मन्त्रीले समितिको निर्णय मान्दिन भन्नु गलत हो : सांसद संग्रौला

Dila_sangaula
लाेकपाटी न्यूज

काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले लोकसेवा आयोगले संविधान, समावेशी–समानूपातिक सिद्वान्त र संघीयताअनुरूप विज्ञापन नभएकोले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले रद्द गर्ने निर्देशन दिएको स्पष्ट पारिन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्यसमेत रहेकी नेतृ संग्रौलाले यस्तो बताएकी हुन् । उनले विज्ञापन गर्नुपूर्व सर्वेक्षण पनि नगरिएको दाबी गरिन् । उनले भनिन्, ‘समितिले अहिलेलाई आयोगको उक्त विज्ञापन रद्द गर्न निर्देशन दिइसकेको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आयोग संवैधानिक अंग भएकोले उसलाई पनि चेपुवामा पार्न नहुने धारणा राखिन् । विभागीय मन्त्री लालबाबु पण्डित पनि राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य भएको सुनाउँदै समितिले दिएको निर्देशन मान्दैनौं भन्नु गलत भएको उनको टिप्पणी छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितप्रति लक्ष्यित गर्दै उनले भनिन्, ‘मन्त्रीज्यूले समितिले दिएको निर्देशन मान्दिन भन्नु र विज्ञापनलाई अघि बढाउँछु भन्नुभएको छ, उहाँले समितिको निर्णयलाई नै त्रुटिपूर्ण भन्नुभयो, यस्तो भन्ने अधिकार उहाँलाई छैन ।’ संविधानको मूल्य र मान्यतालाई मन्त्रीले पालना गर्नुपर्ने उनको जोड थियो । उनले थपिन्, ‘संसदीय समिति पनि मिनि–पार्लियामेन्ट हो । समितिले तीन चार पटक उहाँलाई छलफलको लागि बोलायो । तर, उहाँ आउनु भएन ।’

मन्त्रीको भनाईले आयोगलाई विवादमा तान्ने काम गरेको पनि संग्रौलाको आरोप छ । उनले संसदीय समितिले गरेको निर्णय र दिएको निर्देशन जायज रहेको भन्दै आयोगले पालना गर्नुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘समितिको निर्णय त्रुटिपूर्ण छैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्