काठमाडौं, ३० जेठ । पित्तथैलीको अपरेसन गर्दा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्त आन्दोलित भएका छन्।
चिकित्सकको लापरवाहीले गर्दा अपरेसनका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलनमा उत्रिएका हुन्।पित्तथैलीमा समस्या देखिएपछि चावहिलस्थित ओम अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक इन्द्रवातीकी ५० वर्षीय रामप्यारी थापाको मृत्यु भएको हो।
मृतकका बहिनी ज्वाइँ खड्ग श्रेष्ठका अनुसार गत शुक्रबार अस्पतालमा भर्ना भएकी थापाको बिहीबार मृत्यु भएको हो।आइतबार विरामीको आन्द्राबाट दिसा आउन थालेपछि उपचारमा संलग्न चिकित्सकले पुनः अपरेसन गर्नुपर्ने बताएका थिए। त्यसपछि उनको आइतबार फेरि अपरेसन भएको थियो।
परिवार तथा आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका हुन्। यस विषयमा अस्पतालले केही प्रतिक्रिया नदिएको आफन्तको भनाई छ।



लाेकपाटी न्यूज

