काठमाडौं, १७ । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा जेठ ६ गते राती दुई परिवारका नौ जनाको विभत्स हत्या भएको आज १० दिन पुरा भएको छ।
घटनामा मानबहादुरकै संलग्नता हुनसक्ने आधारहरु देखाएर प्रहरीले अनुसन्धान थालेको आज १० दिन बितिसकेको छ। हत्या भएको भोलिपल्ट मानबहादुर नै हत्या हुनसक्ने अनौपचारिक ‘किटान’ गरिए पनि हालसम्म वास्तविक हत्यारा को थिए भनेर प्रहरीले सार्वजनिक गर्न सकेको छैन।
घटना भएलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय पाँचथर, प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली घटनास्थल पुगेको थियो। टोलीले अहिले विभिन्न कोणबाट घटनाकोे अनुसन्धान गरिरहेको छ।
घटनाको अनुसन्धान गर्न पाँचथर पुगेका सीआईबीका एसपी उमा प्रसाद चर्तुदेवीका अनुसार घटना भएको २४ घण्टाअघि माखिमसँग टेलिफोन सम्पर्कमा आएकाहरुको टेलिकमबाट कल रेकर्ड झिकाएर १ दर्जनभन्दा बढी व्यक्तिसँग प्रहरीले सोधपुछ गरिरहेको छ।
उनले भने, ‘घटना भएको दिन माखिमसँग भेटघाट गरेका व्यक्तिहरु खोजी गरेर पनि सोधपुछ गरिरहेका छौँ। हालसम्मको सोधपुछ र अनुसन्धानबाट घटना पारिवारिक कारण नै भएको देखिन्छ।’यता प्रदेश प्रहरी कार्यालयले पनि सामूहिक हत्या घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको र यसको निष्कर्षमा चाँडो पुग्ने बताएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता इन्सपेक्टर अनिल पौडेलले मानबहादुर झुण्डिएको स्थान नजिकै भेटिएको खुकुरी, कपडा र मोबाइल परीक्षणको लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको जानकारी दिए।
प्रहरीले अहिले त्यही परीक्षणको रिपोर्ट पर्खिरहेको उनको भनाई छ।‘घटनाको निष्कर्षमा पुग्न यति नै समय लाग्छ भन्ने अवस्था छैन,’ उनले भने, ‘तर, रिपोर्ट आएपछि हामी चाँडै नै सत्यतथ्य हामी सार्वजनिक गर्नेछौँ।’
सामूहिक हत्या प्रकरणमा ज्यान गुमाउनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन्। बमकुमार फियाक मानबहादुरका ससुरा हुन्।



लाेकपाटी न्यूज

