काठमाडौं, २४ जेठ। प्रहरी इन्स्पेक्टर हुँ भन्दै धाक-धम्की दिँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काभ्रे नमोबुद्व नगरपालिका–१ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २० वर्षिय सौगात लुईटेललाई प्रहरीले पक्राउ गरेको हो।
लुईटेलसँगै प्रहरीको सई भन्दै स्थानीयलाई धम्क्याउँदै हिँड्ने योहुना घलेमगर भने फरार छन्। लुईटेललाई बिहीबार पेप्सीकोलाबाट पक्राउ गरेको र घलेमगरको खोजीकार्य जारी रहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्लेले बताए। उनीहरुले जेठ २१ गते सडक पेटीमा हिँड्दै गरेका बल बहादुर सार्कीलाई हामी प्रहरीको इन्सपेक्टर र सई हौं भन्दै चेकजाँच गर्ने बहानामा लछारपछार बनाएर कुटपिट गरी अभद्र व्यवहार गरेको उनले बताए।
सो क्रममा सार्कीको मोबाइलसमेत हराएको र सार्कीले प्रहरीमा दिएको जाहेरीको आधारमा उनीहरुलाई खोजतलास गर्ने क्रममा इन्सपेक्टर भन्दै हिँड्ने सौगातलाई प्रहरीले पक्राउ गरेको हो। डीएसपी काफ्लेका अनुसार उनीहरुले स्थानीयलाई प्रहरी हुँ भन्दै धम्क्याउँदै हिँड्ने गरेको पाइएको छ। यसअघि पनि ठगीका विभिन्न घटनामा उनीहरुको संलग्नता रहेको छ।
पक्राउ परेका लुईटेलमाथि अभद्र व्यवहार मुद्दामा म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

