लोकसेवा : कसरी लिइन्छ परीक्षा, कसरी जाँचिन्छ उत्तरपुस्तिका ?

student writing loksewa
लाेकपाटी न्यूज

प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ गते लोक सेवा आयोगको स्थापना भएको हो। यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ।

नेपाल सरकारको वैधानिक कानुन, २००४ मा सरकारी नोकरीका लागि उम्मेदवारहरूको दरखास्त आएमा योग्यता वा ल्याकत जाँचबुझ गरी सरकारमा सिफारिस गर्न दरखास्त परिषद्को व्यवस्था भएको देखिए तापनि वि.सं. २००८ सालमा भएको प्रजातान्त्रिक व्यवस्थाको सुरूवातपछि लोक सेवा आयोगको खाँचो महसुस भयो। यसै क्रममा नेपालको अन्तरिम शासन विधान, २००७ को धारा ३७ मा व्यवस्था भए अनुसार वि.सं. २००८ असार १ गते नेपाल पब्लिक सर्भिस कमिसनको नामबाट विधिवत् रूपमा लोक सेवा आयोगको स्थापना भएको हो।

परीक्षा र उत्तरपुस्तिका जाँच

लोक सेवा आयोग कार्यविधि ऐनअनुसार आयोगले देहायको कुनै एक वा एकभन्दा बढी तरीकाद्वारा उपयुक्त उम्मेदवार छनौट गर्नेछ :

क) खुला प्रतियोगितात्मक लिखित परीक्षा,
ख) खुला प्रतियोगितात्मक प्रयोगात्मक परीक्षा,
ग) छनौट,
घ) अन्तर्वार्ता र
ङ) आयोगले तोकेका अन्य तरीकाहरु।

– उम्मेदवार छनौट प्रक्रियाको लागि आयोगले वार्षिक कार्यतालिका तयार गर्दछ। जसमा विभिन्न चरणमा हुने छनौट प्रक्रियाहरुको बिवरण समेत उल्लेख हुन्छ।

– सम्बन्धित निकायवाट रिक्त पद पूर्ति गर्न माग प्राप्त भए पछि लोक सेवा अयोगले सम्वन्धित ऐन नियम अनुसार पद पूर्तिको लागि संख्या निर्धारण गर्ने गरिन्छ।

– यसरी पदसंख्या निर्धारण भइसकेपछि आयोगको साप्ताहिक रुपमा प्रत्येक बुधवार प्रकाशित हुने बुलेटिन र गोरखापत्र राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशन गर्ने गर्दछ।

– विज्ञापन गर्दा २१ दिन र दोव्वर दस्तुरी तिरी थप ७ दिनको म्याद दिई दरखास्त आव्हान गरिन्छ। खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि विज्ञापन प्रकाशित भैसकेपछि आयोगका क्षेत्रीय निर्देशनालय, अञ्चल कार्यालय र काठमाडाैं उपत्यका दरखास्त संकलन केन्द्रमा विज्ञापित पदको दरखास्त लिइन्छ।

– राजपत्र अनंकित र राजपत्रांकित तृतीय श्रेणी (राजपत्र) को अप्राविधिक तर्फका पदहरुको लागि आयोगका कार्यालयहरु नभएको जिल्लाहरूमा, जिल्ला हुलाक कार्यालयहरुमा समेत दरखास्त बुझाउन पाउने व्यवस्था छ।

– तर, आयोगको केन्द्रीय कार्यालय र मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयमा दरखास्त बुझाउन सकिने व्यवस्था छैन। यसरी विज्ञापित पदका लागि प्राप्त भएका दरखास्त उपर छानविन गरी परीक्षार्थीलाई परीक्षामा सामेल हुन पाउने प्रवेश पत्र जारी गरिन्छ।

– छनौट प्रक्रियामा निष्पक्षता र शुद्धता कायम गर्नका लागि आयोगले प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका परीक्षण, अन्तर्वार्ता संचालन तथा लिखित परीक्षा र अन्तर्वार्तामा संलग्न पदाधिकारीलाई एक अर्काको काम कारवाहीका विषय थाहा पाउन नसक्ने प्रणाली अवलम्वन गरी तटस्थ राख्ने नीति अख्तियार गरेको छ।

– उक्त कार्यहरु सम्पादन गर्ने क्रममा सम्वन्धित सेवा समूह र पदको परीक्षा संचालनको लागि आवश्यक पर्ने प्रश्नपत्रहरु निर्माण गर्न सम्वन्धित विषयका दक्षलाई पठाइने र गोप्य शीलवन्दी रुपमा प्रश्नपत्रको सेट प्राप्त हुने, उक्त कच्चा प्रश्नपत्रका सेटहरुमध्ये पुनः सोही बिषयका अर्को दक्षलाई वोलाई कम्तीमा ५ सेट तयारी प्रश्नपत्र निर्माण गरी प्रत्येक सेटलाई छुट्टै संकेत नम्वर दिई राखिने र परीक्षा संचालनको समयमा उक्त सेटहरुमध्ये आयोगका सम्माननीय अध्यक्षवाट संकेत नम्वरका आधारमा छनौट भएको प्रश्नपत्रको सेट प्रयोगमा ल्याइन्छ।

– लिखित परीक्षा सञ्चालनपछि प्राप्त भएका सम्पूर्ण उत्तरपुस्तिकाहरुमा परीक्षा सञ्चालन शाखाले प्रथम कोड राख्ने र दोश्रो कोड राख्नका लागि अन्य कुनै शाखाका पदाधिकारीलाई जिम्मा दिने प्रचलन रहेबाट परीक्षामा उच्चतम् गोप्यता कायम हुने गरेको छ। यसरी दोश्रो कोडपछि प्राप्त उत्तरपुस्तिकाहरु अध्यक्षले तोकेका सम्वन्धित बिषयका दक्ष/विशेषज्ञहरुलाई परीक्षणका लागि पठाइन्छ।

– परीक्षणपछि प्राप्त भएका उत्तरपुस्तिकाहरुको प्राप्ताङ्क टेवुलेशन गरी कोडको आधारमा डिकोड गरी नतिजा प्रकाशन गरिन्छ। अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरुलाई सम्वन्धित विषयमा दक्ष समेतको संलग्नतामा अन्तर्वार्ता लिने र एकले दिएको अंक अर्कोले नदेख्ने गरी गोप्य रुपमा राखिने र उम्मेदवारको योग्यताक्रम तथा सिफारिश गर्ने समयमा मात्र खोलिन्छ। यसका साथै लिखित परीक्षामा उम्मेदवारले प्राप्त गरेको अंक अन्तर्वार्ता लिने क्रममा थाहा नहुने गरी योग्यताक्रम तथा सिफारिश गर्ने समयमा मात्र पठाइने गरिन्छ।

– लोक सेवा आयोगले प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तर पुस्तिका परिक्षण, अन्तर्वार्ता, मनोवैज्ञानिक व्यक्तित्व परीक्षण, पाठ्यक्रम निर्माण लगायतका आयोगको कामका लागि सम्वन्धित शाखाले सम्वन्धित बिषयका आवश्यक संख्यामा दक्षहरुको नाम समावेश भएको सूचीलाई समय समयमा अद्यावधिक गराइ दक्ष र विशेषज्ञहरुको सूची राख्दै आएको छ।

– आयोगले उनीहरुलाई गोप्य रुपबाट कुनै खास प्रकारको छनौट कार्यका लागि तोक्ने गर्दछ। आयोगले निश्चित पदहरु, जसमा उम्मेदवार बढी संलग्न हुन्छन्, त्यसमा स्क्रीनिङ टेस्टको प्रक्रिया प्रारम्भ गरिसकेको छ। यसबाट प्रारम्भिक चरणको परीक्षामा उत्तीर्ण हुनेहरु मात्र मूल परीक्षामा संलग्न हुन पाउने व्यवस्था गरेको छ।

– खुला प्रतियोगितावाट उम्मेदवारको अन्तिम छनौट भएपछि नियुक्तिका लागि राजपत्रांकित पदको हकमा निजामती सेवाको पद भएमा सामान्य प्रशासन मन्त्रालय र छुट्टै ऐन नियम अन्तरगतका पद भएमा त्यस्तो सेवा सञ्चालन गर्ने निकायमा सिफारिश गर्ने व्यवस्था रहेको छ भने राजपत्र अनंकित पदको हकमा सर्वप्रथम उम्मेदवारले रोजेको कार्यालयमा सिफारिश गर्नुपर्ने र एकभन्दा बढी उम्मेदवारले एउटै कार्यालय रोजेकोमा माथिलो योग्यताक्रममा रहेकोलाई पहिले सिफारिश गर्नुपर्ने व्यवस्था रहेको छ।

– नियुक्तिका लागि सम्वन्धित निकायमा सिफारिश पत्र पठाउँदा सम्वन्धित उम्मेदवारको दरखास्त फाराम एक प्रति र सो साथ पेश भएका प्रमाणपत्रका प्रतिलिपिहरु समेत पठाउनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्