काठमाडौं, ३० जेठ । सरकारले देशको विकास खर्च काटेर सांसदका लागि १ लाख बढी मुल्य पर्ने ल्यापटप संघीय सांसदका ३ सय ३४ जना सांसदलाई बाँड्दैछ।
जसका लागि विकास खर्चको ३ करोड ३४ लाख रुपैयाँ रकमान्तर गर्न लागिएको छ। विकास खर्च काटेर सांसदलाई ल्यापटप बाँड्ने निर्णयको चौतर्फी विरोध भईरहेको छ । सत्तारुढ दलका नेताहरुले नै यसको बिरोध गरिरहेको अवस्था छ। यसैबीच नेकपा सांसद रामकुमारी झाँक्रीले सांसदहरुलाई ल्यापटप बाड्ने निर्णयको विरोध गरेकीछिन्।
उनले आज बिहीबार विनियोजन बजेटबारे छलफलका लागि बसेको संसद बैठकको शून्य समयमा बोल्दै विकास खर्च काटेर सांसदलाई ल्यापटप बाँडिन लागेको कुराले जनतामा नकरात्मक सन्देश दिन खोजिएको बताईन्।उनले भनिन् “केही दिन अघिदेखि पत्रपत्रिकामा सांसदहरुलाई ल्यापटप बाँड्न संसद सचिवालयले टेन्डर आह्वान गर्यो भन्ने सुने। यो सुन्दा मलाई दुःख लागेको छ, किनभने सांसदहरुलाई यस्ता खुद्रा मसिना कुराहरु बाँड्ने र यसको हुर्मत लिने काम बेला बखत भइरहेको छ।
कहिले ६ करोड सांसद विकास कोषको नाममा, ५१ सालमा निर्णय गरिएको भन्सार सुविधामा गाडी ल्याउँने कुरा।
यी सबै कुराहरुले सांसदहरुलाई जनतासँग दुरी बढाउने र सांसदप्रति जनताको नकारात्मक भावना विकास भएको देखिन्छ। क्रमश त्यसले संसदीय व्यवस्था र प्रजातान्त्रिक व्यवस्थामा नै आँच आएका घटना छन्।” उनले सांसदलाई प्रविधी मैत्री बनाउने नाममा सांसदहरुको हुर्मत लिने कुरा बन्द गर्न आग्रह गरिन्।
उनले ल्यापटप बाड्ने कुरा नै आपत्तिजनक भएको भन्दै यसले सांसदहरुको मर्यादा नबढ्ने बताइन्। यसैगरी हुम्लाकी सांसद रंगमती शाहीले बैठकमा बोल्दै हुम्लाका जनताले खाद्यान्न नपाएर भोकै बस्नु परेको बताए। उनले हुम्लाका जनताका लागि जाने खाद्यन्न नेपालगञ्ज र सुर्खेतमा थुप्रिएर बसेको बताइन्। उनले जनताका लागि जाने चामल बाटैमा हराउने गरेको भन्दै चाडै ढुवानी गर्न माग गरिन्।
यस्तै सांसद राजेन्द्र केसीले कलंकी नागढुङ्गा सडक आवतजावतमा कठिनाई हुँदा पनि सरकारले ध्यान नदिएको बताए।उनले सर्वोच्चले आदेश दिए पनि सडकको दायाँ बायाँ घर भएकालाई मुआब्जा दिन भने पनि सरकारले सुनुवाई नगरेको बताए। यस्तै अर्का सांसद राजेन्द्र कुमार राईले धनकुटा जिल्लाको महालक्ष्मी गाउँपालिका वडा नं. ४ मा भिषण असिना पानीका कारण ४२ घरको धनजनको क्षति भएकोले उनीहरुलाई राहत दिने व्यवस्था गर्न माग गरे।



लाेकपाटी न्यूज

