खोटाङ, २५ जेठ। नेकपाका हलेसी नगर समितिका सदस्य तथा युवा संघ खोटाङ्गका जिल्ला सदस्य किश्मत राई नेपाली कांग्रेस प्रवेश गरेका छन्। कांग्रेस नेता उदयशमशेर राणासहितका खोटाङ कांग्रेसका नेताहरुले राईलाई पार्टी प्रवेश गराएका हुन्।
नवप्रवेशी राईले कम्युनिष्टका नाममा जनतालाई भ्रममा राख्ने नेकपामा अल्मलिएर बस्ने भूल नगर्ने भन्दै कांग्रेसमा आएको बताए।राई कांग्रेसमा प्रवेश गर्दा उनलाई पार्टीमा स्वागत गर्नेहरु जति दंग देखिन्थे त्यतिकै राई आफै पनि दंग देखिएका थिए।
नेपाली कांग्रेसको जागरण अभियानका क्रममा पार्टी प्रवेशको लहर पनि देखिएको छ। विभिन्न पार्टीमा क्रियाशिल रहेकाहरुले यस बीचमा नेपाली कांग्रेस प्रवेश गरेका छन्। मेचीदेखि महाकालीका विभिन्न कार्यक्रममा खासगरि सत्तारुढ दल नेकपाकै नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका खबर छन्।
जागरण अभियानको पहिलो चरण सकिनै लाग्दा ललितपुरमा कांग्रेस सभापति शेर बहादुर देउवाले ४० बर्ष कम्युनिष्ट पार्टीमा विताएका नेकपाका एक स्थानिय नेता रामकृष्ण हुमागाईलाई कांग्रेस भित्र्याए। हुमागाईले कांग्रेस प्रवेश गर्दैगर्दा नेकपाका बारेमा दिएको प्रतिक्रिया पनि चर्चामा रह्यो। उनले विगतका कम्युनिष्ट लालहरु अहिले दलाल बनेको बताए।



लाेकपाटी न्यूज

