नेकपाको सचिवालय बैठक आज

Nepal communist party meeting
लाेकपाटी न्यूज

काठमाडौँ, २१ जेठ। गृहकार्य नपुगेको भन्दै सोमबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मङ्गलबारका लागि सारिएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्युरो गठन र केन्द्रीय कमिटीको कार्यविभाजनबारे पटक पटक छलफल भइरहेको छ। अध्यक्षद्वय बीचमा आइतबार पनि छलफल भएको थियो। सोमबार बस्ने सचिवालयको बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय कार्यसमितिको कार्यविभाजनको विषयमा टुङ्गो लगाउने विषयमा छलफल भएको थियो।

दुई अध्यक्षको बीचमा छलफल नटुङ्गिएपछि सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो। सोमबार पनि अध्यक्षद्वय बीच छलफल भयो। छलफलमा सचिवालयका सदस्य एवं गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल लगायतका नेताहरु पनि सहभागी थिए।

बैठकमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रूप दिन पोलिटब्युरो गठन, कार्यविभाजन तथा बाँकी रहेका एकता टुङ्गो लगाउने विषयमा छलफल भएको बताइएको छ। यसअघि जेठ १८ गतेका लागि सचिवालयको बैठक तय गरेको थियो। तर, अध्यक्षद्वय व्यस्त भएको कारण २० गतेका लागि सारिएको थियो।

महासचिव विष्णु पौडेलले पोलिटब्युरो गठन तथा कार्यविभाजनको विषयमा नेताहरूको बीचमा अनौपचारिक छलफल भएको जानकारी दिए। पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटीबाट १४७ जना पोलिटब्युरो सदस्य चयन गर्नुपर्ने हुन्छ।