‘ज्ञानेन्द्र शाहीलाई प्रहरीले यातना दिएकाे छैन’

surkhetmaheshbikramshah-
लाेकपाटी न्यूज

वीरेन्द्रनगर, २० जेठ । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई प्रहरीले कुनै प्रकारको यातना नदिएको कर्णाली प्रदेश प्रहरी प्रमूख डिआईजी महेशविक्रम शाहले बताएका छन्।

गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै शाहीले भिडियो पोष्ट गरेका थिए । शाहीविरुद्ध सोही दिन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीको जाहेरीका आधारमा जिल्ला अदालत सुर्खेतले बैशाख १९ गते पक्राउका लागि वारेन्ट जारी गरेको थियो ।

पत्रकारहरुलाई तथानाम भन्दै अनलाइनमा अन्तर्वार्ता दिएका शाहीलाई जेठ १५ गते खुल्लामञ्चबाट प्रहरीले पक्राउ गरे लगत्तै हिरासतमा नराखेर काठमाडौं पठाएको थियो । शाहीलाई पक्राउ पूर्जी बिना पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भइरहेका बेला कर्णाली प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी दिँदै शाहीलाई यातना नदिएको प्रष्ट्याएका हुन्।

डिआईजी शाहले खुल्लामञ्चमा भइरहेको कार्यक्रम सम्पन्न भए लगत्तै पक्राउ पूर्जी दिएर शाहीलाई पक्राउ गरिएको र सो क्रममा उनका समर्थकहरुले प्रहरीमाथि ढुंगामुडा गरेको बताए । ‘उनका समर्थकहरुले प्रहार गरेको ढुंगा लागेर छ जना प्रहरीसहित उनी पनि घाइते भएका हुन्,’ शाहले भने, ‘प्रहरीले हिरासतमा राखेर यातना दिएको होइन ।’

अदालतले पक्राउ पूर्जी जारी गरेपश्चात शाहीको खोजतलास गरेको र खुल्लामञ्चमा उनले गरेको कार्यक्रम सम्पन्न भएपछि पक्राउ गरिएको डिआईजी शाहले स्पष्ट पारे ।

शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हवल्दार प्रकाश बुढा र जवानद्वय रामसागर वर्मा, जीतबहादुर बोहरा, पवन सुवेदी र हस्त सिंह घाइते भएका छन् ।

शाहीसँगै प्रहरीले वीरेन्द्रनगर–६ का प्रेम विक, दीपक शाही, जुम्ला सिंजाका हिक्मत खत्री, मदन शाही, कोहलपुर बााकेकी मेनुका भूषाल र रजिना परियारलाई पक्राउ गरेको थियो । शाहीसँगै पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्