अमेरिका जान भिजा आवेदन भर्दै हुनुहुन्छ ? यस्तो छ नयाँ नियम

Visa
लाेकपाटी न्यूज

काठमाडौं, १९ जेठ। अमेरिकाका लागि भिजाको आवेदन भर्नेहरुका लागि नयाँ नियम आएको छ। भिजा आवेदकहरु सबैले अब नयाँ नियमानुसार अब सामाजिक सञ्जालसम्बन्धी आफ्ना विवरणहरू बुझाउनुपर्ने हुन्छ।

अमेरिकी विदेश मन्त्रालयको नियमानुसार मानिसहरूले सामाजिक सञ्जालमा भएका नाम र पाँच वर्षदेखि प्रयोग गरेका ईमेल ठेगाना एवम् फोन नम्बर बुझाउनुपर्नेछ। गत वर्ष त्यस्तो प्रस्ताव गरिएका बेला अधिकारीहरूले त्यसबाट बर्सेनि एक करोड ४७ लाख मानिस प्रभावित हुन सक्ने अनुमान गरेका थिए। निश्चित कूटनीतिज्ञ र अधिकारीहरूले भने यो कडा नियमबाट उन्मुक्ति पाउनेछन्।

यद्यपि अमेरिकामा काम गर्न वा अध्ययन गर्न जानेहरूले चाहिँ ती विवरणहरू बुझाउनुपर्ने हुन्छ। अमेरिकामा वैध भ्रमणका लागि सघाइरहँदा अमेरिकी नागरिकको रक्षाका निम्ति जाँच गर्ने प्रक्रियालाई सुदृढ बनाउने संयन्त्र पत्ता लगाउने दिशामा निरन्तर काम गरिरहेको विदेश मन्त्रालयले जनाएको छ।

यसअघि आतङ्कवादी समूहहरू भएका ठाउँबाट जाने मानिसहरूले थप जाँचबुझका लागि त्यस्ता विवरण बुझाउनुपथ्र्यो। तर, अब आवेदकहरूले एउटा सूचीमा समेटिएका सामाजिक सञ्जालमा रहेका खाताका नामहरू दिनुपर्ने हुन्छ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचन प्रचार अभियानको एउटा प्रमुख मुद्दामा डोनल्ड ट्रम्पले आप्रवासनमाथि कडाइ गर्ने बताएका थिए। पदमा आउनुअघि र पद सम्हालेपछि उनले आप्रवासीहरूमाथि कठोर जाँचू गरिनुपर्ने बताएका थिए।

शुक्रवार ट्रम्पले अमेरिकाको दक्षिणी सीमानाकामा अवैध आप्रवासनमाथि मेक्सिकोले नियन्त्रण नगरेसम्म उसमाथि क्रमिक रूपमा कर बढाउँदै जाने बताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्