काठमाडौं, २५ जेठ। धादिङ उपाध्यक्ष राधाकृष्ण भण्डारी ‘राधे’लाई राज्य सुरक्षा संयन्त्रले नै मार्ने षडयन्त्र गरेको नेपाल तरुण दलको आरोप छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी तरुण दलले राधेको जीवन रक्षाको माग गरेको छ।
धादिङको रोराङ गाउँपालिका टुनेदोबानमा जेठ २२ गते भएको विवादमा संलग्न नै नभएका भण्डारीलाई स्थानीय जनक मगरले किटानी जाहेरी दिएको गलत कागज बनाई प्रहरीले नियन्त्रणमा लिएको तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले बताए। उनले भने, ‘पुलिस प्रशासन यही ढंगले जाने हो भने हामी पुलिस प्रशासन विरुद्ध अगाडि बढ्नुपर्छ। इमान्दार मान्छेलाई यसरी समात्ने हो भने हामी आन्दोलन गर्न तयार छौं।’
कहिले सादा पोसाकमा आएका प्रहरीले त कहिले एसपी र इन्स्पेक्टरले धम्की दिने गरेको भन्दै उनले भने, ‘राधेलाई समात्ने मात्रै होइन, मार्ने योजनामा पुलिस प्रशासन अगाडि बढेको छ भन्ने सुनेका छौं। हामी उहाँको जीवनरक्षाको अपिल गर्छौं।’
कार्यक्रममा स्थानीय जनक मगरले पुलिस आफैंले तयार पारेको किटानी जाहेरीमा जवरजस्ती हस्ताक्षर गर्न लगाएको बताए। राधे बुधबार साँझ मलेखुबाट पक्राउ परेका थिए। उनीमाथि धम्क्याएर धादिङमा हुने ठेक्का पट्टा, अवैध बालुवा खानी लगायतको कमिसन लिने गरेको आरोप छ।



लाेकपाटी न्यूज

