‘घुस दिनेलाई पनि कारवाही गर्ने कानून बनाऔं’

लाेकपाटी न्यूज

काठमाडौं, २३ जेठ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले निर्वाचन भएको तीन वर्ष पुगेको अवसरमा तेस्रो राष्ट्रिय भेला सम्पन्न गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमूख आतिथ्यता र कार्य समितिका अध्यक्ष पुण्य प्रसाद ढकालको सभापतित्वमा युनियनले सो भेला सम्पन्न गरेको हो।

कार्यक्रमको सम्बोधन गर्दै मन्त्री पण्डितले निजामती सेवा ऐनमा ट्रेड युनियनको व्यवस्था कायमै राखेर यस युनियनलाई अन्य ट्रेड युनियनभन्दा फरक ढंगले सञ्चालन गरिने बताए। उनले कर्मचारीहरुलाई समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न त्यागको भावनासहित का मगर्न अनुरोध समेत गरे।

त्यस्तै कार्यक्रममा बोल्दै ट्रेड युनियनका नेताहरुले निजामती प्रशासनमा करार कर्मचारीको नियुक्ति मान्य नहुने बताए । उनले ट्रेड यूनियनको तेस्रो साधारण सभाका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया सधैंका लागि अन्त्य हुनुपर्ने बताए। यूनियनले घुस लिनेलाई मात्र होइन, घुस दिनेलाई पनि करवाही गर्नुपर्ने कुरामा उनले जोड दिए।

‘घुस काण्डमा कर्मचारी समातिएका छन्। तर, घुस दिनेले किन दिन्छ ? उनीहरुलाई किन कारवाही हुँदैन ? कानून बनाएर उनीहरुमाथि पनि कारवाही हुनुपर्छ’,  नेताहरुले भने, ‘कर्मचारी आफैंले चार वर्षभित्र ५०० मेघावाट बिजुली निकाल्न सक्छौं। सरकारले कर्मचारीलाई शेयरमा प्राथमिकता दिनुपर्छ। हामीले बिजुली निकालेर जनतालाई दिन तयार छौं। मन्त्रीले कर्मचारी थर्काएका छन्, सचिव थर्काएका छन्। हिजो मात्रै मेयरले १२ जना कर्मचारी निकाल्छु भन्ने धम्की दिएका छन्। यसको हामी निन्दा गर्दछौं । उनीहरु सच्चिनुपर्छ।’

उक्त भेला तथा कार्यशाला गोष्ठीमा ७७ जिल्लाका ४२ विभागीय कार्यसमितिबाट प्रतिनिधित्व गर्दै आएका प्रतिनिधिहरुबीच कर्मचारी समायोजन, संघीय निजामती सेवा ऐन, सेवा प्रवाहमा आधिकारिक ट्रेड युनियनको भूमिका र जनप्रतिनिधिबीचको अन्तरसम्बन्ध लगायतका विषयमा व्यापक अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। अर्थ मन्त्रालयको सहसचिव सुमन दाहालले रुपान्तरित संघीय संरचनामा कर्मचारी व्यवस्थापनको सन्दर्भ र कर्मचारी सञ्चयकोषका विभागीय प्रमूख जीवन कटुवालले कर्मचारी सञ्चयकोषबाट प्रदान गरिने सेवा सुविधा विषयमा प्रस्तुति दिएका थिए।

कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका अध्यक्ष पुण्य प्रसाद ढकाल, उपाध्यक्ष भाेलानाथ पाेखरेल, सचिव अम्बादत्त भट्ट लगायतका नेताहरुले मन्तव्य राखेका थिए।

गाेष्ठीबाट पारित प्रस्ताव तथा निष्कर्षहरु

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्