काठमाडौं, २८ जेठ । देशका विभिन्न ठाउँबाट विभिन्न ७ अभियोगमा १२ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको टोलीले विभिन्न ७ अभियोगमा संलग्न उनीहरुलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।
अभियोग १ : पेस्तोल
काठमाडौंको बानेश्वरस्थित ए वान क्याफेबाट सोलुखुम्बुका २४ वर्षीय साङगेल पेम्बा शेर्पालाई अवैध हतियार पेस्तोल १ थानसहित सोमबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक्राउ गरी यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
अभियोग २ : हत्या गरी फरार
धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको घटनामा फरार रहेका पर्सा सुवर्णपुर घर भई हाल कास्की बेगनास बस्ने ४४ वर्षीय प्रकाश अधिकारी भन्ने देवी रमन अधिकारीलाई १९ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका १ बेलहियाबाट पक्राउ गरेको हो ।
निज अधिकारीले २०५७ असार ८ गते भक्तपुर कटुञ्जे ८ बस्ने ३३ वर्षीया बिजयश्वरी प्रजापतीलाई उनको घरमा ७ महिनादेखि काम गरेको तलब बापतको ११ हजार रुपैयाँ दिन चाँसो नदिनुका साथै उल्टै ३ हजार रुपैयाँ चोरी गरेको आरोप लगाएको निहुँमा छुरा प्रहारबाट हत्या गरी नगद तथा सुनको चुरा, हिरा लगायतका गर गहनाहरु समेत चोरी फरार भएका थिए ।
हत्या पश्चात फरार रहेका अधिकारी भारतको वनारस हुँदै मुम्बई पुगी लुकीछिपि बस्दै आएकोमा पक्राउ पर्ने डरले निज प्रतिवादीले प्रकाश अधिकारी नामको छद्म परिचय बनाएका र भारतीय सवारी चालक अनुमतिपत्र समेत प्रकाश अधिकारीको नामबाट बनाएको अनुसन्धानबाट खुल्न आएको सो ब्यूरोले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
अभियोग ३ : ठगी
ट्याक्सी खरिद गर्न मिलाई दिन्छु भनी १५ लाख रुपैयाँ ठगी गर्ने नुवाकोट तार्केश्वर गाउँपालिका ४ बस्ने ४४ वर्षीय राम वस्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सोमनाथ भट्टराईले ट्याक्सी आवश्यक परेको भनी दैनिक पत्रिकामा विज्ञापन दिएकोमा वस्तीले भट्टराईलाई फोन सम्पर्क गरी बोलाएर बा ३ ज ३८१० नम्बरको सेतो रङको ट्याक्सी देखाई मूल्य २२ लाख रुपैयाँ कायम गरी जेठ ८ गते १५ लाख रुपैयाँ लिएर बाँकी ७ लाख रुपैयाँ गाडी पास गर्दा दिने भनी विश्वासमा पारी सम्पर्कविहीन भएकोमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नुवाकोट तार्केश्वर गाउँपालिका ४ बाट पक्राउ गरेको हो ।
वस्तीलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।
अभियोग ४ : सरकारी छाप दस्तखत किर्ते
सर्वोच्च अदातलको २०७६ बैशाख १७ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ३ वर्ष ६ महिना कैद र ६ लाख ६० हजार ५० रुपैयाँ जरिवाना भई फरार प्रतिवादी भक्तपुर सूर्य्विनायक नगरपालिका ८ बस्ने ५४ वर्षीय भुवनेश्वर थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई ललितपुर बालकुमारीबाट पक्राउ गरेको हो ।
प्रतिवादी भुवनेश्वर समेतका ब्यक्तिहरुले भक्तपुर सिपाडोलस्थित कित्ता नम्बर ८७७ को क्षेत्रफल १–१२–० भएको जग्गाको नापीको नक्शा प्रिन्ट सच्याई मोटर बाटोसँग जोडिएको किर्ते नक्कली प्रिन्ट तयार गरी अर्कै ठाउँको वास्तविक जग्गा भन्दा राम्रो जग्गा देखाई तत्कालिन कार्यालयको नक्कली सिफारिसपत्र समेत बनाई २०६६ बैशाख ७ गते ३३ लाख रुपैयाँमा उक्त जग्गा बिक्री गरी ठगी गरेका थिए । पक्राउ परेका थापालाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खुमा पठाइएको छ ।
अभियोग ५ : मोटरसाइकल चोरी
भारत तथा नेपालका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर वेचबिखन गर्ने कार्यमा संलग्न ५ जनालाई बारागढी गाउँपालिका २ दौरवा मठबाट चोरी गरेको मोटरसाइकल २ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका मलाही टोल बस्ने २० वर्षीय सुरेश मुखिया, १८ बर्षीय धर्मेन्द्र मुखिया, १९ बर्षीय नन्दकिशोर सहनी, सिम्रौनगढ नगरपालिका ८ घर भएका १९ बर्षीय श्याम सुन्दर यादव र १८ बर्षीय गुलसन प्रसाद यादव रहेका छन् ।
बिगत केही समयदेखि मोटरसाइकलहरु चोरी गरी विक्री गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त प्रहरी टोलीले चोरी गरी ल्याएको अनटेस्ट लेखिएको अपाचे र बिआर ०५ आर ७५३८ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो । चोरी शीर्षक मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
अभियोग ६ : लागूऔषध
चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट रूपन्देही शिवरनगर ७ घर भएका २३ वर्षीय गोविन्द आचार्यलाई नियन्त्रित लागूऔषध नुर्फिन २ सय ४० एम्पुल, फेनरागन २ सय ४० एम्पुल र डाइजेल्याप २ सय ४० एम्पुल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ४५५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अभियोग ७ : जबरजस्ती करणी
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिरहुत गाउँपालिका ४ डिमन बस्ने ३० वर्षीय मोहमद इद्रिस र १५ वर्षीय चन्दन सदालाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
बालिका घर पछाडीको शौचालय जाने क्रममा उनीहरुले बालिकालाई बोल्न कराउन नदिई उक्त स्थानबाट करिब ५ सय मिटर खेतमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर सोमबार बिहान प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी डिमनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज

