समाजसँग भिजेर बसेका प्रहरीले अपराध अनुसन्धान गर्न सक्छ : महान्यायाधिवक्ता खरेल

agni prasad kharel01
लाेकपाटी न्यूज

काठमाडौं, २ असार । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले समाजसँग भिजेर बसेको प्रहरीले अपराधको सफल अनुसन्धान गर्न सक्ने बताएका छन्। महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा सोमबार आयोजित सिसिटिभि क्यामेरा उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा खरेलले यस्तो बताएका हुन्।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायिक विकास समिति, एकीकृत उपभोक्ता संघ एवं सुरक्षित नागरिक समाजको सहकार्यमा काठमाडौं महानगरपालिका–३२ सुविधानगरस्थित विभिन्न स्थानमा जडान गरिएका सिसिटिभि क्यामेराको महान्यायाधिवक्ता खरेलले उद्घाटन गर्नुका साथै उक्त सिसिटिभि क्यामेराको साँचो प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईलाई हस्तान्तरण समेत गरेका थिए।

कार्यक्रममा महान्यायाधिवक्ता खरेलले सिसिटिभि जडानमा सहयोग र्पुयाउने विभिन्न संघसंस्थालाई प्रशंसापत्र वितरण गर्दै सिसिटिभि मार्फत प्रहरीलाई अपराध अनुसन्धान गर्ने सहज हुने तथा सुरक्षित समाज निर्माणमा थप सहयोग हुने बताए।

अपराध र अपराधीहरु हाम्रै वरिपरि रहने हुनाले प्रहरीलाई अपराधको अनुसन्धान गर्ने क्रममा समुदायको सहयोगी भूमिका हुन जरुरी रहेको उनले बताए। कतिपय अपराधको अनुसन्धानमा अपराधी पत्ता लाग्न समय लागे पनि अधिकांश घटनाका अपराधी पत्ता लागि कानूनी दायरामा आएको समेत उनले उल्लेख गरे।

कार्यक्रममा पूर्व गृह सचिव डा. गोविन्द प्रसाद कुसुम, ३ नम्बर प्रदेश सभाका सांसद दिपेन्द्र श्रेष्ठ र कार्यक्रमका सभापति सामुदायिक विकास समिति सुविधानगरका अध्यक्ष सुमित्रा कडरियाले सुरक्षित समाज निर्माणमा सिसिटिभिको महत्वबारे आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरिक्षक ठूले राईले नेपाल प्रहरीले अंगिकार गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम विगतमा गरिएका कार्यक्रमहरुको अनुभवलाई माझेर परिष्कृत रुपमा आएको हुनाले यसले निरन्तरता पाउने चर्चा गर्दै यस्ता कार्यक्रममा सम्पूर्ण समुदायको पूर्ण विश्वास र सहयोग प्राप्त हुने अपेक्षा राखे।

जडान भएका सिसिटिभि क्यामेराले प्रहरीको काम कार्वाहीमा थप चुस्तता आउने बताउँदै उनले यस्ता प्रविधिको स्थापना गर्ने मात्र नभई निरन्तर मर्मत गर्दै कायम राखी त्यही अनुरुपको प्रहरी सेवा प्रदान गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए।

समारोहमा धन्यवाद व्यक्त गर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले राज्यको उपस्थिति प्रत्येक कुना र कन्दरामा हुन सक्दैन, समाज नियमित रुपमा र नियमसंगत रुपमा चल्नपर्छ भन्ने मान्यता रहेको हुनाले सिसिटिभि क्यामेराले त्यो मान्यतालाई परिपोषण गर्छ भन्ने विश्वास व्यक्त गरे।

निष्पक्ष न्याय सम्पादनको निम्ति सिसिटिभि क्यामेराको उल्लेखनीय महत्व रहेको बताउँदै प्रहरी नायव महानिरिक्षक क्षेत्रीले सिसिटिभि मार्फत २०७५ सालमा १६ हजार भन्दा बढी ट्राफिक नियम उल्लंघनमा संलग्नलाई कारवाही गरिएको, ९३ मुद्दामा हिट एण्ड रनमा नम्बर नखुलेका सवारी साधनहरु पछि पहिचान भएका तथा ४६ लुटपाटको घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको जानकारी समेत दिए।

समारोहमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले कार्यक्रम सम्बन्धि जानकारी दिँदै उक्त क्षेत्रमा कूल ३७ लाख ३५ हजार रुपैयाँको लागतमा हाल ५७ वटा सिसिटिभी जडान गरिएको र १७ वटा जडान गर्ने क्रममा रहेको जानकारी दिए।

कार्यक्रममा ३ नम्बर प्रदेश सभाका सांसद राजेन्द्र गुरूङ, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, प्रहरी बरिष्ठ उपरीक्षकहरु, सामुदायिक विकास समिति, एकिकृत उपभोक्ता संघ एवं सुरक्षित नागरिक समाजका पदाधिकारीहरु, स्थानीय पदाधिकारीहरु, वडा अध्यक्षहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, संचारकर्मीहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्