‘सुदृढ फौजदारी न्याय प्रशासनको आधार : अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’

police nepal
लाेकपाटी न्यूज

काठमाडौं, ३२ जेठ । प्रहरी प्रधान कार्यालयको आयोजना र महान्यायाधिवक्ताको कार्यालय सिंहदरबारको सहकार्यमा आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन सम्पन्न भएको छ।

‘सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि शुरु भएकाे साे सम्मेलन काठमाडौंकाे बसुन्धरास्थित बसुन्धरा व्याङ्केटमा शनिबार सम्पन्न भएको हो। उच्च अदालत पाटनका न्यायाधीश किरण पौडेलको प्रमूख आतिथ्य र महान्यायाधिवक्ताको कार्यालयका सह–न्यायाधिवक्ता श्यामकुमार भट्टराईको अध्यक्षतामा २१ बुँदे घोषणापत्र जारी गर्दै उक्त सम्मेलन सम्पन्न भएको हो ।

समारोहलाई सम्बोधन गर्दै न्यायाधीश पौडेलले अपराध अनुसन्धानको क्रममा भौतिक सबुद प्रमाण संकलन महत्वपूर्ण हुने चर्चा गर्दै न्याय निरुपणका लागि अपराध अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिल र मेडिको लिगल अधिकृतहरुले एकै ठाउँमा काम गर्नुपर्ने बताए।

कसुरदार र पीडित दुबै पक्षलाई न्याय पाएको अनुभूति हुनेगरी फौजदारी न्याय प्रशासन संचालन गर्न सम्मेलनले जिम्मेवारी महसुस गराएको चर्चा गर्दै सम्मेलनबाट नै मेडिको लिगल अधिकृतहरुलाई अनुसन्धानको क्रममा तयार गर्ने प्रतिवेदनको महत्व र मूल्य थाहा भएको बताए। अझै राम्रो न्याय प्रशासन संचालन गर्न र मुद्दाका पीडित पक्ष र कसुरदार दुबैलाई सन्तुलनमा राखी काम गर्नका लागि समन्वयको पाटो एकै ठाउँमा आउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा बोल्दै महान्यायाधिवक्ताको कार्यालयका सह–न्यायाधिवक्ता श्यामकुमार भट्टराईले नेपाल प्रहरीकै अगुवाईमा सम्मेलन आयोजना भएको चर्चा गर्दै अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरु संयुक्त रुपमा साझा सन्देश लिएर समुदायमा जाँदा सफलता हासिल गर्न सकिने उल्लेख गरे।

उनले नयाँ संविधान तथा मुलुकी फौजदारी संहिता कार्यान्वयनको चरणमा केही अप्ठयारो आए पनि यो नवीनतालाई स्वभाविक रुपमा ग्रहण गरी सभ्यता र आधुनिकतातर्फ उन्मुख हुनपर्ने उहाँले बताए। अपराध अनुसन्धान र अभियोजनको कार्यमा संलग्न पक्षहरुले क्रियाशील भई वैयक्तिक स्वतन्त्रताप्रति संवेदनशील हुँदै कानूनको अक्षरस पालना गरी न्याय सम्पादन गर्नुपर्ने उनको भनाइ छ।

त्रिवि शिक्षण अस्पताल फरेन्सिक मेडिकल विभागका चिफ कन्सल्ट्यान्ट डा. हरिहर वस्तीले सम्मेलनको घोषणापत्र कार्यान्वयनका लागि सम्बन्धित निकायलाई झक्झकाउनुपर्नेमा जोड दिँदै सम्मेलनमा अपराध अनुसन्धान र अभियोजनका सन्दर्भमा प्रभावकारी छलफल भएको चर्चा गरे। अपराध अनुसन्धानमा सामुहिक कार्यको साथै सुरुवातको चरणदेखि नै समन्वय भयो भने भौतिक प्रमाण र वैज्ञानिक प्रमाण संकलन गरी सफलता हासिल गर्न सकिने उनले बताए।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान एवं कार्य विभागका प्रहरी नायव महानिरीक्षक सूर्य प्रसाद उपाध्यायले धन्यवाद ज्ञापन गरेको सो समारोहमा जिल्ला सरकारी वकिल कार्यालय धादिङका जिल्ला न्यायाधिवक्ता बालकृष्ण वाग्लेले सम्मेलनले पारित गरेका २१ बुँदे घोषणापत्र वाचन गरेर सुनाए ।

समारोहमा पाटन अस्पतालमा कार्यरत मेडिको लिगल एक्सपर्ट डा. सिर्जना कुँवरले सहभागीको तर्फबाट, प्रहरी नायव उपरीक्षक विष्णु सोतीले अनुसन्धान अधिकृतको तर्फबाट र जिल्ला सरकारी वकिल कार्यालय सिन्धुलीका जिल्ला न्यायाधिवक्ता गोबिन्दराज गौलीले अभियोजनकर्ता सरकारी वकिलहरुको तर्फबाट सम्मेलन बारेमा मन्तव्य व्यक्त गरे।

‘सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’ भन्ने मुल नाराकासाथ शुक्रबारदेखि शुरू भएको उक्त सम्मेलनमा ३ नम्बर प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका अनुसन्धानकर्ता प्रहरी १०१ जना, अभियोजनकर्ता सरकारी वकिल २७ जना र पर्यवेक्षक, मेडिको लिगल अधिकृत १३ जना र अदालबाट ४ जना गरी जम्मा १ सय ४५ जनाको सहभागितामा रहेको थियो ।

सम्मेलनमा अपराध अनुसन्धानमा अभियोजनकर्ता सरकारी वकिलहरुको संलग्नता र कार्यान्वयनको अवस्था, मुलुकी अपराध संहिता, २०७४ को वर्तमान अवस्था र उक्त संहिता कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायहरु, त्रि–वर्षीय अपराध अनुसन्धान कार्ययोजना २०७५/०७६–२०७७/०७८ को परिचय, वर्तमान अवस्था र आगामी रणनीतिहरु र अपराध पीडितको संरक्षणको लागि अनुसन्धान अधिकृत र सरकारी वकिललाई सुम्पिएको जिम्मेवारी लगायतका विषयमा प्रस्तुतीकरण तथा टिप्पणी समेत गरिएको थियो ।

सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा, अनुसन्धान र अभियोजन सम्वन्धमा देखिएका समस्याहरूको पहिचान र समाधानका उपाय पहिल्याउने, अनुसन्धान र अभियोजन सम्बन्धि नयाँ कानूनी व्यवस्था र अभ्यासका बारेमा विश्लेषण गरी कार्यान्वयनमा एकरुपता कायम गर्ने, सरकारवादी मुद्दाको अनुसन्धान र अभियोजनको प्रभावकारिता अभिवृद्धिका लागि अनुसन्धानकर्ता, अभियोजनकर्ता र मेडिको लिगल चिकित्सकहरू समेतका बीचमा समन्वयको विकास गर्ने, अपराध अनुसन्धान र अभियोजनलाई अझ परिस्कृत र प्रभावकारी बनाउन साझा धारणा विकास गर्ने लगायतका उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्