वाह ! वीर अस्पताल

saroj katwal
लाेकपाटी न्यूज

सरोज कटुवाल/काठमाडौं । नेपाल सरकारले शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा समेत सरकारी भनिने प्रवृत्ति हाबी छ । कतिपय सरकारी संस्थाहरुको भौतिक पक्ष र व्यवस्थापन तथा सेवा पक्षले सरकारी संस्था हो कि होइन भन्ने अलमलमा पुर्याउँछन् । तर, वीर अस्पताल सरकारी अस्पताल नै हो भन्ने बुझ्न कत्ति समय पनि खर्चनु पर्दैन । अस्पतालको गेटबाट पस्ने बित्तिकै बस्ने कुर्सीहरुमा अाँखा पुग्यो भने जो कोहीले बुझ्न सक्छ ।

देशकै ठूलो अस्पताल सम्झेर पूर्वदेखि पश्चिमबाट दिनहुुँ सयौं बिरामी आउने यहाँका बाहिरका कुर्सीहरु फोहोरले बस्न लायक छैनन् । पिउने पानीका धाराहरु छन् । पानी पिउन योग्य छैन । न्युरोलोजी लगायत संवेदनशील वार्डहरुमा रहेका बिरामी र कुरुवाहरु ट्वाइलेट बस्न लाम लागेको देख्न पाइन्छ ।

कोठाको कुना–कुनामा देखिने फोहोर र फोहोर सफा गर्न आउने कुचिकारहरुको झर्कोफर्को उस्तै अरुचीकर हुन्छ । हुन त नाइटिङेलले जस्तै स्काफ लगाउने सिनियर नर्सहरु समेत बिरामीसँग झर्केको देख्दा ऊनीहरु पदीय दायित्वबाट च्युत भएको बोध हुन्छ । अस्पतालका एम्बुलेन्सहरु पनि कम रमाइला छैनन् । एम्बुलेन्सको भित्री भागले नै कुन अस्पतालको हो भन्ने चिनाउन सक्छन् । एम्बुलेन्स चालकहरु फुर्सदमा के गरेर बस्छन् त्यो अस्पताल गएपछि नै देख्न पाइन्छ । यद्यपि केही कर्मचारी, डाक्टर र नर्सहरुको व्यवहार प्रशंसनीय छ ।

यहाँ सेमि आइसियु कक्षमै चक्का खिया लागिसकेका बेडहरु छन् । यहाँको वायरिङ पुरानो र कतै काम नदिने अवस्थाको छ । अस्पतालको फार्मेसीमा सामान्य औषधी मात्र उपलब्ध हुन्छन् । नजिकैका फार्मेसीबाट सस्तोमा औषधी दिने भन्दै बिरामीको वार्डसम्म पुग्नेहरु प्रशस्त भेटिन्छन् । अस्पतालभित्रै चोरीका घटनाहरु केही दिनको बिराममा सुन्न पाइन्छन् ।

यहाँ भनसुन र शक्तिको उपयोगबाट बेड पाइने र अपरेसन लगायतका काम छिटो हुने बिरामीका आफन्तहरुको गुनासो यथेष्ट सुन्न पाइन्छ । यहाँका चेकअप गर्ने सामानहरु बेलाबेला बिग्रेर निजी अस्पतालहरुमा सिफारिस गरिने पनि गरिएको छ । यसको पछिल्लो उदाहरण केही महिना अगाडि मात्र जडान गरिएको नयाँ सिटी स्क्यान मेसिन बिग्रेकाले थुप्रै बिरामीहरुलाई थुप्रै दिन निजी अस्पतालमा पठाएको घटनालाई हेर्न सकिन्छ ।

यसका अलावा डाक्टर र कर्मचारीहरुको साना–साना मुद्दामा समेत हुने आन्दोलन र यसबाट प्रभावित हुने स्वास्थ्य सेवाको अवस्था प्रभावित छ । डाक्टरहरुको आफ्नै क्लिनिक र अन्य निजी अस्पतालहरुसँगको सम्बन्धले यसमा मलजल गरिरहेको छ । किनकि सरकारी अस्पतालको सुलभ र विश्वसनीय सेवाले घाटा लगाउने भनेको निजी अस्पताललाई नै हो ।

अतः सरकारी अस्पताल कमजोर बनाएर आफ्नो स्वास्थ्य सेवामाथिको चरम व्यापारलाई निर्भरतापूर्वक चलाउन सरकारी बोध हुने गरी चलाइएको हुनसक्ने गहिरो अनुमान गर्न सकिन्छ ।

एउटा सिमित लगानीको निजी अस्पतालले त भौतिक र व्यवस्थापकीय हिसाबले उत्कृष्ट सेवा प्रदान गर्न सक्छ भने हामीले कहिलेसम्म सरकारी सेवालाई कमजोर र वैकल्पिक रुपमा उपयोग गर्ने ? यो प्रश्न आजपर्यन्त ताजा छ ।
– सरोज कटुवाल, किर्तिपुर

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्