विभिन्न ६ अभियोगमा १३ पक्राउ, कुनमा कति ?

Arrest pic
लाेकपाटी न्यूज

काठमाडौं, २२ जेठ । देशका विभिन्न ठाउँबाट विभिन्न ६ अभियोगमा १३ पक्राउ परेका छन्। विभिन्न अभियोगमा संलग्न उनीहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको हो।

अभियोग १ : नक्कली नोट
एक हजार दरका नक्कली नेपाली नोट २ लाख सहित २ जना पक्राउ परेका छन्। कटहरिया नगरपालिका–५ कटहरिया बजारबाट मंगलबार बेलुका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका–७ बस्ने ६१ वर्षीय जियालाल महतो र मौलापुर नगरपालिका–७ बस्ने ४० बर्षीय विहारी साह रहेका छन् ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय कटहरिया रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा शंकास्पद तवरले हिँडिरहेका उनीहरुलाई जाँच गर्दा जियालाल र विहारीको साथमा उक्त नक्कली नोट एक हजार दरका १÷१ लाख फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अभियोग २ : अवैध चाँदीका गहना
वीरगंज महानगरपालिका–८ बाट चाँदीका गहनासहित बहुदरमाई नगरपालिका १ का ३२ बर्षीय मनोज यादवलाई सोमबार बेलुकी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित सन्ध्या डिलक्स बस काउन्टर अगाडि रात्री बसमा काठमाडौंतर्फ लैजानको लागि राखिएको इन्भर्टर शंका लागि जाँच गर्ने क्रममा इन्भर्टरभित्र लुकाई राखिएको करिव १ लाख ५४ हजार ६ सय २२ रुपैयाँ बराबरको करिब ३ किलो ८ सय ग्राम बराबरको चाँदीका गहना सहित यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

यादवलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बरामद गरिएको चाँदी सहित वीरगंज भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अभियोग ३ : जुवातास
पोखरा महानगरपालिका–१५ काजीपोखरीस्थित तपन प्रसाद गुरुङको घरमा जुवातास खेलिरहेका गुरुङ लगायत ८ जनालाई नगद ६६ हजार ६ सय ५ रुपैयाँ र ४ बुक ताससहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी कास्की, पोखरा महानगरपालिका–९ नयाँबजारस्थित लक्ष्मी जिसीको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ३४ वर्षीय रबिन्द्र पौडेल लगायत ५ जनालाई नगद १५ हजार ६० रुपैयाँ र ३ बुक ताससहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अभियोग ४ : अवैध लागूऔषध
काठमाडौं महानगरपालिका–३१ प्रयाग मार्ग बस्ने ३१ वर्षीय रुपेश श्रेष्ठलाई लागूऔषध खैरो हिरोइन ६ ग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले रुपेशलाई सोही ठाउँबाट उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

त्यस्तै ललितपुर महानगरपालिका–२० पुर्णचण्डीबाट ललितपुर, लुकुसी सुन्धारा बस्ने १९ वर्षीय अनिल खड्गी सहित ५ जनालाई लागूऔषध नाईट्राभेट ३ सय २३ थान, नाईट्राभेट ३ एम्पुल र गाँजा करिब ५ ग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अभियोग ५ : पेस्तोल जस्तो वस्तु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाईन्सको उडानद्वारा हङकङबाट काठमाडौं आएका राहदानी नम्बर ०७६६६४३५ बाहक धनकुटा घर भएका २० वर्षीय संगम लिम्बु पेस्तोल जस्तो देखिने बस्तु १ थान र पर्फेक्ट हिट लेखिएको प्लाष्टिक तथा मेटल जस्तो देखिने सेतो दाना भएको बस्तु करिब ६ सय ४५ ग्राम तौल भएको १ प्याकेटसहित मंगलबार साँझ पक्राउ परेका छन् ।

लिम्बुको सुटकेशभित्र कार्टुनमा उक्त बस्तुहरू फेला पारी विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएर थप आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाएको हो ।

अभियोग ६ : जबरजस्ती करणी
बीरेन्द्रनगर नगरपालिका २ फलाटे रामनगर टोल बस्ने ९ वर्षीया बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १८ वर्षीय अमित कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित जनकल्याण सामुदायिक वनमा ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बाङेसिमल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले कुमाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्