनलागेको चलचित्रमा नव नायकका रुपमा मनिष राउतले डेब्यू गर्दैछन्। राउत फिल्म कलेजका विद्यार्थी हुन्। उनी कलेज अस्कर इन्टरनेश्नलमा अभिनय अध्ययन गरिरहेका छन्। निर्माण पक्षले केही दिन अगाडि उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिसकेको छ। पोस्टरमा राउत बन्दुक र बन्चरोसहित देखिएका छन्।
छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्न लागेको चलचित्रमा सन्तोष सेन स्वयम् पनि अभिनय गर्दैछन्। निर्मातासमेत रहेका सेन खलपात्रका रुपमा प्रस्तुत हुँदैछन्। चलचित्रको सिरिज–१ देखि नै रहेका प्रदीप खड्का सिरिज–३ मा पनि मुख्य भूमिकामा देखिनेछन्। प्रेम गिरी, पुस्कर कार्कीको पनि अभिनय रहने ‘प्रेमगीत ३’ चैत २८ गते प्रदर्शनमा आउने छ।



लाेकपाटी न्यूज

