रसुवागढी नाकाबाट हुने तस्करीमा विशेष निगरानी

rasuwagadhi-border
लाेकपाटी न्यूज

काठमाडौं। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट हुने तस्करीमा चीनले कडाइ गर्न थालेको छ। करिब १५ दिनअघि चिनियाँ भन्सारले नाकामा एक्सरे मेसिनसमेत जडान गरेको छ।

चिनियाँ भन्सारले चार किलो सुनसहित एक नेपालीलाई पक्राउ गरेको छ। रसुवाको कालिका गाउँपालिका–५ का समीर परियारलाई २०जेठमा पक्राउ गरिएको स्रोतले जनाएको छ। आजको नयाँ पत्रिकामा अनु आचार्यको समाचार छ।

स्याउ लिएर नेपालतर्फ आउँदै गरेको ना२ख ६४०१ नम्बरको कन्टेनरमा चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन्। पक्राउ परेका परियारलाई चिनियाँ भन्सारले सिगात्से लगेको स्रोतले जनाएको छ। तर, उनको अवस्थाबारे नेपाली पक्षलाई कुनै पनि जानकारी नभएको बताइएको छ।

सुन पक्राउको विषयमा चर्चा भए पनि चिनियाँ पक्षबाट औपचारिक जानकारी नआएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। ‘चिनियाँ पक्षले हामीलाई औपचारिक जानकारी दिएको छैन,’ उनले भने, ‘नाकाबाट हुने तस्करी नियन्त्रणका लागि दुवै देशको प्रशासनले समन्वयात्मक रूपमा अघि बढेका छौँ।’

नेपालतर्फ तस्करीको सुनसहित थुप्रै पक्राउ परेका छन्। तर, चीनतर्फ पहिलोपटक सुनसहित नेपाली व्यक्ति पक्राउ परेका हुन्। पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भई चीनले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेसँगै यहाँबाट सुन तस्करी बढेको छ।

तस्करी बढेसँगै नेपालतर्फ प्रहरीले विशेष निगरानी गरिरहेको जनाएको छ। भूकम्प र पहिरोका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि सञ्चालनका आएको रसुवागढी नाकाबाट ०७२ देखि नै सुन तस्करीको घटना सुरु भएको देखिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्