विभिन्न अभियोगमा पाँच पक्राउ

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, २८ जेठ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चितवन भरतपुर महानगरपालिका ६ लायन्सचोक बस्ने १७ वर्षीय अशिम भट्टराईलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ९० ट्यावलेट सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

साथै लागूऔषध ओसारपसारमा संलग्न चितवन भरतपुर डेरा गरी बस्ने पर्सा वीरगंज महानगरपालिका १४ श्रीपुर घर भएका ३० वर्षीय अन्वर मिंया अन्सारी र उनकै श्रीमती २८ वर्षीया सुमैना देवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको ना.५ ख ५४२१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यस्तै, कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त बहुदरमाई नगरपालिका ८ रामनगरी बस्ने २७ बर्षीय प्रजा सहनीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

२०७५ चैत १८ गते पर्सा रामनगरीका हरेन्द्र गिरीको गहुँ खेतमा सोही ठाउँ बस्ने ५६ बर्षीय किशोरी सहनीलाई कर्तव्य गरी हत्या गरेर फरार रहेका प्रजालाई जिल्ला प्रहरी कार्यालय पर्सावाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका १ छप्कैयास्थित नेपाल भारतको सीमानामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यस्तै, बहुविवाह मुद्दामा उच्च अदालत पाटन हेटौंडाको २०६६ बैशाख २९ गतेको फैसलाले २ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार प्रतिवादी मकवानपुर हटीयाकी रिता भन्ने हिरा चौलागाँईलाई चून्नीखेल कपन काठमाडौंबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

२०५५ सालमा प्रतिवादी चौलागाईलाई मुद्दाका अर्का प्रतिवादी ठाकुर प्रसाद चौलागाईले जेठी पत्नी घरमा हुँदाहुँदै जानी जानी विवाह गरेको ठहर गर्दै अदालतले उक्त सजाय फैसला गरेको थियो । सजाय वेरुजु भई फरार हिरालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी हिरालाई जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्