काठमाडौं, २७ जेठ। भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका प्रितम आचार्य र आयुष केसी लगातार तेस्रो र चौथो भएका छन्। आइतबार साँझ भएको जी टीभीको फाइनलमा ६ जना बाल कलाकार पुगेका थिए। उक्त कार्यक्रममा प्रतिष्पर्धा गरेका प्रितम आचार्य तेस्रो भए भने आयुष केसी चौथो भए।
कडा प्रतिष्पर्धाबीच फाइनलमा पुगेका प्रितम र आयुषको स्वरको जादूले नेपाली दर्शकको मन छोएको छ। आयुषको स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ हो। हाल उनी भक्तपुरमा अध्ययनरत छन्। प्रितम इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ र आयुष भक्तपुरको मोर्डन बोर्डिङमा कक्षा ७ मा पढ्छन्। २०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए। उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए।
बलिउडका चर्चित गायक एवं कलाकारहरुले समेत उनीहरुको गायिकीलाई उच्च प्रशंसा गरिरहँदा दुवैजना फाइनलसम्म पुगेका थिए। सुरशाला म्यूजिक एकेडेमीमार्फत उनीहरुले भिडियो अडिसन पार गरेर सारेगमपमा प्रवेश पाएका थिए। ३ वटा भिडियो पठाएपछि उनीहरुलाई दोस्रो चरणका लागि दिल्ली बोलाइएको थियो।



लाेकपाटी न्यूज

