लोकपाटी टिप्पणी। केही दिन अघि पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक अनलाइन टेलिभिजनलाई दिएको अन्तर्वार्तालाई लिएर नेकपा र राष्ट्रिय राजनीति नै तरङ्गित भएको छ। प्रचण्डको अभिव्यक्तिपछि राजनीतिक समीकरणमा फेरबदल आउने, नेकपाभित्र अन्तरविरोध र फुट सिर्जना हुनेसम्मका टिप्पणी हुन थालेका छन्।
तर, प्रचण्ड तिनै व्यक्ति हुन्, जो आफूले प्रधानमन्त्री लिनसक्ने राजनीतिक परिस्थितिमा पनि अरुलाई समर्थन गर्दै आएका छन्। गणतन्त्र घोषणापछि नेपालमा जति पनि नेता प्रधानमन्त्री भए, त्यो प्रचण्डकै कारण सम्भव भएको हो। पूर्वएमालेकै झलनाथ खनाल, माधव कुमार नेपाल, केपी शर्मा ओलीदेखि शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, खिलराज रेग्मीसम्मका नेताहरु प्रचण्डकै प्रस्ताव र भूमिका कारण प्रधानमन्त्री बनेका हुन्।
प्रचण्डले आफूलाई माथि राखेको भए पटकपटक प्रधानमन्त्री हुन सक्थे। तर, जहाँ राजनीतिक सहमतिमा गत्यावरोध आउँछ, त्यहाँ प्रचण्ड खडा हुन्छन्, बिकल्प निकाल्छन् र आफूले त्याग गरेरै समाधान निकाल्छन्। प्रचण्डलाई यो राम्रोसँग हेक्का छ कि देशका अधिकांश नेता आफ्नो स्वार्थका लागि राष्ट्रिय स्वार्थ त्यागिदिन्छन्। अनि, प्रचण्ड चाहिँ राष्ट्रिय स्वार्थका लागि आफ्नो स्वार्थ त्यागिदिन्छन्। २०६५ जेठ १५ मा गणतन्त्र घोषणापछि प्रचण्डले त्यागेका प्रधानमन्त्रीका यी अवसर।
१. प्रधानमन्त्रीबाटै राजीनामा – २०६४ चैत्र २८ मा सम्पन्न संविधान सभा निर्वाचनमा तात्कालीन नेकपा (माओवादी) अत्यधिक ठूलो पार्टी बन्यो। लामो राजनीतिक गतिरोध छिचोल्दै २०६५ भदौ २ गते प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने। तात्कालीन नेकपा एमालेका महासचिव माधव कुमार नेपाल निर्वाचनमा पराजित भएका थिए। तर, राजनीतिक सहमति र सहयात्राका प्रक्रियामा उनको योगदान थियो। त्यसैले प्रचण्डले आफैले प्रस्ताव गरेर माधव नेपाललाई संविधान सभामा ल्याए, विवाद समाधान समितिको सभापतिको महत्वपूर्ण जिम्मेवारी दिए।
तात्कालीन सेनापति रुक्माङ्गत कटुवालको लोकतन्त्रविरोधी गतिविधिका कारण सरकारले उनीमाथि स्पष्टिकरण सोध्ने निर्णय गर्यो। निर्णयमा सहमति जनाएको एमाले हठात् निर्णयबाट पछि हट्यो। तर, तात्कालीन नेकपा (माओवादी) मधेशी जनअधिकार फोरम लगायतका दलहरु सरकारमै थिए। प्रचण्डसँग स्पष्ट बहुमत थियो। स्पष्ट बहुमत हुँदाहुँदै र कुनै राजनीतिक, संवैधानिक र कानूनी संकट बिना नै प्रचण्डले २०६६ वैशाख २० गते प्रधानमन्त्री पदबाट राजीनामा दिए।
२. झलनाथ खनाल प्रधानमन्त्री – प्रचण्डको राजीनामापछि जेठ ११ गते माधव कुमार नेपाल प्रधानमन्त्री भए। तर, संविधान निर्माणको प्रक्रियाले गति लिन सकेन। शान्ति प्रक्रियाका काम पनि लथालिङ्ग नै थिए। सरकारको बिकल्प खोज्ने परिस्थिति आयो। माधव नेपाल अल्पमतमा परेर राजीनामा दिएपछि संसदमा प्रधानमन्त्रीको नयाँ निर्वाचन भयो। प्रचण्ड, झलनाथ खनाल र रामचन्द्र पौडेलले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गरे। तर, राजनीतिक गत्यावरोध कायम रहने देखेपछि प्रचण्डले आफ्नो उम्मेदवारी फिर्ता लिए र २०६७ माघ २३ गते झलनाथ खनाललाई प्रधानमन्त्रीमा निर्वाचित गराए। प्रचण्डले प्रधानमन्त्रीको अवसर त्यागे।
३. खिलराज रेग्मी प्रधानमन्त्री – २०६९ जेठ १४ गते संविधान सभाको अन्तिम म्याद थियो, प्रधानमन्त्री थिए डा. बाबुराम भट्टराई। उनको कार्यकलमा पनि संविधान बन्न सकेन। जेठ १४ मा संविधान सभाको म्याद थप्ने विषयमा राजीनामा सहमति जुट्न सकेन। डा. भट्टराईले संविधान सभा स्वतः विघटन भएको घोषणा गरिदिए। राजनीतिक संकट गहिरिँदै गएपछि पुषमा डा. भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा दिए। त्यसपछि प्रचण्डकै प्रस्तावमा प्रधानन्यायाधीश खिलराज रेग्मीले २०६९ चैत्र १ गते कार्यकारी प्रमूखका रुपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले।
४. सुशील कोइराला प्रधानमन्त्री – खिलराज रेग्मीको कार्यकाल पनि संविधान निर्माणमा असफलसिद्ध रह्यो। गैरराजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने सोंचमा दलहरु पुगे। २०७० मंसीर ४ गते संविधान सभाको दोस्रो निर्वाचन भयो। त्यसपछि माघमा रेग्मीले प्रधानमन्त्रीको जिम्मेवारीबाट राजीनामा दिए। संविधान सभामा माओवादी तेस्रो तर निर्णायक शक्ति थियो। प्रचण्डकै प्रस्तावमा २०७० माघ २८ मा कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भए।
५. केपी शर्मा ओली प्रधानमन्त्री – २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भयो। यसअघि जेठमा प्रचण्डले प्रमूख तीन दलबीच राजनीतिक सहमतिको सुत्र खोजिसकेका थिए, पहिलो दललाई राष्ट्रपति, दोस्रोलाई प्रधानमन्त्री, तेस्रोलाई सभामूख। यही सहमतिका कारण दलहरु संविधान बनाउन राजी भए, संविधान पनि बन्यो। तर, नेताहरुको कुर्सीमोहका कारण पूर्वसहमति कार्यान्वयनमा आउन सकेन। कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्रीमै दोहोरिने ईच्छा देखाए।
संसदमा निर्वाचन भयो। त्यसबेला नेपाली कांग्रेसले सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्यो। आफू प्रधानमन्त्री नहुने परिस्थितिमा प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्यो। तर, नेताहरुलाई प्रचण्डले पूर्वसहमति सम्झाए। पूर्वसहमतिमा सुशील राष्ट्रपति, केपी शर्मा ओली प्रधानमन्त्री बनाउने तयारी थियो। प्रचण्ड सहमतिमा दृढ रहे। उनकै प्रस्तावमा ओली २०७२ असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भए।
६. देउवालाई सत्ता हस्तान्तरण – एमालेसँग गरिएको सहमति कार्यान्वयन नभएपछि २०७३ साल साउन १९ गते प्रचण्ड दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भए। प्रधानमन्त्री निर्वाचित हुने बेला १० महिनामा सत्ता साझेदारी गर्ने सम्झौता गरिएको थियो। प्रचण्डको दोस्रो कार्यकालमा शान्ति प्रक्रिया, संविधानको कार्यान्वयन, निर्वाचन, विकास आयोजनामा प्रगति, आर्थिक वृद्धिदरमा बढोत्तरीजस्ता महत्वपूर्ण कामहरु भए। प्रतिपक्षी एमाले र सत्ता साझेदार कांग्रेसकै अधिकांश नेताले प्रधानमन्त्री पद नछोड्न प्रचण्डलाई सुझाए। तर, सहमतिप्रति इमान्दार हुँदै २०७४ जेठ २३ गते प्रचण्डले देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गरे।
७. केपी ओलीलाई प्रधानमन्त्री – २०७४ असोज १७ गते एमाले र माओवादी केन्द्रबीच गठबन्धनको घोषणा भयो। दुवै दल मिलेर संघीय र प्रादेशिक निर्वाचनमा भाग लिए। निर्वाचनमा वामपन्थी दलको बहुमत थियो। कांग्रेस पहिलो शक्तिबाट खस्कियो। कांग्रेसका नेताहरुले प्रच्ण्डलाई कांग्रेससँग मिलेर सरकार बनाउन अपील गरे। प्रचण्डले सहकार्य गरे पाँच वर्षकै लागि प्रधानमन्त्री पद प्रचण्डलाई दिने घोषणा गरे। तर, प्रचण्डले त्यो सबै अपील त्यागे। २०७४ फागुन ३ गते प्रचण्डकै प्रस्तावमा केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भए।



लाेकपाटी न्यूज

