विप्लवका कार्यकर्ताद्वारा प्रहरी चौकी कब्जा प्रयास

biplob
लाेकपाटी न्यूज

काठमाडौं, २० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा प्रयास गरेका छन्। आइतबार राति करिब ३० जनाको समूहमा गएका विप्लवका लडाकुले प्रहरी चौकी कब्जा प्रयास गरेका हुन्।

विप्लव कार्यकर्ताहरु त्यहाँ जाँदै गरेको सूचना पाएका प्रहरीले चौकी छाडेर अन्यत्र गएपछि कुनै घटना भने हुन नपाएको सुरक्षा स्रोतले जनाएको छ। सुरक्षा स्रोतका अनुसार मध्यराति १२ बजेको समयमा विप्लवका कार्यकर्ता चौकीमा पुगेका थिए।

विप्लवका कार्यकर्ता चौकीतर्फ आउँदै गरेको सूचना पाएपछि ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएर बसेको जनाइएको छ। प्रहरी नभेटेपछि उनीहरू बिहान ३ बजेसम्म चौकी आसापासकै क्षेत्रमा बसेको जनाइए पनि सोलुखुम्बुस्थित सुरक्षाअधिकारीहरूले यसको स्वतन्त्र पुष्टि गर्न अस्वीकार गरेका छन्।

भौलोलिक हिसाबले दुर्गम उक्त क्षेत्रमा अहिले टेलिफोन सेवा अवरुद्ध छ। गुदेलमा सञ्चालित साना जलविद्युत् अवरुद्ध हुँदा टेलिकमको रिपिटर टावरले काम गर्न नसकेको जनाइएको छ। विप्लवका कार्यकर्ता त्यही मौकामा प्रहरी चौकी कब्जाका लागि पुगेको स्रोतले जनाएको हो।

सदरमुकामदेखि करिब २५ कोस टाढा रहेको उक्त गाउँ विकट मानिन्छ। त्यहाँ सडक नभएकाले सवारीसाधन पुग्न सकेको छैन। विप्लवले चौकी कब्जा प्रयास गरेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठक बसिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्