निर्वाचन आयोगमा दर्ता हुँदै समाजवादी पार्टी

Baburam-upendra
लाेकपाटी न्यूज

काठमाडौं, ३० जेठ। डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता हुने भएको छ। संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भई बनेको समाजवादी पार्टी आज निर्वाचन आयोगमा दर्ता हुने भएको हो।

वैशाख २३ गते एकता घोषणा भएको समाजवादी पार्टी, नेपाललाई दर्ता गराउन आज निर्वाचन आयोग जाने पार्टीका उपमहासचिव प्रकाश अधिकारीले बताए। एकीकरणपछि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा शीर्ष नेताहरु व्यस्त रहेका कारण पार्टी दर्ताका लागि ढिलाई भएको नेता अधिकारीले बताए। एकीकृत पार्टीको झण्डा पूर्वफोरम नेपालकै हुनेछ भने चुनाव चिन्हपछि बुझाउने अधिकारीले बताए।

२५ जना पदाधिकारीसहित ४ सय ३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ता गराउने भएको छ। केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्षमा डा. बाबुराम भट्टराई रहेका छन्।

वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चोम्जोङ, हेमराज राई, नवराज सुवेदी, पर्शुराम खापुङ, हिसिला यमी, युवराज कार्की, रेणुकुमार यादव, लालबाबु राउत, महासचिव रनध्वज कन्दङ्वा, गंगानारायण श्रेष्ठ, रामसहाय यादव, उपमहासचिव दानबहादुर विश्वकर्मा, डम्बर खतिवडा, प्रकाश अधिकारी, सचिवहरुमा दुर्गा शोव, पर्शुराम बस्नेत, प्रशान्त सिंह, मोहम्मद इस्तियाक राई र कोषाध्यक्षमा विजयकुमार यादव रहेका छन्।