काठमाडौं, २१ जेठ । मालपोत कार्यालय इलाम र मालपोत कार्यालय पाँचथरलाई नमूना मालपोत कार्यालय घोषणा गरिएको छ । विशेष कार्यक्रमको आयोजना गरी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आइतबार र सोमबार यी दुई मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय घोषणा गरेकी हुन्।
कार्यालयको उद्घाटन गर्दै मन्त्री अर्यालले अबको सेवा जनता खुसी हुने सेवा हुनुपर्ने बताइन्। उनले जनताले सेवा लिन आउँदा कर्मचारीबाट अपमानित महसुस गर्ने खालको व्यवहार हुन नहुने मन्त्री अर्यालले बताइन्।
उनले भनिन्, ‘सबैलाई समान ढंगको व्यवहार गर्नुस्। जनमैत्री व्यवहार, जनता खुसी हुने हिसाबले व्यवहार गरांै। सानोतिनो लोभलालच नगरौं । भावना, स्वाभिमानमाथि आँच आउने काम नगर्नुस्। क्विक रेस्पोन्ज गरिदिनुस्। नपुगेको ल्याएर आउन भन्नुस्।’
केही अघि अनलाइन सेवा शुरु गरेपछि बाहिरबाटै सेवाग्राहीलाई भड्काउने काम गरिएको भन्दै मन्त्री अर्यालले प्रविधिको प्रयोगले धेरै समस्या समाधान हुने बताइन्। मन्त्रालयसँग जोडिएका केही कार्यालयहरूप्रति जनताले प्रश्न उठाइरहेको भन्दै उनले केही कर्मचारीले गरेको बदमासीका कारण सिंगो संस्थामाथि प्रश्न उठेको बताइन्।
सोही समस्यालाई समाधान गर्नका निम्ति समग्रमा सुशासन कायम गर्न मन्त्रालयले नमुना मालपोत कार्यालयको कार्यक्रम अगाडि बढाएको बताइन्। ‘हाम्रा कार्यालयसँग जोडिएर आउने सुशासनमाथिको प्रश्नलाई समाधान गर्न नमुना कार्यालय बनाउने अभियान थाल्यौं। सुशासन कायम गर्ने भनेको सिस्टमबाटै हो’, मन्त्री अर्यालले भनिन्, ‘वान डोर सिस्टम, एक ठाउँबाट कागज बुझाएपछि आधा घण्टामा सबै काम सकेर घर फर्किने वातावरण बनाउन खोजेको हो ।’
विस्तारै पेपरलेश सिस्टममा जान खोजेको भन्दै उनले शुद्धताको सुरुवात आफूबाटै गर्नुपर्छ आफू ठिक भयो भने सबैलाई ठिक पार्न सकिन्छ भन्ने मान्यताले अगाडि बढेको उनले बताइन्। देशैभरका कार्यालयलाई नमुना बनाउने, डिजिटलाइजेसनमा लैजाने तयारीमा रहेको उनले बताइन्।
जग्गा प्रशासनसँग जोडिएर आउने असहजता, सेवा प्रवाहसँग जोडिएर आउने प्रश्नलाई समाधान गर्दै जाने भन्दै मन्त्री अर्यालले डिजिटलमा जान धेरै झञ्झटिलो भएकाले केही समय भने लाग्ने बताइन्। इलाममा नवनिर्मित भवनमा नमुना मालपोत कार्यालय, अनलाइन सेवाको शुभारम्भ मन्त्री पद्माकुमारी अर्यालले गरेकी थिइन्। मालपोत कार्यालयमा सुशासन कायम गर्न पहिलो पटक इलाम मालपोत कार्यालयलाई नमुना कार्यालय घोषणा गरिएको हो ।
कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दवाडीले सम्पूर्ण डकुमेन्ट स्क्यान गरेर डिजिटलाइज्ड गरिने बताए। पाँचथरमा सोमबार नमुना मालपोत कार्यालयको शुभारम्भ गरिएको हो ।
त्यस अवसरमा मन्त्री अर्यालले डिजिटल सिस्टम, कार्यालय वरिपरी सुन्दरता, स्वच्छतासँगै जनतालाई सहज रूपमा सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए। ‘अब जनमैत्री सेवा प्रवाह गर्नुपर्छ। यो कार्यालयमा आउदा जनता खुसी भएर जानुपर्छ । यो कार्यालयका नचाहिने काम हुँदैन भन्ने बनाउने हो’, मन्त्री अर्यालले भनिन्।
देशभरमा १३१ वटा मालपोत कार्यालय रहेका छन् । जसमध्ये हालसम्म ६० कार्यालयमा अनलाइन सेवा शुभारम्भ भइसकेको छ।
यस्ता छन् नमुना मालपोतका विशेषताहरुः
–टोकन प्रणाली
–कम्प्युटर प्रणाली
–क्यासलेस सेवा
–डिजिटलाइज्ड अभिलेख
–सूचना प्रविधिमैत्री कार्यालय
–जनताको सहज पहुँच
–वान डोर सिस्टम
–हेल्पडेस्क
–प्रतिक्षालय
–टेलिभिजन
–अपांगमैत्री शौचालय
–स्तनपान कक्ष
–तातो र चिसो पानीको व्यवस्था



लाेकपाटी न्यूज

