काठमाडौं, २१ जेठ । सोमबार मात्र प्रतिनिधिसभाको बैठकमा बजेट छलफलमा नेकपाका महासचिव विष्णु पौडेलले सरकारले बृद्ध भत्ता बढाउँदा अनावश्यक बिरोध गरेको भन्दै कांग्रेसलाई कटाक्ष हानेका थिए।
उनले मंगलबार बैठकमा बोल्दै सरकारले संविधानसम्मत ढंगले बजेट ल्याएको स्पष्ट पार्दै सामाजिक सुरक्षा भत्ता बढाउने प्रावधान बेठिक हो भनेर उभिन चुनौती दिएका थिए। उनले लोककल्याणकारी राज्यको अवधारणा अनुसार सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने काम गरेकोमा समर्थन गर्नु पर्नेमा विरोध गरिएको भन्दै आपत्ति जनाएका थिए।
कांग्रेसलाई इंगित गर्दै चुनौती दिएपछि यसको जवाफ कांग्रेस नेता तथा सांसद गगन थापाले दिएका छन्। उनले बढ्दो बृद्धभत्ताको बिरोध गर्दै महासचिव पौडेललाई कडा जवाफ दिएका हुन्।उनले पौडेललाई इंगित गर्दै भने ‘एक जना बलवान सांसदले जसले बालुवाटारको जग नै हल्लाइदिन सक्नुहुन्छ उहाँले हिजो यहाँ उभिएर चुनौती दिनुभयो।वृद्धभत्ताबारे बोल्ने हिम्मत छ ? मेरो हिम्मत छ” ।
महासचिव पौडेलले चुनौती दिएपछि थापाले जवाफ दिएका हुन्। उनले बर्तमान सरकारले बृद्धा भत्ता बढाउँदा मात्र आफुले बिरोध गरेको नभई शेरबहादुर देउवा सरकारले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिने र ५ हजार पुर्याउने भनेर निर्णय गर्दा पनि बिरोध गरेको बताए। उनले उदाहरण दिँदै भने “पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले बिदा लिँदै गर्दा ६५ वर्षको उमेरमा ५ हजार वृद्धभत्ता पुर्याउँछु भन्दै गर्दा हचुवाको भरमा वृद्धभत्ता बढाउन पाँइदैन भनेर विरोध गरेको मात्र होइन।
कानून बनाउँदै गर्दा ७० वर्षलाई आधार वर्ष बनाउनुपर्छ उमेर झार्न पाइन्न भनेर संशोधनकर्ता सांसद हुँ म”। उनले सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र नभई गैरनगद प्रबन्धबाट पनि जेष्ठ नागरिकहरुलाई सुविधा दिन सकिने बताए। उनले तीन हजारमात्र हैन तीस हजारको सुविधा प्रदान गर्न सकिने बताए।“सामाजिक सुरक्षाका यतिधेरै कार्यक्रम छन्। ‘
एकीकरण गर्ने, र्यासनलाइज गर्ने, कसलाई युनिभर्सल बनाउने, कसलाई टार्गेटेड बनाउने, कसलाई उत्पादनसँग जोड्ने भनेर छुट्याउने। सबभन्दा ठूलो कुरा भनेको सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र होइन गैरनगद प्रबन्धबाट तीन हजारमात्र हैन तीस हजारको सुविधा प्राप्त गर्ने अवस्था कसरी बनाउने के यसको विषयमा छलफल गर्ने कुरा वाञ्छनिय छैन ?” उनले भने।



लाेकपाटी न्यूज

