काठमाडौं, २६ जेठ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको साधारण सभामा खड्का प्रतिद्धोन्दी सरिता लामिछानेलाई हराउँदै विजयी भएका हुन् ।
उनले २१८ मत प्राप्त गर्दै लामिछानेलाई ५७ मत अन्तरले हराएका थिए । संघको उपाध्यक्षमा सानुकुमार ताम्राकार, रेजिना उप्रेती, मनोजकुमार केसी र विनोदकुमार भट्टराई प्रतिस्पर्धामा थिए । जसमध्ये रेजिना र सानुकुमार विजयी भएका छन् । रेजिनाले २४३, सानुकुमारले १७५, प्राप्त गरेका थिए ।
महासचिव पदका लागि चेतबहादुर सिंह (राजा) र सञ्जय खतिवडा बीच प्रतिस्पर्धा भएको थियो । जसमा चेतबहादुर १८७ मत ल्याई विजयी भएका छन् । सचिव पदमा पनाह अधिकारी, कोषाध्यक्ष पदमा सुनिल कटुवाल, सहकोषाध्यक्षमा पवित्रा र सदस्यतर्फ जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन् ।
लामो समयको मतभेद र विवादपछि सम्पन्न संघको निर्वाचनमा उपाध्यक्ष सानुकुमार बाहेक खड्काको प्यानलै विजयी भएको हो ।
खड्का ०४८ मा विधिवत् गठन भएको कलाकार संघको संस्थापक अध्यक्ष पनि हुन् । झन्डै २८ वर्षपछि पुनः अध्यक्षको जिम्मेवारी पाएका खड्काले महाधिवेशनमा संघको भवन निर्माण, कलाकारको सुरक्षा लगायका विषय एजेन्डाको रुपमा अगाडि सारेका थिए ।



लाेकपाटी न्यूज

